यी हुन् चिनियाँ पर्यटक भित्र्याउने यी १७ सूत्र

लक्ष्मी लम्साल

चीनको नेश्चनल टुरिज्म एड्मिनिस्ट्रेसनले वर्षेनी एउटा तथ्यांक सार्वजनिक गर्दछ जसअनुसार चिनियाँ पर्यटक विश्वको पर्यटन अर्थतन्त्रको प्रमुख श्रोत बनेका छन्। चिनियाँ पर्यटकको संख्याले विश्व अर्थतन्त्रको सन्तुलनमा मुख्य भूमिका खेलेको छ।चिनियाँ पर्यटन शक्तिलाई कुनै पनि मूल्यमा नकार्न सकिँदैन। नेपालमा भारतपछि चिनियाँ पर्यटक भित्रिने गर्दछन्। नेपाल सरकारले पनि चिनियाँ पर्यटक भित्र्याउन निःशूल्क भिसा सहित भरमग्दूर प्रयास गरेको पनि देखिन्छ। तर बेलाबेलामा आउने नकारात्मक समाचारबारे पनि सचेत हुनु आवश्यक हुन्छ।

 मुलुक समृद्ध भएसँगै चिनियाँको प्रतिव्यक्ति आम्दानी पनि बढ्दै गएको छ। ठूलो जनसंख्या भएको चीनको धनी पर्यटकको सानो हिस्सा मात्रै नेपाल भित्र्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रले पनि फड्को मार्न सक्छ। यस हेतुले विभिन्न गतिविधि गरेर नेपालले चिनियाँ पर्यटक आकर्षित गर्ने प्रयास पनि गरिरहेको छ। अधिकांश पर्यटन प्रवर्द्धन गतिविधि नेपाल भ्रमणमा जानुहोस् भन्नेमा केन्द्रित छ। तर चिनियाँ पर्यटकका लागि त्यस्ता पूर्वाधार छन् कि छैनन् भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ। त्यसको लागि नेपाल गैसकेका चिनियाँ पर्यटकले के समस्या देखे र के के कुरा भएमा अरु चिनियाँलाई नेपाल घुम्न प्रेरित गर्न सकिन्छ भनेर केलाउँदै रणनीति बनाउने भने धेरै उपलब्धी हासिल गर्न सकिन्छ। केही कुराहरुलाई ध्यान दिँदा चिनियाँ चिनियाँ पर्यटक नेपाल आकर्षित गर्न सकिन्छ।
 १‍.आवास पूर्वाधार– सन् २०१४ को सेप्टेम्बर मध्यतिर माल्दिभ्सको भ्रमणका क्रममा आफ्ना नागरिकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिन फिङ्गले सुझाएः हामीले हाम्रा नागरिकलाई विदेश भ्रमणमा जाँदा सभ्य हुन सिकाउनुपर्नेछ। कम चाउचाउ खानुहोस्, धेरै स्थानीय समुद्री खाना खानुहोस्।  हुन त पश्चिमा पर्यटकहरुले पनि चिनियाँहरुको पर्यटकीय व्यवहारलाई लिएर टिकाटिप्पणी गर्ने गर्दछन्। तर चिनियाँहरुलाई अन्य मुलुकका भन्दा आफ्नै मुलुकमा खाना मन पर्छ। त्यसैले जहाँ पुगेपनि आफ्नो होटलमा खोज्ने केही कुराहरु हुन् – चिनियाँ नूडल्स, मःमः, चिनियाँ प्याकिङ खाना, स्नान र ग्रीन टीका लागि तातो पानी, चिनियाँ टेलिभिजन कार्यक्रम, इन्टरनेट वेभसाइट। त्यसैले चिनियाँमैत्री होटल वा आश्रयस्थलको कमी हुनु भनेको चिनियाँ पर्यटक कम आउनु नै हो।२.मौलिक तथा अन्तर्राष्ट्रिय ब्राण्ड- सन् २०१५ को तथ्यांक हेर्ने हो भने चिनियाँ पर्यटकले त्यस वर्ष १.२ खर्ब आरएमबी अर्थात् १८३ अर्ब डलर शपिङ्गमा खर्च गरेका छन्। