बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो

२३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन।  सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकारेकी छन्। बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन्।

त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो।  सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए।   त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन।  महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ।  महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ।

तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन्।  प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ।  बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ।  यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो।  सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ।  अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन्।  ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन्।


Facebook Comment


No ads found for this position