जाडो मौसममा घुम्नजाँदा ध्यान दिनुपर्ने कुराहरु

केदार दाहाल  

२५ पुस, काठमाडौं । जाडो मौसमलाई विगतका वर्षमा जस्तो पर्यटनको बेमौसम भन्ने परम्परा पछिल्लो समय विस्तारै तोडिँदै गएको छ । नेपालमा पछिल्लो समय हुने पर्यटन मेला तथा गतिविधिले पनि जाडो मौसममा पर्यटनका सम्भावना जोड्दै लगेको पाइन्छ । जाडो पर्यटनमा सेवाको विशिष्टता र गुणस्तर बढेसँगै विविधता थपिँदै गएको पाइन्छ ।

प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन र पर्यटकीय गतिविधि धेरै फराकिलो भएको छ । सम्भावना देखेर नै हुनसक्छ, पछिल्लो समय पर्यटन व्यवसायीदेखि सरकारी संस्थाहरूले जाडो मौमसलाई केन्द्रित विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् ।

नेपालको पर्यटन खासगरी असोज, कात्तिक र मंसिर तथा मध्य फागुन चैत, वैशाख र जेठमा हुने गतिविधिले धान्दै आएको छ । पछिल्लो समयको चर्चा गर्दा जाडो याम पनि विशेष पर्यटन मौसम बन्दै गएको छ । “नेपालको पर्यटनमा अब समय परिवर्तन भएको छ, प्रवद्र्धन गर्न सकेमा पर्यटन मौसम भनेर कुर्नु पर्दैन,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भन्छन् ।

पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू नै हुन् । त्यसमा पनि सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी र पेसाकर्मी पर्छन् ।

विशेषतः जाडो मौसम व्यापार व्यवसायका हिसाबले सुस्त समय हो । त्यसो हुँदा स्वभावैले ती संस्थामा कार्यरत कर्मचारीमाथि कामको चाप कम हुन जान्छ । त्यसैले यस क्षेत्रका सम्बन्धितलाई घुम्न जाने समय मिल्छ । जाडोको समय राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले बच्चादेखि कलेजका विद्यार्थीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो समय जाडो बिदा पाउँछन् ।

विद्यार्थीहरू समूह बनाई घुमघाममा निस्कन्छन् । बच्चाबच्चीले पनि बाबुआमालाई घुमाउन जोड गर्छन् । धेरैजसो सरकारी र ‘क’ वर्गका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सरकारले ‘पे लिभ’को समेत व्यवस्था गरेकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ । जाडोको समयमा ‘मास प्याकेज’ दिएर आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई नेपालका विभिन्न गन्तव्यमा लैजान सकिने सीईओ जोशी बताउँछन् ।

पश्चिमा युरोप र अमेरिकी देशमा यो समय अत्यन्त जाडो हुने, हिउँले सेताम्मे हुने, घाम महिनौं नदेखिने र जीवन कष्टकर हुने हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपाली पनि त्यहाँको जाडो छल्न नेपाल आउँछन् । उनीहरू परिवार वा साथीको समूह बनाई घुम्न निस्कन्छन् ।“नेपालमा पर्यटन सिजन भन्ने नै नहनुपर्ने हो, तर प्रवद्र्धन गर्नमा हामी चुकेकाले समस्या भएको हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य भन्छन् । जाडो र गर्मीमा सोही अनुसारका प्रवद्र्धनमा जोड दिन सकेमा नेपालमा सदाबहार मौसम पर्यटन हुने आचार्यको बुझाइ छ ।

जाडोमा संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन् । नेपालमा पनि अचेल राम्रैसँग मनाइन्छ यी चाड । सांस्कृतिक विविधताले भरिएको नेपालमा थारु समुदायको नयाँ वर्ष माघी, हिन्दूको माघे संक्रान्ति, शेर्पाको सोनाम ल्होसारजस्ता जाडो मौसममा मनाइन्छ । माघी महोत्सव तराईका थारु बस्तीमा मनाइन्छ । त्यसैले चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन् जाडोमा घुम्न ।

अंग्रेजी नयाँ वर्ष आगमनका बेला पोखरामा हुने सडक महोत्सव नेपालमा हुने सबैभन्दा भव्य महोत्सव हो, यस मौसमको । त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो । जाडोमा पसिना नआउने भएकाले साइक्लिङ पनि नयाँ र विशिष्ट गतिविधि हो । स्वास्थ्य र पर्यटन दुवैका हिसाबले । काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगुनारायण, लप्सीफेदी, लाँकुरी भन्ज्याङ, हात्तीवन, पोखरा वरपर र धुलिखेलजस्ता ठाउँमा साइक्लिङ गर्न सकिन्छ ।

