चिनियाँ पर्यटक आकर्षित गर्न महोत्सव तयारी

चिनियाँ नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा जनवरी २१ मा हुने साँस्कृतिक कार्यक्रमका लागि तयारी गर्दै चिनियाँ तथा नेपाली कलाकार । तस्विरःकृष्णमणि बराल

२६ पुस,पोखरा ।चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा चिनियाँ पर्यटकलाई आकर्षित गर्न पोखरामा महोत्सवको तयारी गरिएको छ । पोखरा पर्यटन व्यवसाय र नेपालमा बस्दै आएका चिनियाँ पर्यटन व्यवसायीको संगठन ओभरसिज चाइनिज एसोसियसन पोखराले पहिलो पटक चिनियाँ नयाँ वर्ष महोत्सव गर्न लागेको हो ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटेल संघ, रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखरा, टान, नाटा, पोखरा पर्यटन परिषद्लगायतका पर्यटन व्यवसायी संघसस्थाको सहकार्यमा चिनियाँ नयाँ वर्ष हुन लागेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

चिनियाँ नयाँ वर्षमा चिनको हुनान प्रोभिन्स सिन्ताङबाट त्यहाँका उपमेयर, व्यवसायी र कलाकारसहितको ४० सदस्य टोली पोखरा आउँदै गरेको अध्यक्ष पालिखेले जानकारी दिए । अंग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी भएको सडक महोत्सव जस्तै चिनियाँ पर्यटक आकर्षण गर्न चिनियाँ नयाँ वर्ष महोत्सव गर्न लागिएको पालिखेले बताए । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले सुनाए ।

पोखराको बैदामस्थित बसुन्धरा पार्कमा फेब्रुअरी २१ मा एक दिवसीय नयाँ वर्ष महोत्सव हुने भएको हो । नयाँ वर्ष महोत्सवमा चिनियाँ र नेपाली साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने ओभरसिज चाइनिज एसोसियसन पोखराका अध्यक्ष चाङ च्याङ सोङले जानकारी दिए ।

चिनियाँ नयाँ वर्ष यस वर्षको जनवरी २८ तारिखमा पर्ने भए पनि ६ दिनअघि नै पोखरा भ्रमणमा रहेका चिनियाँ पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र आन्तरिक तथा वाह्य पर्यटकलाई चिनियाँ संस्कृतिबारे जानकारी दिन महोत्सव गर्न लागिएको उनले सुनाए ।
नयाँ वर्षका अवसरमा महोत्सवलाई सफल बनाउन डेढ महिनाअघिदेखि नै चिनियाँ गायिका लिजा बेलेले स्थानीय कलाकारलाई आफ्नो गीतमा नृत्य सिकाइरहेकी छिन् ।

पोखरामा नयाँ वर्ष मनाउने अवसर पाएकोमा निकै खुसी लागेको गायिका बेलेले बताइन् । यहाँ रहेका चिनियाँ व्यवसायीले पनि स्थानीय कलाकारलाई चिनियाँ गीतमा नृत्य सिकाइरहेका छन् । कार्यक्रममा दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले तयारीमा विशेष जोड दिएको स्थानीय व्यवसायी स्याङ साओ ह्वाले बताए ।

चिनियाँ भाषाको गीत संगीतमा चिनियाँ शैलीकै नृत्यका लागि चिनियाँसँगै आठ जना नेपाली कलाकारले कला सिकिरहेका छन् । नयाँ भाषा, गीत र संगीतमा नृत्य गर्न सुरुमा अप्ठेरो भए पनि सिक्दै जाँदा रमाइलो र सहज हुँदै गएको नृत्य सिक्दै गरेकी कलाकार सिजन घलेले बताइन् ।

पहिलो पटक पोखरेली र पोखरा भ्रमणमा रहेका पर्यटकले चिनियाँ नयाँ वर्षको अनुभव लिनेछन् । चिनियाँ नयाँ वर्ष मनाउँदा पोखरामा चिनियाँ पर्यटकको आकर्षण बढ्ने भएकाले यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्ने पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए । पछिल्लो ६ वर्षदेखि चिनियाँ पर्यटक आगमन बढे पनि भूकम्पपछि घटेका पर्यटक बढाउन महोत्सव महत्वपूर्ण हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले सुनाए ।


Facebook Comment


No ads found for this position