हिमालय एयरको नयाँ जहाज माघ ७ मा आउने

२७ पुस, काठमाडौं ।  हिमालय एयरलाइन्सको नयाँ एयर बस माघ ७ मा नेपाल आउने भएको छ। निजी हवाई सेवा प्रदायक कम्पनीले ल्याउन लागेको एएलभी नाइन एनको ३२०–२१४ सिरिजको नयाँ विमान जर्मनीको फ्याक्ट्रीमा तयार भइसकेको छ। कम्पनीले जनाएअनुसार जर्मनमा तयार भएको नयाँ एयर बस जनवरी २० अर्थात माघ ७ गते नेपाल आइपुग्ने छ।

कम्पनीले यसअघि नै खरिद गरेको एयर बसबाट कतारको दोहा र श्रीलंकाको कोलम्बोका लागि व्यवसायीक उडान भरिरहेको छ। नयाँ जहाज ल्याएसँगै नयाँ उडान पनि थप गर्ने हिमालय एयरलाइन्सले जनाएको छ। स्रोतका अनुसार नयाँ जहाज नाइन एन एएलभी कलसाइनमा उड्ने छ।

तर, यसअघि नै नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको विमानको कलसाइन भने एएलएम नाइन एन थियो। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमायलय नेपालबाट अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने संयुक्त लगानीको कम्पनी हो। कम्पनीले ल्याउने नयाँ एयर बसले अब भने मलेसियाको राजधानी क्वालालम्पुर र म्यानमारका लागि व्यवसायिक उडान भर्नेछ। कम्पनीका अनुसार नयाँ एयरबसले फेब्रुअरी १० बाट मलेसियाका लागि उडान भर्नेछ। त्यसपछि म्यानमार उडान भर्ने कम्पनीले जनाएको छ।

हिमालय एयरलाइन्सको नयाँ एयर बस आएसँगै नेपाली क्यारिएयरका अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या ५ पुग्ने छ। हालसम्म नेपाल एयरलाइन्सका तीन र हिमालयको एउटा जहाजले मात्रै अन्तर्राष्ट्रिय रुटमा उडान भरिरहेका छन्। कम्पनीले यसअघि श्रीलंकाको कोलम्बोका लागि उडान सुरू गर्दा आफ्नो तेस्रो गन्तव्य भारतको नयाँ दिल्ली हुने जनाएपनि प्राविधिक कठिनाइका कारण नयाँ दिल्ली उडान भर्न नसकिएको जनाएको छ ।


Facebook Comment


No ads found for this position