यसकारण उपत्यकाको जमिन भासिने खतरा :विज्ञहरू

वीरेन्द्र ओली

काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ ।

मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । त्यस्तै, पेप्सीकोलामा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ । यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन् । उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए । ‘जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वातह खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो’ उनले भने ।

भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ । काठमाडौ उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि  समस्या बढेको हो । पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ । तर, पानी तान्ने क्रम बढिरहेको छ । ‘काठमाडौ उपत्यकामा वार्षिक एक हजार ५ सय मिलिमिटर वर्षा हुन्छ, आकाशको पानी रिचार्ज भई जमिन जाने हो’ श्रेष्ठले भने । विज्ञहरुका अनुसार उपत्यकाबाट हरेक वर्ष ७० लाख घनमिटर पानी साना ठुला ट्यूवबेल, इनारबाट तान्ने गरिएको छ ।

कुन कुन क्षेत्रमा कति घट्यो पानीको सतह

भुमीगत जलस्रोत विकास समितिले पानीको सतह मापन गर्न  उपत्यकाभर ३० वटा डिप ट्यूववेल राखेको छ । जसअनुसार ०५८ देखि ०७१ सालसम्म चार स्थानको पानीको सतह मापन गरेको छ । विज्ञहरुका अनुसार बाग्मती नदिको दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ । सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा टोखा, बुढानिल्कण्ठ, सुन्दरीजल, गोकर्ण, बासबारी, धोविखोली क्षेत्र, साँखु, चोभार र फर्पिङ हुन् । यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ ।

उपत्यकाको पानीको अवस्था कस्तो  छ ?

उपत्यकामा जमिन  सतहका खोलाको पानी प्रदुषित छ । तर इनार र साना ट्यूवेलबाट निकाल्ने पानी प्रदुषित मानिन्छ । तर जमिनमुनीबाट डिप ट्यूववेलले निकालेको पानी अरु भन्दा स्वच्छ मानिन्छ ।  डिप ट्वुव वेलबाट निकालिने पानीमा आईरन र नाईट्राईड जस्ता तत्व पाइने र  प्रशोधन गरेमा खान पनि सकिने छ ।

उपत्यकमा ६८४ ट्युबवेल

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाँच वर्षअघिको तथ्यांकअनुसार उपत्यकामा ६ सय ८४ डिप ट्युबवेल छन् । त्यसबाहेक पनि इनार र ट्युबवेल रहेका छन् । साना ट्युबवेल, इनार जडानको केयुकेएलसँग तथ्यांक नै छैन ।

कसरी घटाउने असन्तुलन ?

पानी घट्दै गए पनि सरकारी निकायले जमिनमुनि पानी रिचार्ज गर्न कुनै योजना अघि बढाएका छैनन् । सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा कृत्रिम पानी पठाउनुपर्ने हाइड्रोजिओलोजिस्ट सुरेन्द्रराज श्रेष्ठको भनाइ छ । ‘कृत्रिम रूपमा जमिनमुनि पानी रिचार्ज गर्न पोखरी बनाउनुपर्छ । ठूला खालका डिप ट्युबवेलको अनुमति दिन बन्द गर्नुपर्छ’ श्रेष्ठको सुझाब छ, ‘आफ्नो घर बनाउँदा जमिनमुनि पानी रिचार्ज हुने गरी बनाउनुपर्छ ।’साभार नयाँ पत्रिका


Facebook Comment