‘घुमफिर वर्ष’बारे थाहै नपाई घुमफिर

गोपाल झापाली 

झापाः देशको सबैभन्दा ठूलो खेल उत्सव राष्ट्रिय खेलकुुद प्रतियोगिता भर्खरै पूर्वाञ्चलका विभिन्न जिल्लामा सम्पन्न भयो । खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमका खेलाडी र खेल क्षेत्रका संलग्न सबै सुदुर पूर्वसम्म आइपुगे । यसले खेलाडीहरूलाई पदकको प्रतिस्पर्धामात्र होइन, व्यावसायिक गतिशिलताको अवसर पनि प्रदान गर्‍यो । सरकारले २०७३ लाई घुमिफिर वर्ष मनाउने घोषणा गरेको भए पनि धेरै खेलाडी र अफिसियलहरूले यसबारेमा थाहै नपाई घुमफिरको पनि अवसर पाए । राष्ट्रिय खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा मात्रै होइन, व्यावसायिक क्षेत्रमा पनि प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

होटल व्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र दंगाल केही दिन भए पनि राष्ट्रिय खेलाडीहरूलाई दमकका व्यवसायीहरूले स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्छन् । राष्ट्रिय खेलकुदअन्तर्गत दमकमा आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदा तत्कालीन रूपमा व्यवसायमा खास प्रभाव नपारे पनि झापाबारे देशव्यापी प्रचारप्रसार भने गराएको उनले बताए ।

एक पटक कुनै पनि सहर आएकाहरूका लागि अन्य समयमा आउँदा भने ट्रान्जिट हुन सक्ने भएकाले यसले केही भए पनि दीर्घकालीन प्रभाव छोडेको उनको धारणा छ ।

दमक उद्योग व्यवसायी संघका अध्यक्ष राजेन्द्र ढकाल पनि केही दिनको खेलकुदबाट व्यावसायिक क्षेत्रमा ठूलो प्रभाव नपरे पनि स्थानको परिचयका लागि भने सहयोगी भएको धारणा राख्छन् । खेलकुद पनि पर्यटन प्रवद्र्धनको आधार हुन सक्ने भएकाले पूर्वाधार निर्माणमा ध्यान दिन सकेमा आर्थिक र पर्यटन विकासको आधार खेलकुद पनि हुन सक्ने उनको भनाइ छ ।

खेलकुदको माध्यमबाट आफ्नो प्रतिभा प्रष्फुटनसँगै देश दर्शनको अवसर पनि मिलेको खेलाडीहरूको अनुभव छ । सुदूरपश्चिमबाट आएकी खेलाडी सुजाता सिजापतीले आफूहरूको मुख्य लक्ष्य खेलबाट पदक पाउनु भए पनि बाँकी रहेको समयमा स्थानीय क्षेत्रबारे जानकारी लिने अवसर मिलेको बताइन् ।

आईटीएफ प्रतियोगिताका संयोजक दिपेन्द्र दाहालले देशभरका खेलाडीहरूले यस पटक पूर्वाञ्चलका विभिन्न स्थानबारे जानकारी पाउने अवसर पाएको बताए ।

मुख्य लक्ष्य खेल भएकाले पर्याप्त घुमफिरको अवसर नभए पनि यसले सहर र जिल्लाका बारेमा आधारभूत जानकारी, रहनसहनलगायत विषयमा भने केही जानकारी दिलाएको उनको ठम्याइ छ ।

होटल व्यवसायी संघ झापाको तथ्यांकअनुसार हाल झापामा करिब १० हजारको संख्यामा होटल छन् । मुख्यगरी झापाका काँकडभिट्टा, दमक र बिर्तामोडमा होटलहरूको संख्या बढी छ ।

तर, राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलका प्रतियोपगता यी सहरमा भएनन् । भद्रपुरमा भएको प्रतियोगिताका कतिपय खेलाडी र अफिसियल बिर्तामोडका होटलमा बसेका थिए ।

सरकारले यस वर्षलाई घुमफिर वर्ष घोषणा गरेको भए पनि सरकारी स्तरबाटै भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा भने यो जोडिन सकेन । सरकारकै कारण निष्प्रभावी बनेको घुमफिर वर्षको प्रचार प्रसार र प्रभावका लागि राष्ट्रिय खेलकुद उपयुक्त अवसर रहेको भए पनि यसको उपयोगितामा ध्यान नदिइएको होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् ।


Facebook Comment


No ads found for this position