नेपाल–चीन रेलवे सुरु भएपछि व्यापारमा ठूलो वृद्धि हुनेछः महावाणिज्यदूत कार्की

२७ पुस, काठमाडौं । ल्हासास्थित नेपालका महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीले चीनले अगाडि सारेको वान बेल्ट वान रोड अवधारणाबाट फाइदा लिन नेपालले धेरै तयारी गर्नु पर्ने बताएका छन्। तिब्बतको राजधानी ल्हासामा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) तिब्बत स्वायत्त प्रदेश क्षेत्रीय समितिको अघिल्लो साता भएको पाँचौ सम्मेलनमा आमन्त्रित कार्कीले भने, ‘चीनको वान बेल्ट वान रोड अवधारणा अनुसार नेपाल–चीन रेलवे सुरु भएपछि दुई देशबीचको व्यापारमा ठूलो वृद्धि हुने आशा छ।’

गतवर्ष मार्चमा ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नियुक्त भएका कार्कीले पहिलो पटक सीपीपीसीसीको सम्मेलनमा भाग लिएका हुन्। उनले सम्मेलनमा आफूलाई निम्त्याइएकोमा आभार व्यक्त गर्दै भने, ‘जनप्रतिनिधिहरुबीच गत वर्षका काम कार्वाहीको समीक्षा गर्दै विचार विमर्श गरी आगामी वर्षको योजना बनाइने भएकाले सम्मेलन निकै अर्थपूर्ण छ।’

गत मार्चमा नेपाल र चीनबीच औपचारिक रुपमा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौताका लागि व्यवहारिक अध्ययन, आपसी आर्थिक तथा व्यापारिक सहयोग विकासको सुरुवात भएको बताउँदै महवाणिज्दूत कार्कीले भने, ‘यस वर्ष नेपाल र चीनबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता वार्ता गरी सम्झौतालाई एउटा निस्कर्षमा पुर्याइनेछ जसबाट नेपालको अर्थव्यवस्थामा ठूलो सुधार आउने विश्वास गर्न सकिन्छ।’

चीन अहिले नेपालका लागि दोस्रो ठूलो पर्यटन स्रोत बनेको छ। गत वर्षको जनवरीदेखि नै नेपालमा चिनियाँ पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराइएको स्मरण गराउँदै कार्कीले भने, ‘चिनियाँ पर्यटकलाई प्रोत्साहन गर्न आगामी दिनमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा थप कदम चालिने छ। यसबाट चीन र नेपालबीच पर्यटनका माध्यमबाट पनि आपसी समझदारी अझै विस्तार हुनेछ।’

गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पपछि चीनले गरेको सहयोगको प्रशंसा गर्दै कार्कीले पुनर्निर्माण र आर्थिक स्थितिमा सुधार ल्याउन चिनियाँ पर्यटक र आपसी व्यापारले ठूलो मद्दत पुग्ने बताए।

नेपाल र चीनको तिब्बतबीच समान सांस्कृतिक पृष्ठभूमि र आर्थिक निर्भरता रहेकाले सम्बन्ध अझै गहिरो हुने बताएका छन्। नेपाली राजकुमारी भृकुटी र ल्हासाको सम्बन्ध जोड्दै कार्कीले प्रत्येक वर्ष दुई देशबीच सांस्कृतिक आदानप्रदानका गतिविधि तथा अन्तरसरकारी र अन्तर गैरसरकारी तवरबाट पनि सांस्कृतिक अभिवृद्धिका गतिविधि भैरहेको बताए।


Facebook Comment


No ads found for this position