लोकप्रिय बन्दै पर्वतीय सङ्ग्रहालय

२६ पुस ।  नेपाल पर्वतारोहण सङ्घले स्थानीय रातोपैराह्रामा निर्माण गरी एक दशकअघि देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यतिखेर स्वदेशी तथा विदेशी विद्यार्थीप्रति निक्कै लोकप्रिय बनेको छ ।
हिमाल र हिमालको काँठामा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिने भएकाले सङ्ग्रहालयप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
 विसं २०६० माघ महिनादेखि सञ्चालनमा आएको यस सङ्ग्रहालयको २०७३ साल मङ्सिर महिनासम्म छ लाख ९१ हजार ६ सय ४४ जना विद्यार्थीले अवलोकन गर्दा रु दुई करोड १३ लाख एक हजार नौ सय ६३ आम्दानी भएको सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताए।
‘यस आर्थिक वर्षको पाँच महिनामा ६४ हजार चार सय ६६ विद्यार्थीले अवलोकन गर्दा संस्थाले रु २७ लाख सात हजार आठ सय ४० आम्दानी गरेको छ,’ नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्षसमेत रहेका उनले भने,‘गत वर्षको भूकम्प र नाकाबन्दी लगायतका कारण सोही अवधिमा १० हजार पाँच सय चारजना विद्यार्थीले मात्र सङ्ग्रहालयको अवलोकन गरेका थिए ।’
 मुलुकको ७५ वटै जिल्लाका एवम् पर्वतीय गतिविधिको चासो लिने बाह्य मुलुकका विद्यार्थीका लागि सङ्ग्रहालय भ्रमणको राम्रो गन्तव्य बन्दै गएको बताउँदै उनले भने,‘पोखरा भ्रमणमा आउने विद्यार्थीलगायत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय परेको छ ।’
 सङ्ग्रहालय सञ्चालन भएदेखि गत कात्तिक ११ का दिन सबैभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए, त्यस दिन तीन हजार दुई सय ५३ विद्यार्थीसहित तीन हजार आठ सय २७ जनाले टिकट काटेर अवलोकन गर्दा  दुई लाख पाँच हजार आठ सय आम्दानी भएको थियो ।
 अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको स्थापनाकालदेखि हालसम्म कुल १४ लाख ४४ हजार नौ सय १६ जनाले टिकट काटेर अध्ययन अवलोकन गर्दा  १२ करोड ८८ हजार तीन सय ३८ आम्दानी भएको सङ्ग्रहालयका प्रमुख बलप्रसाद राई बताउछन्।   उनका अनुसार सङ्ग्रहालयबाहिर बगैँचाका लागि सोही अवधिमा १२ हजार तीन सय ८८ जना प्रवेश गर्दा रु एक लाख ६२ हजार तीन सय आम्दानी भएको थियो भने ७३ हजार ६ सय ४३ जनाले निःशुल्क प्रवेश गरेको तथ्याङ्क छ । बगैँचा अवलोकनका लागि  २० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
 विद्यार्थीका अलावा चार लाख ५९ हजार आठ सय ९९नेपालीले टिकट काटेर अवलोकन गर्दा  दुई करोड ७४ लाख ७५ हजार एक हजार ७५ र एक लाख दुई हजार नौ सय ६८ सार्कस्तरीय पर्यटकबाट  दुई करोड २८ लाख ३५ हजार चार सय आम्दानी भएको छ ।
 त्यस्तै एक लाख ७८ हजार ६ सय २२ जना बाह्य पर्यटकबाट  पाँच करोड ८२ लाख १६ हजार आठ सय आम्दानी भएको प्रमुख राईको भनाइ छ । एक सय रोपनी क्षेत्रफलमध्ये लगभग चार रोपनी क्षेत्रफलमा पैmलिएको दुईतल्ले सङ्ग्रहालय भवनमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमचुचुरा एवम् आरोहण क्षेत्रमा हालसम्म भएगरेका गतिविधिका फोटोसहित प्रयोग भएका सामग्री र सो क्षेत्रमा बसोबास गर्ने पर्वतीय मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको छ ।
 सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ४० र सर्वसाधारण नेपालीका लागि  ८० रुपैयाँको व्यवस्था गरिएको छ भने सार्क अन्तर्गतका पर्यटकलाई दुई सय र बाह्रय पर्यटकको  चार सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।
 विश्वमा हिमालै हिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ विश्वमान्यता प्राप्त आठवटा र नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सबकमिटीले सिफारिस गरेका थप छसहित १४ वटा, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ सम्मका ४०, छ हजारदेखि छ नौ सय ९९ सम्मका ६ सय तीनसहित कुल एक हजार नौ सय १३ वटा हिमचुचुरा नेपालमा छन् ।
 आठ हजार आठ सय ४८ मिटर उचाइको विश्वको सर्वोच्च शिखर आठ हजार आठ सय ४८ मिटर उचाइको सगरमाथासहित आठ हजार पाँच सय ६ मिटर कन्चनजङ्घा, आठ हजार पाँच सय १६ मिटर लोप्से, आठ हजार चार सय ८५ मिटर मकालु, आठ हजार दुई सय दुई मिटर चोयु, आठ हजार एक सय ६७ धौलागिरि, आठ हजार एक सय ६३ मनास्लु र आरोहण इतिहासमै अग्रणी हिमाल अन्नपूर्ण आठ हजार ९१ मिटर अग्ला हिमचुचुरा नेपालमा पर्दछन् ।
 सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले बताए।
 एसियाकै नमुनामा सङ्ग्रहालयमा भारत, पाकिस्तान, चिन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायत विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री प्रदर्शन गरिएको सङ्ग्रहालयका कार्यकारी अधिकृत ऋषिराम पौडेलले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position