राजस्व सचिव खनाल भन्छन् यी हुन् सुन तस्करीसित जोडिएका सवाल

 

राजन खनाल

बजारमा कसरी आउँछ सुन ?

नेपाली बजारमा अवैध ढंगबाट सुन नआओस् भनेर बैंकिङ प्रणालीबाट बजारमा सुन भिœयाउने व्यवस्था सरकारले मिलाएको छ । नेपालको बजारको माग र आपूर्ति मिलाउन बैंकिङ प्रणालीलाई प्रोत्साहन गरिएको हो । अन्य ठाउँबाट सुन नआओस् भनेर यस्तो व्यवस्था मिलाइएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत आपूर्ति गर्ने व्यवस्था मिलाएको हो । सुनचाँदी व्यवसायीले यही सुन बैंकबाट किन्ने र बजारमा बिक्री गर्ने व्यवस्था छ । व्यक्तिसँग भएका सुन बजारमा आउन सक्छ । मानिसले आफूसँग भएको सम्पत्ति बजारमा बेच्दा पनि केही सुन आइरहेको हुन्छ । पैतृक सम्पत्तिका रूपमा प्राप्त सम्पत्ति त्यसरी बिक्री भइरहेका हुन्छन् । त्यसले पनि आपूर्तिमा सहजता ल्याएको छ । राष्ट्र बैंकले विशेष अवसरमा सिक्का निष्कासन गर्छ । त्यसरी पनि सुन बजारमा आउँछ । यसरी आउने सिक्का बेचबिखन गर्नेभन्दा पनि सम्पत्तिका रूपमा राख्ने चलन छ । झिटीगुन्टा तथा भारी आदेशमार्फत ५० ग्रामसम्मका सुनका गहना ल्याउन पाउने व्यवस्था गरिएको छ । यसभन्दा अगाडि ५० ग्रामसम्मका सुनका ढिक्का ल्याउन पाउने व्यवस्था थियो । त्यसले केही विकृति ल्यायो । विदेशमा काम गरिरहेका नेपालीले आफ्नो घरमा ल्याउने भन्दा पनि व्यवसायीले ल्याउन लगाउने गरेको भेटियो । अर्कातर्फ विदेशबाट त्यसरी सुन लिएर आउने नेपाली कामदार पक्राउ परेका पनि छन् । त्यसो नहोस् भनेर ढिक्का ल्याउन पाउने व्यवस्था हटाइएको हो ।

माग र आपूर्तिका पक्ष

कुनै पनि वस्तुको माग र आपूर्तिबीच असन्तुलन भयो भने विचलन वा अवैध बाटो प्रयोग हुने भएकाले वैध बाटोबाट मात्रै सुन ल्याउन पाउने व्यवस्था मिलाइएको हो । लामो समयदेखि सुनको अवैध कारोबार नहोस् भनेर वैध प्रणाली स्थापित गर्ने प्रयास सरकारले गरिरहेको छ । बैंकिङ प्रणालीभन्दा बाहिरबाट आउने सुनको नियन्त्रणका लागि नियन्त्रणात्मक प्रणाली अपनाउन खोजिएको छ ।

दैनिक १५ किलो सुन बैंकिङ प्रणालीबाट बजारमा पठाइएको भए पनि तस्करीलगायत माध्यमबाट पनि सुन आइरहेको छ । यसको प्रमाण भनेको केही दिनअघि प्रहरीले समातेको ३३ किलो सुन पनि हो । एकातिर बैंकले दिएको सबै सुन बजारमा नजाने र अर्कोतिर अवैध बाटोबाट भित्रिने काम भइरहेको छ । सुनको भाउ लन्डनमा तोकिन्छ । ‘लन्डन प्राइस’का आधारमा संसारभर सुनको मूल्य निर्धारण हुन्छ । हरेक दिन त्यसरी नै सुनको कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नेबित्तिकै सुन नपाउने र बढेपछि मात्रै पाउने हुन थालेपछि सुनको व्यवस्थित कारोबार गर्न निर्देशिकाको तयारी भएको थियो । तर, अन्तिम समयमा निर्देशिका आउन सकेन । दैनिक रूपमा हुने सुन कारोबारलाई व्यवस्थित गर्न अझै सकिएको छैन । अन्तर्राष्ट्रिय रूपमा सुनको भाउ घट्दा नपाउने र बढ्दा फालाफाल हुने अवस्था आउनु हुँदैन । सरकारले वैध रूपमा बजारमा उपलब्ध गराएको सुनले नै माग धान्नुपर्छ । यदि अहिले उपलब्ध गराइने १५ केजीले बजारको माग धान्दैन भने व्यवसायीले बढाउनका लागि भन्नुपर्छ ।

