पेलेको बाल्यकालका दुई प्रसंग
विश्वका बेस्टसेलर पुस्तकमध्ये एक हो, ब्राजिलियन फुटबलर पेलेको आत्मकथा । सन् २००७ मा प्रकाशन भएको यो पुस्तकमा पेलेले आफ्नो जीवनसँग जोडिएका अनौठा र रोचक कुरा लेखेका छन् । त्यही पुस्तकबाट लिइएको पेलेको बाल्यकालका दुई प्रसंग: पाइलट बन्न चाहन्थेँ
धेरैजसोले सानै उमेरमा भविष्यमा के बन्ने भन्ने सपना बनाउने गर्छन् । कतिको सपना सत्य सावित हुन्छ भने कतिको पूरा हुँदैन । सानो उमेरमा मैले देखेको सपना पूरा भएन । मैले बाल्यकालमा पाइलट बन्ने सपना देखेको थिएँ । तर, म फुटबर भएर निस्किएँ । हवाई जहाजसँगको एउटा रमाइलो प्रसंग छ । सन् १९५८ मा ब्राजिल टिम इटालीको रोममा फुटबल खेल्न गएको थियो । साउपोलोदेखि रोमसम्मको हवाईयात्रा १४ घन्टाको थियो । सुरुमा डिसी–५ सी जहाजमा बस्दा निकै डर लाग्यो । टोलीमा रहेका सिनियर खेलाडीले म डराएको थाहा पाएछन् । उनीहरूले रोमसम्मको यात्रामा मलाई ख्यालठट्टा गर्दै सयर गराए । रोममा ल्यान्डिङ हुँदा मेरो होसहवास नै उडेको थियो । हवाईजहाजभित्र म बारम्बार सोधिरहन्थेँ, ‘रोम पुग्न अब कति घण्टा लाग्छ ?’
बुबाले उल्टै झुक्याए सम्भवतः
स्कुले जीवनमा हुनुपर्छ । स्कुलको कम्पाउन्डभन्दा १५ यार्ड टाढा साथीहरूसँगै बसिरहेको थिएँ । उनीहरू मस्तले सिगार तानिरहेका थिए । म भने त्यो वातावरणमा उकुसमुकुस भइरहेको थिएँ । हप्तौँ सँगै बस्दा म पनि सिगारको धुवाँ उडाउने भइसकेको थिएँ । अझ रियोको सामुद्रिक किनारमा एक्लै बसेर सिगार तान्दाको आनन्द बिलकुलै फरक थियो । एक बाल्कोनीमा बसी निर्धक्कका साथ सिगारको धुवाँ उडाइरहेको थिएँ । दिउँसोको समयमा बुबा खासै घरमा हुँदैनथे । तर, त्यो दिन बुबा अचानक आइपुगे । बुबा आएर ‘के गरिरहेको ?’ भनेर मात्र सोधे । मैले भनेँ, ‘बाल्कोनीमा चिसो हावा खाइरहेको हो बुबा ।’ मेरो जवाफसँगै बुबा मुसुमुसु हाँस्दै कोठाभित्र छिरे । बुबाको प्रतिक्रिया आउनुअघि यस्तो लागिरहेको थियो– अब बर्बाद हुने भयो, बुबाले सबै थाहा पाउने भए र नराम्रोसँग कुटाइ खाने भइयो । तर, बुबाले केही थाहा नपाएजस्तो गरी भने, ‘छोरा सिगारको स्वाद कस्तो छ ?’ त्यो सुन्दा म झसंग भएँ । वास्तवमा मैले सिगार नियमित रूपमा तानिरहेको बुबालाई थाहा रहेछ । मैले बुबालाई झुक्याएको सम्झिएको थिएँ । तर, मलाई नै बुबाले उल्टो झुक्याए । बुबाको सुझाब अहिले पनि झलझली याद आइरहन्छ । ‘यदि भविष्यमा राम्रो फुटबलर बन्ने हो भने जाँड, रक्सी, चुरोट आदि कुलतबाट टाढा रहनुपर्छ छोरा ! यसको बानी पर्यो भने शरीर बिग्रिन्छ । पेले एक महान् फुटबर बन्नुपर्छ, यसकारण नराम्रो बाटोतिर नलाग, सिगारमै आफ्नो अमूल्य जीवन नफ्याँक’ भनी जवाफ पनि बुबाले दिए ।