शरीरको तौल घटाउने तरिका

मोटो शरीरलाई चिकित्सकहरू रोगको घरको संज्ञा दिन्छन् । मोटो शरीर भएकालाई सुगर, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । हेर्दा पनि मोटो शरीर आकर्षक देखिँदैन ।

तर, मोटोपन घटाउन अधिकांशले चाहेर पनि नसकेको गुनासो गर्छन् । डा. प्रकाशराज रेग्मीले मोटोपन घटाउने केही उपाय सिकाएका छन्ः

गुलियो र चिल्लो त्याग्नुहोस्
शरीरको मोटोपन घटाउने हो भने गुलियो र चिल्लो खानेकुरा त्याग्न सक्नुपर्छ । चिनी र चिनीबाट बनेका परिकारमा लोभिनु हु“दैन । घ्यू, बटर, बोसो सेवन गर्नु हु“दैन । चिल्लोमा फ्राई गरेको खाना पनि खान छाड्नुपर्छ । तरकारी तथा परिकारमा जतिसक्यो कम तेल हालेर पकाउनुपर्छ ।

खानाअघि सलाद खानुहोस्
शरीर मोटो बन्दै गएपछि खानाको रुचि झन् बढ्दै जान्छ । कार्बोहाइड्रेटयुक्त खाना जति धेरै खायो, उति नै मोटोपन बढ्छ । त्यसैले खानाको मात्रा नियन्त्रण गर्न बिहानको खाना खानुअघि एक कचौरा हरियो सलाद खाने गर्नुहोस् । सलाद खाएपछि पेट भरिन्छ, र भात कम खाइन्छ । यसले पनि मोटोपन घटाउन तथा नियन्त्रणमा राख्न सहयोग गर्छ ।

बेलुका भात नखानुहोस्
मोटोपन घटाउने भए बेलुकाको खानामा भात नखानु नै उत्तम हुन्छ । दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खानु राम्रो हुन्छ ।

डा. प्रकाशराज रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ वीर अस्पताल

डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ, वीर अस्पताल

पर्याप्त व्यायाम गर्नुहोस्
शारीरिक व्यायामले मोटोपन घटाउन महत्वपूर्ण भूमिका राख्छ । तर, व्यायाम शरीरले थेग्न सक्ने मात्रै गर्नुपर्छ । पर्याप्त व्यायाम गर्नुको मतलब शरीरलाई पीडा दिनु होइन । दैनिक एक घन्टा हिँड्ने, खेतबारीमा काम गर्ने, पौडी खेल्ने, खेलकुदमा भाग लिने गर्न सकिन्छ । तर, अप्राकृतिक तरिकाले केही दिनमै ह्वात्तै तौल घटाउने काम नगर्नुहोस् ।

भोकाउँदा फलफूल खानुहोस्
कुनै पनि वेला भोक लाग्दा फलफूलमा जोड गर्नु राम्रो हुन्छ । तर, मोटा व्यक्तिले केरा भने नखानु ठीक हुन्छ । अन्य खानाभन्दा फलफूलले पेट भर्ने, तागत दिने, तर मोटोपन बढ्न नदिने गर्छ ।

पानी पर्याप्त पिउनुहोस्
स्वस्थ जीवन जिउन पर्याप्त पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउनु उत्तम हुन्छ । दिनभरमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ ।

तनावबाट मुक्त हुनुहोस्
अनावश्यक कुरामा तनाव लिने तथा राति पर्याप्त ननिदाउने व्यक्ति पनि मोटोपनको सिकार बन्छन् । त्यसैले तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ । योग, ध्यान, प्राणायाम गरेर तनावमुक्त हुन सकिन्छ ।

धुम्रपान र मद्यपान त्याग्नुहोस्
धुम्रपान र मद्यपानले मोटो व्यक्तिलाई झन् बढी असर गर्छ । रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी सेवनले मोटोपन बढाउँछ भने रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर गराउँछ ।


Facebook Comment


No ads found for this position