गन्तव्यसम्म अनुसन्धान जरुरी अहिले जसरी

सुन तस्करीको प्रश्न उठेको छ, यसको अनुसन्धान यीभन्दा बाहिरका पक्षसम्म गएर गर्नुपर्छ । यो विषयमा अर्थ मन्त्रालयले सुरक्षा निकायसँग समन्वय पनि गरिरहेको छ । यस विषयमा गहिराइसम्म पुग्नुपर्छ । सुनको आपूर्तिको बाटो मात्रै होइन, तस्करी भएको सुन पुर्‍याउने अन्तिम गन्तव्य कहाँ हो, त्यहाँसम्म पनि अध्ययन हुनुपर्छ । यसमा अनुसन्धान गर्ने निकायलाई अर्थ मन्त्रालय र मातहतका निकायले सहयोग गर्छन् । पछिल्लो सुन तस्करी काण्डपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । उहाँहरू अनुसन्धानको दायरामा हुनुहुन्छ । जुन निकायले अनुसन्धान गरिरहेको छ, त्यसमा अर्थ मन्त्रालयको सहयोग रहन्छ ।

भारतीय बजारको विश्लेषण

सुन तस्करीका विषयमा कुरा गरिरहँदा भारतमा सुनको मूल्य कति छ भनेर पनि हेर्नुपर्ने हुन्छ । सुनको अवैध चोरी पैठारी नहोस् भनेर नियन्त्रण गर्ने भनेको भन्सार मूल्यबाट हो । कुनै पनि वस्तुमा असाध्यै धेरै कर लगाइयो भने त्यो वस्तुको चोरी पैठारी हुन सक्छ । सुनमा पनि हुने त्यस्तै हो । भारतमा सुनको भन्सार मूल्य कति छ र यहाँ कति छ भनेर हेर्नुपर्छ । भारतमा सुनको परिमाणका आधारमा कर निर्धारण हुन्छ । त्यहाँ १० प्रतिशत भन्सार लाग्छ भने हामीले त्यसैलाई आधार मानेर प्रति १० ग्राममा लगाएका हुन्छौँ । त्यो दुईवटा मूल्य हेर्दा ४-५ सय रुपैयाँ मात्रै फरक पर्छ । अन्तर्राष्ट्रिय बजारमा हरेक दिन सुनको मूल्य फरक पर्ने भएकाले त्यसरी नै व्यवस्थापन गर्न खोजिएको हो । पैठारीबाट सुन नआओस् भनेर यी सबै पक्षलाई हेर्न खोजिएको छ ।

रेमिट्यान्ससँगको सम्बन्ध

नेपालको कुल व्यापारको ६७ प्रतिशत भारतसँग हुन्छ । यो एउटा पाटो भयो । अर्कोतर्फ नेपालमा ठूलो परिमाणमा रेमिट्यान्स पनि आउँछ । रेमिट्यान्स वैध रूपमा नेपालमा नआएको कारण विदेशी मुद्रा विदेशमा नै बस्ने र त्यसको सुन किनेर अवैध बाटो हुँदै नेपाल पठाउने जोखिम रहन्छ । सुनको तस्करीलाई रेमिट्यान्ससँग जोडेर पनि हेर्नुपर्छ । नेपालले विभिन्न देशसँग श्रम सम्झौता गर्दा नै नेपाली कामदारले आर्जन गरेको मुद्रा यसरी नेपाल पठाउनुपर्छ भन्ने व्यवस्था गर्नुपर्छ । अहिले नेपालमा जति पनि अवैध सुन आइरहेको छ, त्यसका लागि विदेशी मुद्रा पठाएको त छैन । सरकारले त १५ किलोका लागि पठाएको छ । यति धेरै सुन किन्नका लागि ठूलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । त्यसकारण रेमिट्यान्स र सुनको पनि सम्बन्ध हेर्नुपर्ने हुन्छ । अनुसन्धान गर्दा त्यहाँसम्म पुग्नुपर्छ ।