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार तीमध्ये अधिकांश विलासिताका सामग्री छन्। आगामी सन् २०२५ सम्ममा चिनियाँ पर्यटकको विदेशमा किनमेलको परिमाण २५५ अर्ब डलर पुग्ने प्रक्षेपण छ। अधिकांश घुम्ने इच्छा हुने चिनियाँहरुले नेपालमा के किन्न पाइन्छ भनेर सोध्ने गर्दछन्। चिनियाँहरु युरोपेली मुलुकमा जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय ब्राण्डेड र नेपाली मौलिकताले भरिएका सपिङ्ग क्षेत्रहरु छन् कि भने सोध्ने गर्दछन्। तसर्थ पर्यटनका हिसावले आवश्यक सुविधासम्पन्न ब्राण्डेड सामग्री वा मौलिकताले पूर्ण नेपाली उत्पादनका केन्द्रहरु हुन पर्यटक आकर्णको एउटा पाटो हो।
 ३.चिनियाँ पथप्रदर्शक- सबैले भनेजस्तै चिनियाँहरु अङ्ग्रेजीमा त्यति अभ्यस्त छैनन्। त्यसैले उनीहरुलाई रमणीय यात्राका लागि आफूजस्तै चिनियाँ बोलिदिने गाइडको आवश्यकता पर्दछ। नेपालका कुनै पनि पर्यटकीय स्थलमा सम्बन्धित भाषामा विवरण भएका सिडी वा अडियो सामग्री कमै मात्रै उपलब्ध हुने भएकाले चिनियाँ गाइड अनिवार्य नै हो।
 ४.सुरक्षा- मुद्रा सटही र सुरक्षा चिनियाँ पर्यटकका लागि निकै महत्वपूर्ण कुरा हुन्। २०१६ को मेमा चिनियाँ प्रहरीले इटालीमा आफ्ना धनाढ्य पर्यटकका लागि दुई हप्तासम्म सुरक्षा गस्ती गरेको थियो। प्रतिवर्ष ३ मिलियन चिनियाँ पर्यटकले इटालीको भ्रमण गर्ने गर्दछन्। चीन सरकारले पनि संसारका कुनै पनि देशमा हिंसात्मक गतिविधि भयो भने सबैभन्दा पहिला आफ्ना नागरिकलाई केही असर पर्‍यो कि भनेर तत्क्षेत्रमा रहेका आफ्ना निकायमार्फत् सूचना लिने गर्दछ। नेपाल आउने चिनियाँ पर्यटकमध्ये केहीले भारतमा जस्तै अनौठा मानिसका व्यवहार, यौन मामिलाका लागि पछ्याउने नियतका, वा माग्नेहरुले झिँजो गराउँछन् कि भनेर खोजिनीति गर्दछन्।
५.मनोरञ्जनात्मक प्रचूरता- व्यापारी वा विद्यार्थी मात्रै हैन, साहसिक खेलमा रुची राख्ने चिनियाँ पर्यटक पनि धेरै हुन्छन्। देशैपिच्छे चिनियाँ पर्यटकलाई मन पर्ने खुराकहरु फरक फरक हुनसक्छन्। तर मनोरञ्जन गर्न निस्केको मान्छेलाई दिक्क लाग्ने अवस्था हुनु कुनै पनि पर्यटकलाई मजाको विषय होइन। मनोरञ्जनात्मक कुराहरु भैकन पनि राम्रोसँग व्यवस्थापन नहुँदा चिनियाँहरु आजित भएको पनि सुनिन्छ। नेपालका सबै जातजातिका कला सँस्कृतिभित्र अनेकन् अनौठा प्रचलनहरु र मनोरञ्जनात्मक कैयौं कुराहरुलाई प्रस्फुटन गर्ने हो भने धेरै उपाय छन्। तिनलाई एकीकृत वा व्यवसायिक रुपमा प्रवर्द्धन गर्न सकेमा पर्यटकका लागि रोचक खुराक बन्न सक्छ।६.आध्यात्मिकता- चिनियाँका विचारमा नेपाल एक आध्यात्मिक मुलुक हो। यहाँ गल्ली गल्लीमा मन्दिर हुन्छन्, गाईबाख्रा चराचुरुङ्गी ओहरदोहर गरिरहेका हुन्छन्। चिनियाँ पर्यटकलाई आकर्षित गर्न नेपालको आध्यात्मिक पाटो निकै प्रभावकारी हुनसक्छ। प्रायः नास्तिक चिनियाँहरु गल्लीपिच्छेका मठमन्दिरमा  भक्तजनले मूर्ति ढोगेको, निधारमा राता टीका लगाएको, मन्दिरहरुमा बाँदरहरु चकचक गरेको, परेवाहरु यत्रतत्र उडेको, मानिस र जनावरबीचमा घुलमिलको अवस्था जीवन्त लागेर लोभिन्छन्।
