नेपाल आउने पर्यटकको गन्तव्य भारत बनाउन भारतीय मिडियाले नकारात्मक समाचार प्रसारण गरे

टासी लाक्पा शेर्पा, वरिष्ठ उपाध्यक्ष, टान

नेपाल आउने पर्यटक भारतमा २०१५ मा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपालको पर्यटन व्यवसाय निरन्तर ओरालो लागेको छ ।

भूकम्प र नाकाबन्दीले नेपालमा आउने पर्यकटको संख्या ४० प्रतिशतले घटेको छ । भूकम्प गएपछि विशेष गरी भारतीय मिडियाले नेपालको विषयमा धेरै नकारात्मक समाचार प्रसारण गरे ।

जुन प्रचारलाई नाकाबन्दीमा समेत निरन्तरता दिइयो । यसो गर्नुको कारण नेपाल आउने पर्यटकको गन्तव्य भारत बनोस् भन्ने थियो । र, यस मामिलामा उनीहरू सफल भए पनि । नेपालमा पर्यटकको संख्यामा ४० प्रतिशतले ह्रास आउँदा सोही समयमा भारतमा ३० प्रतिशत पर्यटक बढेका छन् ।

२०१४ सम्ममा आठ लाख पर्यटक नेपाल आइरहेकामा हाल पाँच लाख ५० हजारको हाराहारीमा मात्र पर्यटक आइरहेका छन् । यसमा नेपाली मिडियाले रचनात्मक भूमिका निर्वाह गर्न नसकेको देखिन्छ । भूकम्पको क्षति, असर, परकम्पन, पर्यटकीय भौतिक संरचनामा क्षति, त्यसले पर्यटन व्यवसायलाई पारेको प्रभाव आदिका बारेमा नकारात्मक समाचार मात्र सम्प्रेषण भयो । जसका कारण अझै पनि नेपालमा त्यस्तै संकट छ भन्ने विदेशीको दिमागमा बसेको छ ।

राज्यले दायित्व बोध गरेन

नेपालको पर्यटन व्यवसाय जुन रूपमा चल्नुपर्ने हो त्यसअनुरूप चल्न सकेको छैन । विदेशबाट बर्सेनि १०/१५ लाख पर्यटक आउँदा बस्ने राम्रो व्यवस्था छैन । सोहीअनुसारको एयरलाइन्स छैनन् । पर्यटनसहर बनेको छैन । अहिले जेजति छ सबै निजी क्षेत्रले आफ्नो लगानीमा सञ्चालन गरेका व्यवसायहरू छन् । खोइ राज्यले तीन/चार लाख विदेशी एकै ठाउँमा अटाउन सक्ने पर्यटकीय सहर बनाएको ? नेपाललाई प्रकृतिले दिएका केही हिमाली क्षेत्रलाई समेत निषेधित क्षेत्र घोषणा गरेको छ राज्यले ।

माथिल्लो तथा तल्लो डोल्पा, गोरखाको मनास्लु क्षेत्र, चुम उपत्यकालगायतका नौ क्षेत्रमा पदयात्रा तथा आरोहणका लागि सरकारले घोषणा गरेकोे निषेधित क्षेत्रले विश्वमा के सन्देश जाला ? चीनको स्वचालित क्षेत्रसँग जोडिएका ती निषेधित क्षेत्रलाई तत्काल खुला गर्नुपर्छ । चीन स्वयंले विश्व समुदायका लागि आफ्नो भूभाग खुला गरेको परिप्रेक्ष्यमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गर्नु तर्कपूर्ण छैन ।

हाल ०३३ को पर्यटन नीतिमा पर्यटन व्यवसाय चलेको हो । जुन अहिलेको समय सान्दर्भिक छैन । राज्यले ल्याएको नीतिकै आधारमा पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्न सकिन्छ । सरकारले पर्यटन क्षेत्रका विज्ञहरू राखेर तत्काल काम गर्नुपर्छ । पर्यटन नीतिलाई अहिलेको समयानुकूल बनाउनुपर्छ ।

