२० वर्षमा सबैभन्दा बढी पर्यटक यसै वर्ष

आश गुरुङ

चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न सन् २०१६ मा २२ हजार १ सय पर्यटक आएका छन् । तथ्यांक लिन थालिएको २० वर्षको अवधिमा सबैभन्दा बढी पर्यटक यसै वर्ष भित्रिएका हुन् ।

अन्नपूर्ण पदमार्ग आउने पर्यटको अभिलेख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राख्ने गरेको छ । एक्यापका अनुसार २०१६ मा २२ हजार १ सय ८ विदेशी पर्यटक लमजुङको बाटो हुँदै मनाङतर्फ भित्रिएका हुन् । यो सन् २०१५ को तुलानामा ३८.४२ प्रतिशतले वृद्धि हो । गत वर्ष २० हजार ६ सय ९४ पर्यटकको आगमन थियो ।

काठमाडौं, पोखरा र बेंसीसहरमा अनुमति लिएर गएका विदेशी पर्यटकले धारापानी चेकपोस्टमा विवरण बुझाउनुपर्छ । चेकपोस्टकी पर्यटक सहायक सोमी गुरुङका अनुसार यो वर्ष दैनिक २ सय ५२ सम्म पर्यटक आगमनको अभिलेख छ । ‘अफ सिजनमा पनि पर्यटक आउने क्रम रोकिएको छैन । पोहोर कहिलेकाहीँ शून्य भएको रेकर्ड पनि छ,’ उनले भनिन्, ‘अहिलेको अफसिजनमा पनि दैनिक १५ देखि ३० जनासम्म पर्यटक आइरहेका छन् ।’

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यसपटकको सिजनमा प्राय: होटलहरू भरिभराउ रहे । ‘केही वर्षअघि पर्यटकीय सिजनमा पनि कहिलेकाहीँ होटल नै खाली हुन्थे,’ उनले भने, ‘६/७ वर्षपछि होटलमा पर्यटक भरिभराउ राख्ने अवसर पायौं ।’ यसपटकको सिजनमा पर्यटक आगमन बढ्दा होटलमा कोठासमेत अभाव भएको उनले सुनाए । एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार २० वर्षको अवधिमा पर्यटक आगमनले ऐतिहासिक रेकर्ड कायम गरेको छ । एक्यापले सन् १९९६ देखि पर्यटकको तथ्यांक लिन थालेको हो । अघिल्लो वर्षको तुलानामा सन् २०१६ मा जनवरी र फेब्रअरी महिनामा मात्रै पर्यटक घटेको तथ्यांक छ । बाँकी महिनामा आगमन वृद्धि भएको छ । ‘पर्यटक आउनु राम्रो पक्ष हो । हामीले अभिलेख लिन थालेको दुई दशकको अवधिमा सबैभन्दा बढी पर्यटक अहिले आए,’ उनले भने, ‘यो हामी सबैका लागि सुखद् कुरा हो ।’ । सशस्त्र द्वन्द्वका बेला, भूकम्प र नाकाबन्दीका बेला आगमनमा गिरावट आएको उनले बताए ।एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख लालप्रसाद गुरुङले अन्नपूर्ण पदमार्गको राम्रो प्रचारप्रसार, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिले पर्यटक आगमन बढेको बताए । ‘भूकम्प गए पनि अन्नपूर्ण पदमार्ग बिग्रिएको छैन भन्ने प्रचारप्रसार भयो,’ उनले भने, ‘सबैबाट सकारात्मक सहयोग भयो । हिजोआज बन्द हडताल पनि हुन छाडेको छ । मनाङ र मुस्ताङमा मौसमीसम्बन्धी जानकारी दिनका लागि पोस्ट खडा गरिएको छ । पर्यटकलाई सूचना दिन ठाउँठाउँमा मार्किङ पोल र बोर्डहरूको राखिएका छन् ।


Facebook Comment


No ads found for this position