७.साँस्कृतिक पर्वको पर्यटन– नेपालका साँस्कृतिक पर्वका बेलामा नेपाल घुमेका चिनियाँका नजरका नेपाल एक रङ्गीचङ्गी मुलुक हो। उनीहरुले नेपालीहरुका परम्परागत कुराहरुलाई निकै चासो दिएर हेरेको, मानिस गरीब भएपनि हाँसीखुशी बाँचेको, अभावमा पनि बाँडीचुँडी खाएको अनुभव गरेका छन्। दशैं तिहार, फागू, रोपाइँ, वा अन्य चाडवाडको बेलामा नेपाल पुगेर ती चाडवाडसँग साक्षात्कार हुन पुगेका चिनियाँले त्यो मौसम पारेर नेपाल जान सुझाउने गरेका छन्। भन्ने नै भने नेपालमा वर्षैभरि पुग्ने चाडवाड छन्, कुनै न कुनै चाडवाडमा साक्षात्कार गराउन सकियो वा सानातिना पर्वलाई पनि पर्यटकीय हिसावले विशेषतायुक्त बनाउन सकियो भने फरक प्रभाव पर्नेछ।
८.साइनो-नेपाल साँस्कृतिक मिश्रण- चिनियाँहरुका लागि एशियाली मुलुकमा जानु तुलनात्मक रुपमा आत्मीयता नै हो। त्यसबाहेक फरक मुलुकमा घुम्न जानु नितान्त नयाँ अनुभव पनि हो। एक त चिनियाँ भाषा सर्वसुलभ छैन, त्यसैले उनीहरु आम मानिससँग घुलमिल हुन सक्दैनन्। दोश्रो, उनीहरुलाई अन्य देशका मानिसको गतिविधि, हाउभाउ कत्तिको व्यवहारिक हो भन्ने कुरा ठम्याउन सजिलो छैन। संसारभरि नै चिनियाँ सँस्कृतिको दवदवा छ। जहाँ पुगे पनि चिनियाँलाई सो मुलुकमा अपनत्वको भावना जगाउनका लागि मिश्रित सँस्कृतिले ठूलो भूमिका निर्वाह गरेको देखिन्छ। चिनियाँहरु मलेसिया, दक्षिण कोरिया, जापान जानका लागि कुनै अफ्ठेरो मान्दैनन् किनकि त्यहाँ उनीहरुलाई नजिक्याउने साँस्कृतिक परम्पराहरुको समिश्रण पाइन्छ।
९.स्तरीय पर्यटकीय गन्तव्य– विश्व सम्पदामा सूचीकृत नेपाली सम्पदाहरु जे जति छन्, तिनीहरुलाई पर्यटनमैत्री तथा भव्य बनाउनु जरुरी छ। एकपटक चिनियाँ भूमिमा पर्यटन गरेको नेपाली व्यवसायी वा पर्यटकलाई ज्ञात हुनुपर्छ कि चिनियाँ कुनै पनि गन्तव्यस्थलहरु भरपर्दा संरचनाद्वारा सिंगारिएको हुन्छ। सफा सुग्घर, शौचालयदेखि फुटपाथ पसल, सुरक्षा व्यवस्था र सरसफाइकर्मीहरु, उद्धारकर्तादेखि सबै किसिमका सेवा उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गरिएको हुन्छ। कहालीलाग्दा सुरुङ्ग गुफाभित्र समेत विद्युतीय लिफ्ट देखि, विजुली बत्ती, पदमार्ग, सूचना बोर्डहरु सबै कुराको उचित बन्दोबस्ती हुन्छ। त्यसबाट पर्यटकलाई घुम्न कुनै चिन्ता लिनुपर्दैन। के के न होला भनेर शूल्क तिरेर भित्र छिरेपछि केही पाउन सकिएन भने यात्रा वास्तवमै खल्लो हुने नै भयो।