राज्यलाई फाइदै–फाइदा छ

पर्यटन व्यवसायीले सरकारलाई कर बुझाइरहेका छन् । रोयल्टी र ट्याक्सबाट मात्र सगरमाथा चढेको एकजनाबाट ११ हजार डलर आउँछ । हिमाली क्षेत्रको निषेधित क्षेत्र खुला गर्ने, तीन/चारवटा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण गर्ने, आधुनिक पर्यटन सुविधासम्पन्न सिटी बनाउने, दक्ष जनशक्ति उत्पादन गर्नेजस्ता कार्य राज्यले गर्ने हो भने यस क्षेत्रबाट ठूलो फाइदा लिन सकिन्छ ।

अहिले बर्सेनि चार/पाँच लाख पर्यटन आउँदा पर्यटन व्यवसाय राज्यको तेस्रो आर्थिक स्रोत बनेको छ । १०/१२ लाख आए भने दोस्रो हुन्छ । १५/२० लाख आए भने यसले नै देशलाई धान्छ । ३० लाख आए भने नेपाल एसियाकै नमुना राष्ट्र बन्न सक्छ । देश आफैँ चल्छ । हामी आर्थिक रूपमा अरूमा निर्भर हुनुपर्दैन । निषेधित क्षेत्र खुल्ने, वैदेशिक उडान थप्ने र विदेशीको आगमनलाई सहज बनाउने, पूर्वाधारको विकास गर्ने, पर्याप्त स्टार होटेल बनाउने, सरकारी स्तरबाटै प्रचारप्रसार गरेर नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु पुर्‍याउने, विशेष कार्यक्रम र योजनाहरू बनाउने, पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्ने, पर्यटकीय स्थलको संरक्षण र संवद्र्धनमा ध्यान दिने, नीतिगत रूपमा समयानुकूल पर्यटन नीति बनाउने, पर्यटन सहर बनाउने मात्र हो भने पनि नेपालमा करिब १५ लाख पर्यटक भिœयाउन गाह्रो छैन । अझ बिस्तारै ३० लाख पुर्‍याउन सकियो भने बर्सेनि १२ खर्ब रुपैयाँ नेपाल भित्रन्छ । यहाँ आउने एक विदेशी पर्यटकले चार हजार डलर खर्च गर्छन् । त्यसैले धेरैभन्दा धेरै पर्यटक भिœयाउने लक्ष्य सरकारले लिनुपर्छ ।

९० प्रतिशत बुद्ध धर्म मान्ने थाई जनतालाई थाहा छैन बुद्ध जन्मिएको देश

थाइल्यान्डमा ९० प्रतिशत जनता बुद्ध धर्म मान्ने र उनीहरूमध्ये ८० प्रतिशतलाई बुद्ध जन्मिएको देश नेपाल हो भन्ने थाहा नभएको समाचार पढ्दा अचम्म लाग्यो । त्यहाँ रहेका भारतीय ट्राभल एजेन्सीमार्फत थाई जनता भारत हुँदै नेपाल भ्रमणमा आउने गर्छन् । उनीहरू लुम्बिनीको भ्रमणमा समेत जान्छन् । भ्रमणबाट फर्किसकेपछि पनि उनीहरूलाई थाहा हुँदैन कि हामी बुद्धको जन्मभूमि नेपाल पुगेर आयौँ । पहिलो उनीहरूमा लुम्बिनी भारतमै पर्छ भन्ने भ्रम छ ।

