आइफोनका एक दशक

रन्जनहरि कोइराला

काठमाडौः स्टिभ जब्सले दश वर्षअघि पहिलो आइफोन सार्वजनिक गरेका थिए । क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा सन् २००७ जनवरी ९ का दिन पहिलो पटक सार्वजनिक गरिएको आइफोनले यति ठूलो बजार लेला भनेर कसैले पनि सोचेका थिएनन् ।दश वर्षयता आइफोनले सञ्चार प्रविधिमा क्रान्ती नै ल्याइदिएको छ । त्यस समयमा सार्वजनिक गरिएको साधारण मोडेलको आइफोन सामान्य फोन थिएन । आइफोनले हामीलाई हेर्ने तरिका, सोच्ने तरिका, कामगर्ने तरिका, सुत्ने र जीवन जिउने तरिकामा नै परिर्वतन ल्याइदिएको छ ।

क्यामरा, नक्सा, बुक, डिक्स्नेरी, ल्यापटपका साथै अन्य भौतिक वस्तु बोकेर हिड्ने प्रचलनको अन्त्य नै गरिदिएको छ । त्यसैले त आइफोन विश्वको एउटा ठूलो इन्डस्ट्रीका रूपमा स्थापित भएको छ ।

हत्केलामा अटाउने सानो डिभाइसले आज संसारलाई जोडेको छ । यसले सामाजिक सञ्जालसँग जोडिन, फोटो खिचेर इन्स्टाग्राममा अपलोड गर्न, लेख तथा रचना र सूचनाका बारेमा थाहापाउने बनाएको छ । ल्यापटप र कम्प्युटरमा हुने काम पाल्मटपमा हुने भएको छ । दश वर्षको अन्तरालमा आइफोनमा आएको परिवर्तनले एप्पल कम्पनीलाई नै कायापलट गरिदिएको छ ।

सार्वजनिक भएदेखि आजसम्म एप्पलले विश्वभर करोडौंको संख्यामा आइफोन बिक्री गरिसकेको छ । अहिले कम्पनीको आधाभन्दा बढी आम्दानी पनि आइफोन बिक्रीबाटै आउने गरेको छ । बजार पुँजीकरणका हिसाबमा एप्पललाई आइफोनले विश्वको सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित गरिदिएको छ ।

आइफोनले एप्पल कम्पनीलाई मात्र नभएर आफूमा पनि परिर्वतन ल्याएको छ । दशवर्षको अन्तरालमा कम्पनीले १५ मोडेलका आइफोन निर्माण गरिसकेको छ । ‘सानो स्क्रिन नै पर्याप्त छ’ भन्ने स्टिभ जब्सको मुल मन्त्रबाट सुरु भएको आइफोन ३.३ इन्चबाट सुरु भएर आज ५.५ इन्चको स्क्रिनमा पुगेको छ । दुई मेगापिक्सेल क्यामाराबाट सुरु भएको आइफोनमा अहिले १२ मेगापिक्सेलको मुख्य र सात मेगापिक्सेलको सेल्फी क्यामरा प्रयोग भइसकेको छ ।

चार र आठ जीबी स्टोरेज क्षमताका साथ निर्माण गरिएको आइफोनको पछिल्लो मोडेल आइफोन सेभेन प्लससम्म आइपुग्दा ३२, १२८, र २५६ जीबी गरी तीन फरक स्टोरेज क्षमतामा आइसकेको छ । सेतो रङमामात्र सीमित आइफोन अहिले विभिन्न रङमा बजारमा आएका छन् ।

कम्पनीको पहिलो प्रोडक्ट आइफोनबाट आइफोन थ्री जीमा पुग्दा कम्पनीले जीपीएस र थ्री जी डाटा सेवालाई नयाँ फिचरका रूपमा भित्र्याएको थियो । नयाँ फिचर भित्र्याउने क्रममै कम्पनीले सन् २००९ मा सार्वजनिक गरेको आइफोन थ्री जी एसमा भिडियो रेकडिङ र भ्वाइस कन्ट्रोल सेवा ल्याएको थियो ।

