राष्ट्रघात धोती लाउनेले होइन टोपी लाउनेले गरेका छन्ः महतो

वीरगञ्ज : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले मुलुकमा धोती लगाउनेले कहिलै पनि राष्ट्रघाती काम नगरेको बताएका छन्।

वीरगञ्जमा मंगलबारदेखि सुरु भएको प्रेस मञ्च नेपालको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महत्तोले भने, ‘यो मुलुकमा धोती लगाउनेले कहिल्यै पनि राष्ट्राती काम गरेका छैनन्, अहिलेसम्म जे जति राष्ट्रघाती काम भएका छन् ति सबै ढाका टोपी लगाउनेले नै गरेका हुन् ।’

यसभन्दा पहिलेका संविधानमा अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति, प्रधानमन्त्री , प्रधानन्यायधीश बनाउने प्रावधान कांग्रेस, एमाले र माओवादीले नै राखेको भन्दै अध्यक्ष महत्तोले भने ,‘अहिले आएर मधेसी नेतालाई राष्ट्रराष्ट्रघाती भनेर आरोप लगाइन्छ, तर राष्ट्रघाती भनेका तीनै ठुला दलका ढाका टोपी लगाउने नेताहरु नै हुन् ।’

अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश बनाउने माग मधेसी दलको हुँदै नभएको उनले प्रष्ट पारे ।
संसदमा अहिले टेबुल भएको संविधान संशोधन प्रस्ताव पास गराउनका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि इमान्दारीता नदेखाएको उनको भनाइ छ ।

एमालेको असहयोगको बहाना देखाएर कांग्रेस र माओवादीले संशोधन प्रस्ताव अहिलेका लागि थाती राखेर चुनावको मिति घोषणा गर्ने षडयन्त्र गरिरहेको भन्दै सद्भावना अध्यक्ष महत्तोले संविधान संशोधन मार्फत् मधेसका समस्या सामधान नभएसम्म आफूहरुले कुनै पनि चुनाव हुन नदिने चेतावनी पनि दिए।

संसद्मा अहिले टेबुल भएको संशोधन प्रस्तावले मधेसको माग पुरा नहुने भन्दै उनले सीमांकन र प्रतिनिधित्वका मुद्धामा अहिलेको संशोधन प्रस्ताव परिमार्जन गरेर मात्रै पारित गर्नका लागि मधेसी दलहरुले सत्तारुढ दलहरुलाइ दबाब दिइरहेको जानकारी गराए ।
संविधान संशोधनको माग राष्ट्रघाती भन्ने एमालेले मधेशी जनतालाई गैर नेपाली घोषणा गरिदिएको उनको भनाइ थियो । एमाले र त्यसका अध्यक्ष केपी ओली नै सबै भन्दा ठूलो राष्ट्रघाती भएको भन्दै अध्यक्ष महत्तोले खोक्रो राष्ट्रवादको हौवा फैलाएर एमालेले मुलुकलाई जबरजस्ती विखण्डनको खाडल तर्फ धकेलिरहेको आरोप लगाए ।

मधेसबाट एमालेलाई बैण्डबाजा बजाएर विदाइ गर्ने अभियान सुनसरी जिल्लाबाट सुरु भइसकेको भन्दै अध्यक्ष महत्तोले मधेसबाट एमालेको पत्तासाफ गर्ने ठोकुवा गरे ।

पहाडका जिल्लाबाट मधेसलाई अलग बनाएर प्रदेशको सीमांकन गरिए मात्र मधेसका जनताले आफनो शासनको अनुभूति गर्न पाउने भन्दै उनले मधेसबाट अहिले खोसिएका पाँच जिल्ला मधेस प्रदेशमै नसमेटेसम्म आन्दोलन जारी नै रहने बताए।

समारोहलाई सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिाशोर साह, सहअध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनिषकुमार सुमन, सहमहासचिवद्वय अजय गुप्ता र सुरेन्द्र कुर्मीलगायत नेताले सम्बोधन गरे ।

‘पूर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत एवम् मधेसी पत्रकारहरुको अवाज’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशनमा काठमाडौं उपत्यकासहित मधेसका २२ जिल्लाबाट गरी तीन सय पत्रकारको सहभागिता रहेको छ । महाधिवेशन बुधबार सकिनेछ ।


Facebook Comment


No ads found for this position