यस्तो हुनेछ आधुनिक पेट्रोलपम्प

२४ पुस, काठमाडौं । आपूर्ति मन्त्रालयले आधुनिक पेट्रोलपम्पको मापदण्ड तयार गरेको छ । तराईमा १३ रोपनी र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा ५ रोपनी जग्गामा फैलिने पम्प अन्तर्राष्ट्रिय मापदण्डको हुने मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

मुख्य सडकसँगै जोडिएको ४० मिटर मोहडा भएको जग्गामा पम्प सञ्चालन गर्नुपर्ने प्रावधान तोकिएको छ । ३ वटा पेट्रोल र ३ वटा डिजेलको नोजल हुनुपर्ने र पम्पको अन्डर ट्यांकी ३० हजार किलोलिटर क्षमताको हुनुपर्ने मापदण्ड छ ।

आधुनिक पम्पमा २० वटा साना तथा ठूला गाडी पार्किङ गर्न मिल्ने व्यवस्थित स्थान बनाउनुपर्ने मापदण्ड छ । त्यस्तै टिकट काउन्टर, एटिएम लाउन्ज, ग्रोसरी पसल, शौचालय, गाडी मर्मत गर्ने वर्कसपसहित अपांगमैत्री हुनुपर्ने मापदण्ड छ । लामो दूरीको बसका चालक साटफेर गर्न चाहे पम्पपरिसरमै बस्ने स्थानसमेत हुनुपर्ने मापदण्ड बनाइएको छ ।

‘लामो दूरीमा चल्ने बसको आधा बाटोमा चालक फेर्नुपर्ने हुन्छ, व्यवसायीले पम्पमा तेल भर्ने र चालक फेर्न चाहे त्यहाँ बस्ने व्यवस्था पनि गर्नुपर्छ,’ प्रवक्ता श्रेष्ठले भने । यस्तो छ मापदण्ड ५ रोपनीमा फैलने पम्पको इन्धन भर्ने स्थान १३ मिटर लम्बाइ र २० मिटर चौडाइको हुनुपर्नेछ । १३ रोपनीमा फैलिएको पम्पको इन्धन भर्ने स्थान १८ मिटर लम्बाइ र ३० मिटर चौडाइको हुनुपर्नेछ । दुवै पम्पमा टिकट काउन्टर, एटिएम लाउन्ज र शौचालय सँगै हुनुपर्ने र ४५ वर्गमिटर क्षेत्रफल हुनुपर्ने मापदण्ड छ ।


Facebook Comment


No ads found for this position