अचेल होमस्टे (घरबास) पर्यटनमा पनि चहलपहल हुन थालेको छ । होमस्टे नयाँ संस्कृति, नयाँ घरबास, नयाँ खानपिन, नयाँ पारिवारिक वातावरण अनुभव गर्न पाइने उत्कृष्ट र ज्ञानवद्र्धक पर्यटकीय गतिविधि हो । मंसिरमा ठड्याइएका परालका थाकमा खेल्न, आगोमा भुटेका मकै र पोलेको आलु तथा सखरखण्ड खान बालबालिका धेरै रमाउँछन् । तराईमा शीतलहर सुरु हुने, घाम नदेखिने र चिसो बढ्ने हुँदा पारिलो घामको मज्जा लिँदै आराम गर्न र रमाउन सकिन्छ मध्य पहाडी क्षेत्रमा ।

डडेलधुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोरखा, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम आदि क्षेत्रमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ । ‘सन बाथिङ’का रूपमा पश्चिमाले गर्ने एक मुख्य पर्यटकीय गतिविधि हो घाम ताप्नु ।

जाडोमा हिउँमा खेल्न पाइन्छ । अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा सेता हिउँका डल्ला खेल्दै रमाउन सकिन्छ । डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोरखा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा हिउँको मज्जा लिन सकिन्छ ।

कहाँ–कहाँ घुम्ने 
काठमाडौं वरपर नगरकोट, धुलिखेल, लाँकुरीभन्ज्याङ, फूलचोकी, लप्सीफेदी, भोटेचौर, सुन्दरीजल, शिवपुरी, ककनी, थानकोट, खोकना, बुङमती, साँखु, चाँगु, कीर्तिपुर, चम्पादेवी, चोभार, दक्षिणकाली आदि ।

पोखरावरपर, ढोरपाटन, चितवन, बर्दिया, इलाम, कोशी टप्पु, धरान, धनकुटा, भेडेटार, जनकपुर, दोलखा, जिरी, दामन, बन्दीपुर, गोरखा, पाल्पा, लुम्बिनी, दाङ, बर्दिया, सुर्खेत, खप्तड, डडेल्धुरा, शुक्लाफाँटा आदि ।

के-के गर्ने
साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, क्याम्प फायर पार्टी, धार्मिक यात्रा, सन बाथिङ, होमस्टे, स्थानीय संस्कृति अवलोकन ।

खानेकुरा
सुप तथा तातो झोल पदार्थ, मकै, अन्डा, मासु, गेडागुडी, रोटी, दूध, मौसमी फलफूल आदि ।

के लाउने ?
कटनको भित्री लुगा (थर्मकोट आदि), हाइनेक, स्वेटर, ज्याकेट, टोपी, गलबन्दी, जुत्ता, बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी, पञ्न्जा, कालो चस्मा आदि ।

के बोक्ने ?
टाउको दुखेको, रुघा तथा ज्वरोको औषधि, टर्च लाइट, स्क्रयाप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, क्यामेरा, मोबाइल, धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल र यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला ।

ध्यान दिनुपर्ने कुरा
पहाडी क्षेत्रमा हवाई यात्रा गर्नुहुन्छ भने फर्कनका लागि वैकल्पिक बाटोबारे पनि विचार पु¥याउनुपर्छ । अन्यथा मौसम गडबडी भई फ्लाइट नहुँदा गाह्रो हुन सक्छ । स्वास्थ्य हेरविचार गर्नुपर्छ । आरामदायी सुताइ र गुणस्तरीय खानपिनमा जोड दिनुपर्छ । बच्चाबच्चीलाई चिसोबाट बचाउनुपर्छ । जान लागेको गन्तव्यमा औषधि–उपचार वा स्वास्थ्य चौकीको व्यवस्थाबारे जानकारी राख्नुपर्छ ।

आफैँ गाडी हाँकेर जाने हो भने कुहिरो र हुस्सु लागेको समयमा ध्यानपूर्वक चलाउनुपर्छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनै हुँदैन ।

स्थानीय रक्सी वा अन्य मादक पदार्थको सेवन गर्दा त्यसको गुणस्तर र असरबारे हेक्का राख्नुपर्छ ।

जाने र सुनेका कुराबारे नयाँ ठाउँमा ज्ञान फैलाएर चेतना फैलाउन सहयोग पु¥याई उत्तरदायी पर्यटकको पहिचान दिनुपर्छ ।


Facebook Comment