अर्को नेपाल भारतकै एक हिस्सा हो भन्ने । जीवनमा एकपटक बुद्ध जन्मिएको देश नपुगे आफ्नो मनोकांक्षा पूरा नहुने ठान्ने थाई जनतालाई बुद्ध जन्मिएको देशबारे थाहा नहुनु जति ठूलो बिडम्वना अर्को हुनै सक्दैन । जीवनमा एकपटक बुद्ध जन्मिएको देश आउन चाहने त्यहाँका जनताले बुद्ध नेपालमा जन्मिएका हुन् र नेपाल छुट्टै देश हो भन्ने मात्र थाहा पाएमा उनीहरू सीधै नेपाल आउँछन् । नेपालबारे बुझ्छन् । अन्य पर्यटकीय स्थलबारे थाहा पाउँछन् । त्यहाँ घुम्छन् । यसबारे सोच्ने कसले ? थाइल्यान्डको प्रमुख आम्दानीको स्रोत नै पर्यटन व्यवसाय हो । त्यहाँ बर्सेनि दुई करोडको हाराहारीमा पर्यटक जान्छन् ।

हामी प्राकृतिक सुन्दरताले थाइल्यान्डभन्दा धनी छौँ । तर, पनि हामी बर्सेनि २० लाख पर्यटक भित्र्याउन सक्दैनौँ । हामीलाई प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न सकिरहेका छैनौँ । किनकि नेपालको विकासमा यहाँ कसैलाई चासो छैन । नेता सत्ता र कुर्सीको खेलमा लागेका छन् भने जनता कसरी दैनिक गुजारा चलाउने भन्नेमा । प्रशासन र कर्मचारी जागिर खाइरहेका छन् । अर्कोतर्फ नेपाल पर्यटन बोर्डले जुन काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । भनौँ भने बोर्ड पूर्ण रूपमा असफल छ ।

राम्रो पर्यटन नीति ल्याउन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा कुनै भेला, छलफलमूलक कार्यक्रम गर्न सकेको छैन । बोर्डसँग पैसा हुँदाहुँदै पनि त्यसलाई उचित ठाउँमा प्रयोग गर्न सकिरहेको छैन । पर्यटन क्षेत्रमा लागेका, हिमाल, कुनाकाप्चा थाहा भएका व्यक्तिलाई बोर्ड सदस्य बनाउन सकिएको छैन । नियुक्ति गर्दा विज्ञ मान्छे छनोट गर्नुगर्नेमा राजनीतिक भागबन्डाका आधारमा छनोट गरिन्छ । पर्वतीय पर्यटन बुझेको मान्छे बोर्डमा हुनुप¥यो नि । कुर्सीमा बसेर भाषण छाँट्नेको के काम ? कुर्सीमा बसेर नीति बनाउने त नेपाल सरकार छँदै छ नि ।

नेपालमा पर्यटन विश्वविद्यालय

हामी केवल विगत र वर्तमानको समीक्षामा रुमल्लिएर सुन्दर भविष्यको कोरा कल्पना मात्र गर्छौं । काम कम र भाषण बढी छाँट्दा छाँट्दै जिम्मेवारीमुक्त हुने समय आउँछ । अनि गरौँला भनेको समय नै सकियो, उसले गर्न दिएन, पाइएन भन्दै पन्छन खोज्छौँ । पछिल्लो समय हेर्नुस् त कुलमान घिसिङको पहलमा राजधानी लोडसेडिङमुक्त भएको । आखिर गरेपछि त हुँदोरहेछ नि । हुनुपर्ने त इच्छाशक्ति रहेछ । त्यसैले हामीले आफ्नो स्थानबाट आफूले पाएको जिम्मेवारी बहन गर्न सक्नुपर्छ । रिजल्ट आउने काम गर्नुपर्छ । नेपाल आफैँमा एउटा पर्यटन विश्वविद्यालय हो ।

तर, अहिलेसम्म यसलाई संस्थागत गर्न नसकिनु जतिको ठूलो विडम्बना अरू के नै होला र ? यहाँ विदेशी पढ्न, थेसिस लेख्न, प्राकृतिक सम्पदाको अध्ययन गर्न आउँछन् । उनीहरू यहाँको प्राकृतिक सुन्दरता, रमणीय वातावरण र प्राचीन सम्पदा देखेर आएका हुन् । र, उनीहरू आफ्नो कार्य सम्पन्न गरेर स्वदेश फर्कन्छन् । खोइ यसलाई संस्थागत गर्न सकेको ? चीन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, हङकङ, मलेसियाजस्ता देशले कति फड्को मारिसके । तर, हामी भने झन् पछाडि धकेलिँदै छौँ । नेपालले विश्वकै नमुना पर्यटकीय विश्वविद्यालय बनाउन सक्छ । मैले यस विषयमा बहस सुरु गरको छु ।

