तस्करीका लागी यसरी हुन्छ विमानस्थलको ‘सेटिङ’

जनकराज सापकोटा

२४ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै यहींबाट ठूला–ठूला तस्करीका घटना हुने गर्छन् ।कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर आएको ३३ किलो अवैध सुन बरामदको पछिल्लो घटनाले यहाँको सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको छ । जवाफमा सबै निकाय एकले अर्कालाई दोष दिन्छन् । जानकारहरू भन्छन्, ‘सबैको मिलेमतोमा हुने सेटिङबिना यस्ता घटना हुनै सक्दैनन् । तस्करी गर्नेहरू उम्किनै पाउँदैनन् ।’

महानगरीय प्रहरी परिसरका अनुसार साउनयता पाँच महिनामा मात्रै काठमाडौंका विभिन्न स्थानबाट १९ किलो ५ सय ९८ ग्राम अवैध सुन बरामद भएको छ । अनौठो यो छ कि, बरामदका पाँचमध्ये तीन घटना विमानस्थलसँग सम्बन्धित छन् । अवैध सुन बरामदका तथ्यांक केलाउने हो भने कैयन् घटनामा विमानस्थलको संलग्नता जोडिन्छ । यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएको करिब ३३ केजी सुन बरामद गरेको बिहीबारको घटना पहिलो हो । यति ठूला बरामद हतपति हुँदैनन् । यसअघि कात्तिकमा विमानस्थलबाटै ६ केजी ३ सय ७४ ग्राम अवैध सुन बरामद भएको थियो ।

विभिन्न तहमा हुने सुरक्षा जाँच छलेर कसरी अवैध सुन तस्करी भइरहेको छ भन्ने बुझ्न विमानस्थलको कमजोर सुरक्षा प्रणाली र अन्तरनिकाय समन्वय अभाव वा सबैको ‘सेटिङ’ लाई बुझ्नुपर्ने हुन्छ ।

विमानस्थलबाट यसअघि सुनका अलावा लागूऔषध र अवैध विदेशी मुद्रा ओसारपसारका कैयन् घटना सार्वजनिक भइसकेका छन् । २०७१/७२ मा विमानस्थलबाट हङकङ, मलेसिया, थाइल्यान्ड, युरोपेली मुलुक र अफ्रिका पुर्‍याउन खोजिएको ११ किलो कोकिन र २ हजार २ सय ६० किलो चरेस बरामद भएको थियो । त्यस्तै २०७२/७३ मा ७ केजी कोकिन र १ हजार ३ सय २६ केजी चरेस बरामद भएको थियो ।

अवैध सुन, लागूऔषध र अवैध मुद्रा कारोबारीले विमानस्थललाई सुरक्षित ट्रान्जिटका रूपमा प्रयोग गरिरहेका देखिन्छन् । २०७२ मंसिरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको अवस्था सुधार्न भन्दै अध्ययन टोली गठन गरेको थियो । टोलीले २०७२ मंसिर १४ मा सार्वजनिक गरेको प्रतिवेदनमा विमानस्थलभित्र अन्तरनिकाय समन्वयको अभाव मात्रै औंल्याइएको छैन, गम्भीर सुरक्षा खतरा निम्तिने विषयलाई समेत विमानस्थल प्रशासनले सामान्य रूपमा लिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘विमानस्थलको पास बोकेका अनावश्यक व्यक्तिसमेत प्रस्थान गेटभन्दा बाहिर एयरसाइडमै पुग्ने गर्छन् ।’ प्रतिवेदनले अध्यागमनमा कार्यरत कर्मचारीहरू अफिसियल पोसाकमा नरहने गरेको समेत देखाएको छ । यस्तो तथ्यले गैरकानुनी काममा कर्मचारीको संलग्नतालाई बल पुर्‍याउँछ भन्ने प्रतिवेदनको आशय हो ।

त्यही समितिले २०७३ जेठ २५ गते विमानस्थलको अनुगमन गरेर सुझावसमेत दिएको थियो । हवाई सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रहरू एयरसाइड तथा अन्तर्राष्ट्रिय उडानका यात्रुको ब्यागेज मेकअप एरिया र आगमनको ब्यागेज स्क्रिनिङमा सीधै प्रवेश गर्नेहरूको सुरक्षा जाँच हुने नगरेको तथ्य प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनले विमानस्थलमा कार्यरत विभिन्न निकायका कर्मचारी नै गैरकानुनी तथा अवैधानिक काममा संग्लन हुने गरेको समेत देखाएको छ । प्रतिवेदनमा छ, ‘यस्ता अवैधानिक गतिविधि हुन सक्ने स्थानको पहिचान गरी थप निगरानी बढाउनुपर्ने देखिन्छ ।’