भारु प्रतिबन्धसँगको नाता

भारतमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लागेपछि सीमावर्ती क्षेत्रमा कारोबार गर्न नोटअभाव भएको थियो । अभाव भएको नोटको सट्टा सटही व्यवस्थापनका लागि सुनको अवैध आयात भइरहेको पनि हुन सक्छ । त्यसतर्फ पनि अध्ययन हुनु आवश्यक छ । भारतमा ठूला नोट प्रतिबन्ध भएपछि बैंकिङ प्रणालीबाट मात्रै व्यापार हुन थालेको छ । त्यो नेपालका लागि सुखद कुरा हो ।

खुला सिमानाको असर

हाम्रो दक्षिणतर्फ खुला सीमा भएका कारण कतिपय व्यापारिक कारोबारको नियन्त्रणमा कठिनाइ उत्पन्न भएको छ । त्यो सबै हिसाबले सबै कारोबारलाई वैध बाटोमा ल्याउन कठिन छ । उत्तरतर्फको व्यापार पनि बैंकिङ प्रणालीमा छैन । चीनले नेपालको बैंकिङ प्रणाली नबुझ्ने र हाम्रोले उताको प्रणाली नबुझ्ने कारणले त्यसो हुन नसकेको हो । सिमानामा सामान आएपछि त्यसको मूल्यांकन हुने गरेको छ । प्रज्ञापनपत्रमा सबै कुरा नखुलाइएका कारण समस्या हुने गरेको छ ।

विमानस्थल आधुनिकीकरणको प्रश्न

धेरै समयसम्म नेपालमा भन्सारमा हुने चेकजाँच हात (म्यानुअल) बाटै हुने गरेको थियो । छामेर र अन्दाज गरेर काम भएको थियो । पछिल्लो चरणमा एक्सरे मेसिन प्रयोग गरिएको छ । अहिले भइरहेको मेसिनले मात्रै काम गर्दा प्रभावकारी हुन नसकेको भन्दै कोही मानिस प्रवेश गर्नेबित्तिकै उसको सम्पूर्ण शरीरको नै जाँच हुने (होल बडी एक्सरे मेसिन) राख्ने तयारी भइरहेको छ । अवैध व्यापार नियन्त्रणका लागि यो सबै काम गर्न लागिएको हो । विमानस्थलमा सिसिटिभी पनि जडान गरिएको छ । ती सबै प्रमाण सुरक्षित रहन्छन् । स्क्यान मेसिनबाट जाँचपास हुँदा कुनै त्रुटि भएको छ कि भनेर त्यो पनि हेर्न सकिन्छ । यी सबै प्रक्रियाको छानबिन गर्न भन्सार विभागले समिति पनि बनाएको छ । यो समिति र सुरक्षा निकायले बनाएको समितिले अलग–अलग काम गर्ने हो । सुरक्षा निकायले बनाएको समितिलाई अर्थ मन्त्रालयको पूर्ण सहयोग रहन्छ ।

अन्तर्निकाय समन्वय

अहिले त्रिभुवन विमानस्थलमा ३० वटाभन्दा धेरै निकाय कार्यरत छन् । त्यसकारण सबै निकायबीच आपसी सहयोग र समझदारी आवश्यक छ । त्यसका लागि छलफल पनि गरिरहेका छौँ । राजस्व चुहावटलाई प्रभावकारी बनाउने विषयमा पनि सुरक्षा निकायका व्यक्तिसँग छलफल भएको छ । कसले के काम कसरी गर्ने भन्ने निर्णय गरेर नै अगाडि बढ्नेछौँ ।

पछिल्लोपटक सुन नियन्त्रणमा लिइएको विषयलाई उपलब्धिका रूपमा लिनुपर्छ । तर, यसको जरासम्म पुग्नुपर्छ । सामान्य रूपमा कुनै वस्तुको अवैध चोरी पैठारी र नियन्त्रणका लागि भन्सारले काम गर्न सक्छ । तर, संगठित रूपमा कुनै काम हुन्छ भने त्यसको नियन्त्रणका लागि सम्पूर्ण निकायबीच समन्वय गरी काम गर्नुपर्छ । यस विषयमा पनि साझा धारणा बनाएर अघि बढ्नुपर्छ । पछिल्लोपटक जुन घटना भएको छ, त्यसको अन्तिम तहसम्म छानबिन हुनुपर्छ ।साभार नयाँपत्रीका

(अर्थ मन्त्रालयका राजस्व सचिव खनालद्वारा व्यवस्थापिका संसद्को अर्थ समिति बैठकमा व्यक्त विचार) 


Facebook Comment


No ads found for this position