मेघौली विमानस्थललाई व्यवस्थित गराइने

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई व्यवस्थित र सुदृढ गराएर नियमित हवाई सेवा सञ्चालनका लागि पहल गरिने बताउनुभएको छ ।

मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको आज नारायणी नगरपालिका–३ बुद्धनगरमा उद्घाटन गर्दै उहाँले नियमित उडान भएर विमानस्थल व्यवस्थित भएमा मेघौली क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले सरकारी तवरबाट नीतिगत रुपमा गर्न सकिने कामका लागि आफ्नातर्फबाट सहयोग हुने बताउनुभयो ।
नारायणगढ–मेघौली हुँदै गोलाघाट जाने सडक छिटो स्तरोन्नति गर्न प्रधानमन्त्रीको कार्यालयबाट पहल गरिने वचन दिँदै उहाँले सडक पुनःनिर्माण भएसँगै मेघौली क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तुका कारण प्रभावित भएकाले वन्यजन्तुबाट हुने क्षतिबापतको राहतका लागि अधिकतम क्षतिपूर्ति दिलाउन सरकारी तवरबाट सहयोग गरिने उहाँको भनाइ छ । “वन्यजन्तुकै कारण पर्यटक बढेका हुन्, वन्यजन्तुबाटै हुने मानवीय र भौतिक क्षति कम गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।”

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद अधिकारी, मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष इन्द्रबहादुर केसी, उपाध्यक्ष मीना न्यौपानेलगायतले बोल्नुभएको थियो ।

नारायणी नगरपालिका वडा नं ३ बुद्धनगरमा तीन वर्षअघि निर्माण थालिएको सो खानेपानी आयोजना रु १७ करोड २० लाख आठ हजारको लागतमा बनेको हो जसमा नेपाल सरकारको रु आठ करोड ६० लाख चार हजार, नगर विकास कोषको ऋण रु सात करोड ७९ लाख १० हजार र उपभोक्ताको रु ८० लाख ९४ हजार खर्च भएको थियो ।

दैनिक २१ लाख लिटर पानी वितरण गर्ने क्षमता भएको सो आयोजनाले एक हजार ५९५ घरधुरीमा धारा जडान गरिसकेको छ । आयोजनाबाट एक हजार ७६५ परिवार लाभान्वित हुने बताइएको छ ।


Facebook Comment


No ads found for this position