दरबार छाडे पनि जिम्मेवारी छाडेको छैनः ज्ञानेन्द्र

२७ पुस, काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिए पनि जनताप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन्। उनले राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान पनि गरेका छन्।

२९५औँ पृथ्वीजयन्तीका अवसरमा मंगलबार सन्देश दिँदै पूर्वराजा शाहले दलहरूको नाम उल्लेख नगरी सार्वभौमसत्ता कमजोर पारेको, भौगोलिक अखण्डतामाथि प्रहार गरेको आरोपसमेत लगाएका छन्। उनी हाल थाइल्यान्डको राजधानी बैंककमा छन्।
‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तात्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौँ, तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौँ र गर्ने पनि छैनौँ,’ सञ्चार सहयोगी डा. फणीराज पाठकद्वारा मंगलबार जारी पूर्वराजाको सन्देशमा भनिएको छ, ‘नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।’

पूर्वराजाले नाम उल्लेख नगरी दलहरूले देशलाई कमजोर तुल्याएको, अखण्डतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।  ‘चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो–जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन्,’ पूर्वराजाको सन्देशमा भनिएको छ।


Facebook Comment


No ads found for this position