१०. शान्त, सभ्य, शिष्ट व्यवहार – हुन त एकाध व्यक्तिले सिङ्गो मुलुकको प्रतिनिधित्व गर्न सक्दैनन् तर पनि केही व्यक्तिले गरेको नराम्रो कामलाई लिएर सो मुलुकप्रति नै नकारात्मक धारणा बनेको हुन्छ। अहिले सूचना प्रविधिको जमाना छ। राम्रो नराम्रो जे हुन्छ मानिसले सञ्जालमा पोख्छ,अर्को मानिसको सर्चमा आउने वित्तिकै सम्बन्धित गन्तव्यप्रतिको दृष्टिकोण बन्छ। धेरै चिनियाँहरु अफ्रिकी मुलुकहरु जहाँ आईएसआईको त्रासदी भैरहेको हुन्छ, जान डराउँछन्। कति चिनियाँहरु भारतमा हुने बलात्कारका घटना सुनिने गर्दा भारत जान अन्कनाउँछन्। नेपालीहरु गरीब भएपनि अतिथि देवो भवःको भावना राख्दछन् भन्ने सुनेर नेपाल जान्छन्। पर्यटन क्षेत्रमा सँलग्न मानिसहरुले यस्तो सम्पतिलाई जगाइराख्नुपर्छ।
११. पर्यावरणमैत्री पर्यटन- नेपालका केही पुराना तस्वीर हेरेर चिनियाँहरु जताततै नीलो आकाश र स्वच्छ हावा रहेछ भनेर तारिफ गर्छन्। २०१५ मा भारतीय अभिनेता अक्षयकुमारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको दृश्य बेबी चलचित्रमा राख्दा नेपालले सफलतापूर्वक सेन्सर त गर्‍यो तर विमानस्थलमा उदाङ्गिएको लाज छोप्न कुनै पनि सुधार गरिएको छैन। जुन विमानस्थलमा ओर्लिने बित्तिकै आम पर्यटकप्रति नेपालप्रतिको सबै प्रभाव एकैछिनमा छिन्नभिन्न पार्ने हुनसक्छ। त्यति मात्रै नभएर काठमाडौं संसारका प्रदूषित सहरको सूचीमा पर्छ जुन एकैचोटीमा सैयौं पर्यटक भड्काउने कारक बन्न सक्छ। नेपालमा व्यवस्थापन कमजोर हुन्छ, कुनै दिन कर्मचारीहरुलाई केही कुरामा चित्त बुझेन भने फोहर उठ्दैन, त्यो केही घण्टाको विषय हैन, कैयौं दिनसम्म असरल्ल हुन्छ। पेट्रोलियममा हुने मिश्रणले गाडीहरुबाट निस्किने धुँवा र सवारी चलाउनेहरुको कमजोर शिष्टाचारले पनि उस्तै अत्यास लगाउँछ। चिनियाँहरु आफ्नो मुलुकमा प्रदूषण भएकाले नीलो आकाश र स्वच्छ हावाको बखान सुनेर आउँछन् त्यसैले देखिने रुपमा उडेको धुँवाधुलो र फोहरमैलाबाट मुक्त गर्नु आवश्यक छ।  १२.फरक पहिचानका पर्यटकीय गन्तव्य – भन्ने नै हो भने आम चिनियाँका मनमा नेपाल पनि भारतजस्तै हो। नेपालमा बुद्धत्वको शान्ति मिल्छ, भारतमा मिल्दैन? नेपालमा पर्यटकलाई देउता ठानिन्छ, भारतमा ठानिँदैन र? कतिपय पर्यटक भारत जान्छन् र त्यहीबाट लुम्बिनी पुग्छन्।सगरमाथालाई परैबाट हेर्न तिब्बत नै काफी छ। त्यसो भने नेपाल किन जाने? के हेर्न जाने? पोखराजस्तो ताल अन्य देशमा नहोला? हात्ती त थाइल्याण्डमा पनि चढ्न पाइन्छ। तैपनि यो एउटा सानो देशमा अनेकन दुःख झमेला व्यहोरेर के खान जाने? त्यसैले नेपालले फरक ढंगबाट प्रचार गर्नुपर्छ। हरेक कुराहरु छिमेकी भारतसँग मिल्दाजुल्दा छन्, उनीहरुभन्दा पृथक बन्न सक्नुपर्‍यो। नयाँ कुरालाई प्रवर्द्धन गर्नुपर्‍यो। नेपालका पर्यटकीय स्थलहरुलाई गरिमामय बनाउनुपर्‍यो, सस्तो बनाउन भएन।
