पुस २८ देखि खिचरा महोत्सव हुने
चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ ।
महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने चौथो खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई समेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने स्थानीय थारु अगुवा बासुदेव चौधरीले बताउनुभयो ।
महोत्सव माघ ५ गतेसम्म चल्ने छ । महोत्सवमा १२० वटा व्यावसायिक स्टल रहनेछ । नाफामुखीभन्दा पनि थारु समुदायको भाषा, संस्कृति, पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएका कारण महोत्सवलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको आयोजकले बताएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा थारुको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछ । यस्तै दैनिक रुपमा थारु सांस्कृतिक नाच झुमरा, भम्टा, डम्फु, लाठी, भररा समेत प्रस्तुत हुने महोत्सव मूल आयोजक समिति संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो ।