पर्यटनमन्त्री शाही थाइल्यान्ड प्रस्थान

काठमाडौँ, २४ पुस । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आज थाइल्यान्ड प्रस्थान गर्नुभएको छ ।

बैङ््ककमा रहेको आइकाओको एसिया तथा प्रशान्त क्षेत्रको कार्यालयमा यही पुस २५ देखि २६ गतेसम्म हुने बैठक मा सहभागी हुन मन्त्री शाही आज दिउँसो थाइल्यान्ड जानुभएको हो ।

उक्त कार्यक्रममा आइकाओका सदस्य राष्ट्र नेपालसहित एसिया प्रशान्त क्षेत्रमा रहेका मुलुकको सहभागिता रहनेछ । बैठक नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको र नागरिक उड्डयन क्षेत्रमा अगाडि बढ्ने अवस्थामा रहेको मुलुकका लागि क्षेत्रीय कार्यालयको कार्यक्रमका सहभागी हुनाका साथै आफ्नो विषय प्रस्टसँग नेपालको नागरिक उड्डयन क्षेत्रको हितमा राख्ने महत्वपूर्ण अवसरसमेत मानिन्छ ।

कार्यक्रममा एसिया प्रशान्त क्षेत्रमा रहेको नागरिक उड्डयन क्षेत्रको विद्यमान अवस्था र सुरक्षाको पछिल्लो अवस्था लगायत विषयमा छलफल हुने बताइएको छ । मन्त्री शाहीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमसमेत हुनुहुन्छ । मन्त्री शाही पुस २७ गते नेपाल फर्कने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले बताउनुभयो ।


Facebook Comment


No ads found for this position