१३.पर्यटकीय स्थलको सजावट- चीनमा जे कुरापनि आलिशान, भव्य र वैभवशाली बनाइएका हुन्छन्। यहाँ सबैभन्दा ठूला, सबैभन्दा अग्ला, सबैभन्दा गहिरा, सबैभन्दा अचम्म लाग्दा, सबैभन्दा कलात्मक भएकाले कैयौं सम्पदा युनेस्कोको सूचीमा छन्। चिनियाँहरु आफ्ना ती सम्पदा देखेभोगेका भएका हुनाले नेपालमा त्यस्ता आश्चर्यलाग्दा विषय शायदै होलान्। भएका पनि व्यवस्थित शायदै होलान्। पर्यटकलाई चौघेरामा बार लगाएर घुमाउने पक्कै पनि होइन। अतः पर्यटकीय स्थललाई कसरी सजाउन सकिन्छ,कसरी बहुआयामिक बनाउन सकिन्छ, कसरी पर्यटकका मनमा एक अर्थपूर्ण भ्रमण थियो भन्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ। फेवातालमा जलकुम्भी झार उम्रिएको हुन्छ, समाचार बन्छ, विदेशीले उक्काउनुपर्छ। अनेकन् स्थलमा झिना मसिना देखि लिएर प्रस्टै देखिने लज्जाजनक कुराहरु छन्, त्यस्ता लज्जा छोप्न लागि सम्बन्धित र असम्बन्धित सबैले योगदान गर्नुपर्छ।
१४.यातायातको सुरक्षा- नेपालमा सर्वाधिक यातायातका दुर्घटनाका खबरहरु चिनियाँ मिडियामा पनि आउने गर्दछन्। किनकि मानवीय क्षतिसँग जोडिएका कुराहरुलाई संसारमा जहाँ पनि महत्व त दिइने नै भयो। दुर्घटनाका नेपाली समाचारहरु पनि चिनियाँ मिडियामा छाउँछन्। प्रायः समाचारको अन्त्यमा लेखिएको हुन्छ-नेपालको कमजोर सडक पूर्वाधारका कारण वर्षेनी यस्ता दुर्घटनाबाट सैयौं यात्रुको ज्यान जाने गर्छ। यति समाचार नै सारा चिनियाँ पर्यटकका लागि काफी हुन्छ। सडक कमजोर हुनुले संत्रास थप्छ भने नेपालको हवाई यातायात पनि सुरक्षित छैन भन्ने सन्देश फैलिएको छ। पर्यटक भित्र्याउने यातायात सेवालाई सुरक्षित बनाउनु अर्को प्राथमिकता हो।
१५.बन्द, हड्ताल, प्रदर्शनी- नेपालका सरकारहरुले जहिले पनि अनेकन मागहरुको सामना गर्नुपरेको हुन्छ। गरिबी, अभाव, निराशा, असुरक्षा, हतोत्साह आदिका कारण जनस्तरमा प्रत्येक पटक असन्तुष्टी बढिरहेको हुन्छ भने राजनीतिक दलहरुको एउटा न एउटा मुद्धा हुन्छ, जनताको मन जित्नका लागि उनीहरु पनि बन्द हड्ताल गरेर सरकारलाई झुकाउने यत्न गर्दछन्। यस्ता अवस्थाहरु बारम्बार आईरहन्छन्। हुन त प्रतिवद्धता गर्दैमा कुनै पनि राजनीतिक दलले बन्द हड्ताल गर्न छोड्दोरहेनछ। त्यसैले अर्को एउटा प्रतिवद्धता गर्नुपर्छ कि पर्यटकलाई देउता समान मानेर कस्तै परिस्थितिमा पनि सम्मान गरिनेछ। बन्दकर्ताको उपद्रोका कारण देशको इज्जतमा पनि धब्बा लाग्नसक्ने भएकाले पर्यटकमाथि हुने दुर्व्यवहार, उनीहरुको समय तालिकामाथि गरिने असर र क्षतिपूर्तिको भागीदार बन्दकर्ता आफैं हुनुपर्छ। कम्तीमा बाह्य पर्यटकमाथि हुने दुर्व्यवहार र उनीहरुप्रतिको असुरक्षा भावना हटाउन पनि सरकारले उनीहरुलाई भरपर्दो सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।

