निजी लगानीमा ‘ट्राभल गाइड’

काठमाडौं स् उच्च पर्वतीय क्षेत्र र मुख्य पर्यटकीय प्रयोजनका लागि निजी लगानीमा हिमालयन ट्राभलसम्बन्धी ‘गाइड’ निर्माण भएको छ।

पर्यटकीय क्षेत्रको अध्ययन, अवलोकन र भ्रमण प्रयोग गरी पर्यटकलाई सहज र सस्तो बनाउने उद्देश्यले ‘गाइड’ तयार गरिएको हो ।
यसै वर्षमात्र मकालु र कञ्चनजंघा हिमालको ट्राभल गाइड निर्माण भएको छ । अघिल्ला वर्ष माथिल्लो र तल्लो डोल्पा, माथिल्लो मुस्ताङ, मनास्लु, गणेश हिमाल, लाङटाङ, सगरमाथा, रोल्वालिङ, गौरीशंकर हिमालको ट्राभल गाइड निजी क्षेत्रबाटै प्रकाशनमा ल्याइएको थियो ।

गाइडले हिमालको बेसक्याम्पसम्म पुग्ने र हिमाली क्षेत्रको विषयमा दृश्य, होटेल, क्याम्पिङ, संस्कृति, रीतिरिवाजबारे जानकारी दिने निर्माणमा संलग्न सञ्जीव गुरुङले बताए ।साइयन प्रीतचार्ड जोनस र बाव गिब्बोनसद्वारा संयुक्त रूपमा लेखिएको यो गाइड हिमालयन म्याप हाउस प्रालिले प्रकाशन गरेको हो ।

अन्नपूर्ण हिमालको भने एनड्रेस डी रुइट र प्रेम राईले संयुक्त रूपमा लेखेका हुन् । अनलाइनबाट पर्यटक र पर्यटन कम्पनीले खरिद गर्न पाउने व्यवस्था म्याप हाउसले गरेको छ ।मकालु र कञ्चनजंघा हिमालको गाइड बुक बोचीबोची, ट्रिप हिमालय, एडभेन्चर डिप ब्रेथ ट्रेकिङ एजेन्सीको सहयोगमा बनेको हो ।

 

ट्रेकिङमा टिप्सको जानकारी, स्थान विशेषको विशेषता, नक्सा, बाटोको अवस्था, फोटो, खानाका परिकार, स्थानको विशेषताजस्ता जानकारी समावेश गरेको निर्माणमा संलग्न अविरल राईले बताए । पर्यटन विभागले भने ट्राभल गाइड र पर्यटकका लागि खासै कुनै पनि कार्यक्रम नगरेको जनाएको छ । विभागका अनुसार नेपाल पर्वतारोहण संघ र नेपाल टुर एन्ड ट्राभल एसोसिएसन टान लाई जिम्मा दिएकाले विभागले कुनै काम गर्नु परेन ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले भने संघसँग सहकार्य गरे सहयोग गर्ने बताए । यो प्रविधिको युगमा पर्यटकले कम खर्चमा बढी स्थानको अध्ययन–अवलोकन र भ्रमण गर्न रुचाउने भएकाले संघलेसमेत यसमा थप काम गर्ने लक्ष्य राखेको उनले बताए ।


Facebook Comment


No ads found for this position