प्रशासनले ध्यान नदिँदा व्यवसायीले मनपरी भाडा असुल्दै

हरि गौतम

२४ पुस रुकुम।रुकुममा यातायात व्यवसायीले सर्वसाधारणसँग चर्काे गाडी भाडा असुल्दै आएका छन् । यात्रुले सदरमुकाम खलंगादेखि आठबिसकोटको राडी बजारसम्म ४२ किलोमिटरको भाडा ५ सय रुपैयाँ तिर्नुपर्छ । जिल्ला यातायात व्यवस्थापन समितिले सडकको प्रकृतिअनुसार प्रतिकिमिको ३ देखि ९ तोके पनि यात्रुले १२ रुपैयाँ तिर्न बाध्य छन् । समितिले निर्धारण गरेअनुसार भाडा ३ सय ७८ रुपैयाँ मात्रै हुनुपर्ने हो । त्यस्तै मुसीकोट–चौरजहारी–कुदु सडकअन्तर्गत ४५ किमिको पनि ५ सय रुपैयाँ भाडा छ । त्यसैगरी मुसिकोट–तकसेरा ७५ किमिको भाडा पनि ८ सय नै उठाइन्छ । यो भाडा समितिले तोकेभन्दा बढी हो ।
समितिको निर्णयअनुसार प्रतिकिलोमिटर ७ रुपैयाँ भाडादर तोकिएको मुसीकोट–चौरजहारी सडकखण्डको भाडा ३ सय १५ हुनुपर्ने हो । मुसीकोट–राडी गर्ने प्रत्येक यात्रुले तोकिएभन्दा १ सय २२ र मुसीकोट–चौरजहारी गर्ने प्रतियात्रुले १ सय ८५ रुपैयाँ बढी भाडा तिर्न बाध्य छन् ।
स्थानीय प्रशासनले ध्यान नदिँदा व्यवसायीले मनपरी भाडा उठाइरहेको यात्रुको गुनासो छ । प्रशासनले ध्यान नदिँदा व्यवसायीले चर्को भाडा उठाइरहेको आठबिसकोटका प्रेम शाहले बताए ।

‘जसले जे गरे पनि सर्वसाधारण निरीह बन्नुपर्ने हुन्छ,’ उनले भने, ‘सर्वसाधारणको समस्या सुनुवाइ होलाजस्तो लाग्दैन ।’ अर्का यात्रु चौरजहारी नगरपालिकाका गणेश रेग्मीले व्यवसायीले भनेको भाडा नदिए गाडी चढ्न नपाइने दु:खेसो पोखे । यातायात व्यवसायीले भने मापदण्डअनुसारकै भाडा दरमा यातायात सञ्चालन गरिरहेको बताएका छन् । समितिले किमिका दरले कायम गरेको भाडामै यातायातका साधन चलाइरहेको रुकुम यातायात प्रालिका अध्यक्ष केशव रावलले दाबी गरे ।

तोकिएभन्दा बढी भाडा लिइएकोबारे समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले सूचना वा गुनासो नआएको बताए । तोकिएभन्दा बढी भाडा लिइएको सन्दर्भमा सम्बन्धित ठाउँका प्रहरीलाई अनुगमन र कारबाही गर्न भनिएकाले समस्या हल हुने प्रजिअ आचार्य बताए ।

गत भदौ १९ मा बसेको समितिको बैठकले जिल्लाका स्थानीय सडकलाई क, ख, ग र घ गरी ४ तहमा वर्गीकरण गरी भाडादर कायम गरेको थियो । जसअनुसार राप्ती लोकमार्गअन्तर्गत खौलादेखि सल्लेसम्म प्रतिकिमि ३, मध्यपहाडी लोकमार्गअन्तर्गत चौरजहारीदेखि मुसीकोट, रुकुमकोट हुँदै काँक्रीको लुकुमसम्म प्रतिकिमि ७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मुसीकोटदेखि छिनखेत हुँदै स्यार्पु जाने सडकमा प्रतिकिमि ८ रुपैयाँ, मुसिकोटको पातुखोलादेखि राउखेतसम्म र सेराखेत, नदुवा हुँदै आठबिसकोट जाने सडकमा प्रतिकिमि ९ रुपैयाँ भाडादर कायम गरिएको छ । जिल्लामा सिस्ने हिमाल बस तथा मिनी बस यातायात व्यवसायी समिति, रुकुम यातायात प्रालि र सानोभेरी यातायात सेवा समितिले जिप तथा बसहरू सञ्चालन गरिरहेका छन् ।


Facebook Comment


No ads found for this position