आइफोन थ्रीजी एस सार्वजनिक गरेको एक वर्षपछि कम्पनीले आइफोन फोर ल्याएको र त्यसमा पहिलो पटक फ्रन्ट क्यामरा (सेल्फी क्यामरा) सुरु भएको थियो । साथै आइफोन फोरमार्फत कम्पनीले रेटिना डिस्प्ले पनि भित्र्याएको हो ।

आइफोन फोर एसमा कम्पनीले १०८० पी भिडियो रेकडिङ, सिमकार्ड स्लट र आइक्लाउड कनेक्टिभिटी जस्ता नयाँ प्रविधिलाई समावेस गरेको थियो । आइफोन फाइभलाई कम्पनीले एलटीई (फोर जी) सपोर्ट गर्ने फोनका रूपमा निर्माण गर्‍यो । सन् २०१३ मा आएर आइफोन फाइभ एस सार्वजनिक गर्दासम्म कम्पनीले फोनमा ठूलो परिवर्तन ल्याइसकेको थियो । कम्पनीले आइफोन फाइभ एसलाई गोल्डेन कलरमा पनि सार्वजनिक गरेको हो ।

गोल्डेन कलरको आइफोन विश्वमा अहिले सबैभन्दा बढी बिक्री हुने गरेको छ । फाइभ एसमा कम्पनीले टच आईडी फिंगरप्रिन्ट प्रयोगमा ल्याएको थियो । सन् २०१३ मा कम्पनीले आइफोनको सस्तो मोडेलका रूपमा प्लास्टिक बडीको आइफोन फाइभ सी पनि सार्वजनिक गरेको थियो । आइफोन सिक्स र सिक्स प्लस एकै समयमा सार्वजनिक गरेको कम्पनीले यी मोडेलका फोनमा स्क्रिनको साइज भने बढाएको छ ।

५.५ इन्चसम्मको स्क्रिनमा भित्रिएका आइफोन सिक्स र सिक्स प्लसमा कम्पनीले एप्पल प्ले डिजिटल वालेट, रेटिना एचडी डिस्प्ले, अप्टिकल इमेज स्ट्याबिलाइजेसन जस्ता प्रविधि समावेस गरेको छ ।
सन् २०१५ मा कम्पनीले आइफोन सिक्सएस र सिक्सएस प्लस सार्वजनिक गरेको हो । यसमा कम्पनीले लाइभ फोटो फिचर र फोर के भिडियो थप गरेको छ ।

आइफोन फाइभ एसलाई प्रतिस्थापन गर्दै कम्पनीले भारतलगायत एसियाका बजारलाई लक्षित गरेर सन् २०१६ मा आइफोन एसई सार्वजनिक गर्‍यो । आइफोनको पछिल्लो मोडेलका रूपमा सार्वजनिक भएको आइफोन सेभने र सेभेन प्लसमार्फत कम्पनीले हेडफोन ज्याक नै विस्थापित गरिदिएको छ । कम्पनीले फोनलाई पानी तथा धुलो प्रतिरोधात्मक बनाएको छ भने पहिलो पटक एउटै फोनमा दुई वटा मुख्य क्यामरा पनि समोवेस गरेको छ ।

यसरी आइफोनबाट आइफोन सेभेन प्लससम्म आइपुग्दा कम्पनीले आइफोनलाई पूर्ण रूपमा परिर्वतन गरेको छ । पहिलो पटक ४६ एमएम मोटाइमा सार्वजनिक भएको आइफोन आइफोन सेभेन प्लससम्म आइपुग्दा घटेर २९ एमएम पुगेको छ भने प्रोसेसरको गति पहिलेकोभन्दा आइफोन सेभेन प्लसमा एक सय २० गुणाले छिटो छ ।

प्रविधिका साथै आइफोनको बजार पनि त्यही अनुरूप बढिरहेको छ । आइफोनको बजार अहिले सामसुङपछि दोस्रो स्थानमा छ । आइफोन सार्वजनिक भएको पहिलो ७४ दिनमा १० लाख सेट बिक्री गरेको कम्पनीले सन् २००७ बाट अहिलेसम्म एक अर्ब तीन करोड आइफोनका सेट बिक्री गरिसकेको छ ।


Facebook Comment


No ads found for this position