पूर्वएआईजी ढकालले औंल्याएजस्तो अन्तरनिकाय समन्वय अभावलाई प्रतिवेदनले पनि देखाएको थियो । त्यसमा उल्लेख छ, ‘विमानस्थलमा कार्यरत विभिन्न निकायका जिम्मेवार पदाधिकारीहरू विमानस्थल क्षेत्रभित्र रहेका समस्या तथा कमीकमजोरीका सम्बन्धमा एउटा निकायले अर्को निकायलाई मात्रै दोष देखाएर उम्कने प्रवृत्ति देखिन्छ ।’ बिहीबारको सुन बरामदपछि पनि ठ्याक्कै यस्तै प्रवृत्ति देखियो ।

विमानस्थलभित्र ३ सय ५० प्रहरीको सुरक्षा कमान्ड सम्हालिरहेका डीआईजी गोविन्द निरौलाले भन्सार पास भएर सुन बाहिरिनुमा भन्सारकै कर्मचारीको कमजोरी रहेको दाबी गरे । उनले भने, ‘लगेज सुरक्षा एक्सरे मेसिनबाट पास भएपछि मात्रै विमानबाट आएका यात्रु बाहिर निस्कन पाउँछन् । त्यस काममा भन्सारका कर्मचारी मात्रै संलग्न हुन्छन् ।’

विमानस्थल भन्सारका प्रमुख उपसचिव नारायण सापकोटाले अध्ययन नभई कसको संलग्नता थियो र कसको कमजोरीले घटना भयो भन्न नसकिने बताए । उनले यूएईबाट एयर अरेबियाको विमानमार्फत सुन लिएर आएका बाँकेका गोपालबहादुर शाही किन सोही दिन लगेज लिएर गएनन् भन्ने प्रश्न गरे । सापकोटाले यसरी यात्रुले नलिएको लगेजको जिम्मा सम्बन्धित विमान कम्पनीकै हुने जानकारी दिँदै भने, ‘त्यसपछि के भयो ? एक्सरे मेसिनबाट जाँच नगराई पास गराउन वा जाँचेर पनि मौन रहन कसले भूमिका खेल्यो भन्ने अनुसन्धानको विषय छ ।’

उपसचिव सापकोटाले विमानस्थलमा विभिन्न निकायको संलग्नता रहने हुनाले दोष दिँदै पन्छाएर मात्रै निष्कर्ष ननिस्कने बताए । विमानबाट आएका यात्रुहरूको लगेज सुरक्षा एक्सरे मेसिनबाट पास भएपछि मात्रै यात्रु बाहिर निस्कन पाउँछन् । तर त्यतिका धेरै परिमाणको सुन शाहीले कसरी सजिलै बाहिर ल्याए, रहस्यको विषय छ ।

त्यसो त विमानस्थलमा हुने अवैध कारोबारमा भन्सारका कर्मचारीदेखि प्रहरीका उपल्ला अधिकारीसमेत संलग्न रहेको कैयन् घटना छन् । १९ असोज २०६९ मा दुबई पठाउन आँटिएको एक करोड २४ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा जफत भएको थियो । यो प्रकरणमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठकै संलग्नता देखिएको थियो । तत्कालीन एआईजी भीष्म प्रसाईं नेतृत्वको छानबिन समितिले श्रेष्ठ त्यसअघि पनि पटक–पटक अवैध वस्तु ओसारपसारमा संलग्न रहेको निष्कर्ष निकालेको थियो । यो घटनाको अनुसन्धान प्रतिवेदनमा विमानस्थलको सुरक्षा चुस्त राख्न सादा पोसाकमा स्थायी रूपमै ७/८ प्रहरी कर्मचारी हरदम खटिने उल्लेख छ । यसरी सादा पोसाकमा खटिनेहरूको मुख्य जिम्मेवारी नै अवैध रूपमा आउने सामानहरूको बन्देज गर्नु हो । तर तिनले पनि बिहीबारको घटनामा आँखा चिम्लिए ।

त्यस्तै २१ कात्तिक २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ लाख रुपैयाँ घूससहित ३ जनालाई पक्राउ गरेको थियो । विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीसहित भन्सार एजेन्ट प्रेम अधिकारी, देवराज भट्टराई र सवारी चालक घूस लिएको आरोपमा पक्राउ परेका थिए । सुन तस्करीको आरोपमा पक्राउ परेका एक भारतीय नागरिकलाई छुटाइदिने प्रलोभन देखाई उनीहरूसँग घूस मागेका थिए । यी दुई फरक घटनाले कसरी अवैध ओसारपसारमा सुरक्षाकर्मी र कर्मचारीको संलग्नता रहेको छ भन्ने देखाउँछ । केन्द्रीय अनुसन्धान ब्युरोको एक अधिकारीले पछिल्लो घटनालाई जोडदै भने, ‘सत्य के हो भने विमानस्थलभित्रकै सेटिङबिना त्यति परिमाणको सुन सजिलै बाहिर आउन सक्दैसक्दैन ।’साभार कान्तिपुर

 


Facebook Comment


No ads found for this position