प्रधानन्यायाधीशको निर्देशनमा ‘घूस आरोपी’ छाडिए

२६ पुस, काठमाडौं । घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गरिएको छ ।

ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्याम अर्यालले घूस लिएको अवस्थामा अख्तियारबाट खटिएर गएको प्रहरीसहितको टोलीले शुक्रबार सप्रमाण समातेर हिरासतमा लिएको थियो । उनलाई सातदोबाटोस्थित ‘सेल्सवेरी डिपार्टमेन्टल स्टोर्स’ को पहिलो तलामा रहेको बाजेको सेकुवाबाट घूस रकमसहित समातिएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियार टोलीले अर्याललाई पक्राउ गरेको विषयमा सर्वोच्चका रजिस्ट्रार श्रीकान्त पौडेलले प्रधानन्यायाधीश कार्कीलाई जानकारी गराएपछि अधिकारक्षेत्रविपरीत अदालतका कर्मचारीलाई समातिएको भन्दै फिर्ता गराउन निर्देशनअनुसार पत्राचार गरिएको थियो ।

सर्वोच्चको उक्त पत्रपछि अर्याललाई अख्तियार हिरासतमुक्त गर्दै आइतबार अदालतका कर्मचारीको जिम्मा लगाइयो । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सर्वोच्चको मागअनुरूप अर्याललाई जिम्मा लगाइएको बताए । ‘त्यस्तो केही होइन, कानुनबमोजिम बुझाइएको हो’, कोइरालाले भने ।

२०७३ पुष २६ गते ६:५७ मा प्रकाशित


Facebook Comment


No ads found for this position