पाइलटले लाइसेन्स नवीकरण नगरेपछि…

२८ पुस, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन्। तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ। निगम व्यवस्थापनकै कमजोरीका कारण मंगलबार निगमकै उड्डयन इतिहासमा पहिलोपटक आइपरेको समस्याले उडान नै रद्द भएको हो। पाइलटको लाइसेन्स नवीकरण नभएको जानकारी पाइएपछि मंगलबार मध्यरातमा उडान स्थगित गरिएको हो।  रातको ११ः३० मा कतारको दोहा उड्न ठिक्क परेको जहाज बोइङ–७५७ जहाज प्राविधिक कारण भन्दै मध्यरातमा उडान स्थगित गरिएको थियो।

जहाज उडानका लागि अपरेसन विभागले अघिल्लो दिन नै सम्बद्ध कर्मचारी (क्रु)लाई जानकारी गराएको हुन्छ। सवै क्याप्टेनहरूलाई अघिल्लो दिन नै कुन उडानमा जाने भन्ने फोन अपरेसनबाट पनि गइसकेको हुन्छ। तर, मंगलबार क्याप्टेन ओम गुरुङले उडाउन ठिक्क पारेको जहाज मध्यरातमा रद्द गर्नुपरेको निगम स्रोतले बतायोे।  गुरुङले समयमा लाइसेन्स नवीकरण नगर्दा उडान रद्द भएको हो।  एक जना पाइलटले आफ्नो लाइसेन्स नै  समयमा नवीकरण नगर्दा १ सय ९० भन्दा बढी यात्रु बोडिङ पास भएर जहाजमा चढ्नको लागि ठिक्क परेको वेला रोकेर होटलतर्फ लैजान बाध्य भएका हुन्।  उडान रद्द भएपछि सवै यात्रुलाई सोल्टी होटलमा राखिएको थियो भने विहान ८ बजे मात्र दोहाको लागि पुनः उडान गरिएको निगम स्रोतले जानकारी दिएको छ।

औसतमा एक जना क्याप्टेन तहका पाइलटको तलब भत्ताबाहेक करिब २ लाख रुपैयाँ हुन्छ भने प्रत्येक उडानमा थप भत्ता पाउँछन्। “लाइसेन्स नवीकरण नभएर उडान रद्द भएको भन्ने कुरा आएको छ, यो विषयमा मैले छानविन गरिरहेको छु,” निगमका प्रवन्ध निर्देशक सुगरत्न कंसाकारले भने। यो विषयमा विस्तृतमा कुनै जानकारी आइनसकेकोले अहिले सवैकुरा भन्न नसक्ने उनको भनाइ थियो। निगम स्रोतका अनुसार पाइलटको लाइसेन्स प्रत्येक वर्ष नवीकरण गर्नु पर्दछ। नवीकरणका लागि समय सकिनु १५ दिन अगावै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्दछ। प्राधिकरणमा आफ्नो स्वास्थ्य रिपोर्ट, तालिमको प्रमाणपत्र तथा कार्यरत संस्थाको चिठी बुझाएको केही दिनमै आफैं उपस्थित भएपछि लाइसेन्स प्राप्त गर्न सकिन्छ।


Facebook Comment


No ads found for this position