पर्यटन विश्वविद्यालय एउटा कोठाभित्र विद्यार्थी कोचेर, उनीहरूलाई घोकाएर सैद्धान्तिक ज्ञान दिने खालको होइन । फिल्डमा लगेर अनुभव सँगाल्दै सिक्न पाउने खालको हुनुप¥यो । ता कि एउटा पर्यटनसम्बन्धी अध्ययन गर्ने विद्यार्थीले पर्यटकसँग जोडिएका सबै ज्ञान अनुभवद्वारा हासिल गर्न सकोस् । नेपालको विषयमा आँखाले दखेर सिकेका कुरा उसले जहाँसुकै गएर पनि वर्णन र व्याख्या गर्न सकोस् । जसका लागि विश्वविद्यालयभित्र पर्यटकलाई चाहिने सबै विषय र गतिविधि समावेश गरिएको हुनुपर्छ ।

जस्तो इन्डोर आइस क्लाइम्बिङ, स्केटिङ गर्ने ठाउँ, आउटडोर र क्लाइम्बिङ गर्ने ठाउँ, स्की खेल्ने ठाउँ, स्काई फ्लाइङ, हाइकिङ, ट्रेकिङ गाइडजस्ता पर्यटनसँग सम्बन्धित सबै तालिका समावेश गरिनुपर्छ । विश्वविद्यालयमा संसारभरको पर्यटन चल्नुको कारण र पर्यटन गुरुयोजना निर्माणको विषयमा समेत अध्ययन हुनुपर्छ । जसलाई सबै ज्ञान छ उसले न आफ्नो देशको पर्यटनबारे अरूलाई बुझाउन सक्छ । खोइ यसतर्फ हामीले सोचेको ?

अन्त्यमा

यहाँ आर्थिक क्रान्तिको कुरा गरिन्छ । गर्ने आर्थिक क्रान्ति होइन । गर्ने त आर्थिक विकास पो हो । क्रान्ति गर्ने नै हो भने पर्यटन क्रान्ति गरौँ न । अनि आर्थिक विकास कसो नहोला । हामी आफूसँग भएको स्रोत, साधन प्रयोग गर्न नसक्ने । अनि रेमिट्यान्स र ट्याक्स बढाएर क्रान्ति गर्ने सपना देख्ने ! हामीसँग भएका सम्पदाको सदुपयोग र परिचालन गर्दै राज्य संयन्त्र चित्तदत्त भएर पर्यटन विकासमा लागोस् त । नेपाल कहाँबाट कहाँ पुग्छ । नेपालको आन्तरिक पर्यटन राम्रो छैन । नेपालीसँग पैसा छैन । आन्तरिक पर्यटनले पोखराको पैसा काठमाडौं, काठमाडौंको लुम्बिनी, लुम्बिनीको चितवन जाने हो । त्यसैले हामीले फोकस विदेशीलाई नै गर्ने हो । पर्यटनलाई मात्र जोड दिएर अन्य विकासमा सम्भाव्यता बोकेका पूर्वाधारलाई बेवास्ता गर्ने भन्ने होइन । पर्यटनसँगै कृषि र ऊर्जा क्षेत्रको सम्भाव्यता पनि नेपालमा उत्तिकै छ । यी तीन कुरालाई सँगसँगै अघि बढाउँदै लाने हो भने अबको १० वर्षभित्र देशको मुहार फेरिने निश्चित छ । (कृष्ण आचार्यसँग गरेको संवादमा आधारित) 


Facebook Comment