१६.अनावश्यक भीडभाड– हुन त मानिसलाई मानिसकै बीचमा रमाइलो लाग्छ। तर मानिसहरु सभ्य वा इमान्दार भैदिए मात्रै हो। पर्यटकीय क्षेत्र ठमेल जसरी विदेशी पर्यटकहरुको जमघटस्थल हो त्यसैगरी असुरक्षाले भरिएको ठाउँ पनि हो। भौतिक संरचना बाक्लो तर कमजोर, बाटो गल्लीहरु साना साना तर ट्याक्सी मोटरसाइकलको हर्न, ठेलमठेल तनाव, व्यापारी, छाडा कुकुर, साइकल, मोटरसाइकल, ठेलगाडा, ट्राफिक नियमविपरीत चलिरहेका सवारी साधन हेर्दा त्यो जस्तो विजोग अर्को देखिन्न। कम्तीमा एउटा पद्धति बसाल्ने हो भने पर्यटकीय क्षेत्रभित्र भीड कम गर्ने र आरामले घुम्न पाउने वातावरण बनाउन सकिन्छ।

फिलिपिन्स, भियतनाम, क्यानडा, अस्ट्रेलिया, अमेरिका, मलेसिया, जापान, दक्षिण कोरिया आदि मुलुक चिनियाँ पर्यटकका लागि किन प्रमुख गन्तव्य बने भन्ने कुराको विश्लेषण गरेमा पनि पत्ता लगाउन सकिन्छ। त्यहाँ भएका आवास पूर्वाधार, शान्ति सुरक्षा, पर्यटकीय स्थलको महिमा, साँस्कृतिक रुझान, मनोरञ्जनात्मक प्रचूरता आदि के के थियो भन्ने कुराको अन्वेषण गर्ने हो भने पनि नेपाली पर्यटन क्षेत्रलाई कसरी गहन पार्न सकिन्छ भनेर मेसो पाउन सकिन्छ। खानेकुरा, बस्ने कुरा, रमाउने कुरा, किन्ने कुरा, हेर्ने कुरा, श्वासप्रस्वास गर्ने कुरा,निर्धक्क हिँड्नसक्ने कुरा, मनोभावलाई बदल्न सक्ने र ताजगी दिनसक्ने कुरा नै व्यस्त चिनियाँको जीवनलाई राहत दिने खुराक बन्न सक्छ भन्नेतर्फ सचेत हुनुपर्छ।  त्यसो त चिनियाँ पर्यटक आकर्षित गर्न उनीहरुले भनेभने जस्तो सबै संरचना पुर्‍याउन नसकिएला। तर पनि उनीहरु नै विश्वको आर्थिक पर्यटनका खम्बा बन्न थालेका बेलामा केही न्यूनतम् कुराहरुलाई परिपूर्ति गर्न सकेमा नेपालको समृद्धिमा टेवा पुग्ने थियो।

 १७. सिधा हवाई उडान र पर्यटन प्याकेजः नेपाल चीनदेखि धेरै टाढा छैन तर राजधानी बेइजिङ साङ्घाई लगायतका स्थानबाट पर्यटकलाई नेपालसम्म पुग्न झण्झटिलो हुने गरेको छ। खर्चालु पर्यटक भित्र्याउनका लागि यी क्षेत्रतर्फ सीधा हवाई सेवा सञ्चालन गरिनुपर्छ। त्यसका अलावा चिनियाँहरुले विदेश भ्रमण गर्दा विदाको मौका छोप्नुपर्ने हुन्छ। त्यसैले फेब्रुअरी आसपास पर्ने वसन्त पर्व, अक्टोबरमा पर्ने राष्ट्रिय दिवस, मजदुर दिवस, अङ्ग्रेजी नयाँ वर्ष, छिङमिङ च्ये, त्वान उ च्ये, मध्य शरद पर्व लगायतका चिनियाँ विदा लक्षित सुविधा र प्याकेज बनाउनु श्रेयस्कर हुन्छ।


Facebook Comment