संघीयताको विपक्षमा विप्लव माओवादी

रामकृष्ण अधिकारी

काठमाडौं, ३ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) नेपालमा अहिले प्रयोग हुन खोजिरहेको संघीयताको विपक्षमा देखिएको छ । उसले अहिलेको संघीयतासम्बन्धी बहसको जनताका लागि कुनै अर्थ नभएको पार्टी महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा उल्लेख गरेको छ । पार्टीको आगामी १ देखि ७ फागुनसम्म हुन लागेको आठौँ महाधिवशेनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा विप्लवले संघीयताको बहस अर्थहीन रहेको उल्लेख गरेका छन् ।

केन्द्रीय समिति बैठकबाट अनुमोदनगरी पार्टीका क्षेत्रीय ब्युरोस्तरका नेताहरूका बीचमा अध्ययनका लागि वितरित दस्ताबेजमा त्यसको प्रस्ट व्याख्या गरिएको छ । ‘नेपालमा केही शक्तिले गणतन्त्रमा संघीयता भयो भने जातीय मुक्ति हुन्छ त्यसैले केही भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाइ राख्ने गरेका छन्, कोही सत्ता एकात्मक भए पनि जनवादी भए पुग्छ भन्ने सोचाइ राख्ने गर्छन् ।

हाम्रो विचारमा यी दुवै दृष्टिकोण गलत छन्,’ विप्लवको दस्ताबेजमा भनिएको छ, ‘केही जिल्ला वा भूगोल थपघट भए पुग्छ भन्ने सोचाइ जनताका लागि उत्पीडनबाट मुक्तिको दृष्टिकोण होइन । काठमाडौंको दलाल पुँजीवादी सत्ताले शासन गर्नुका साटो मधेसको दलाल पुँजीपति वर्गले शासन गर्न पाउनुपर्छ भने मात्र हुन्छ । यो जनताका लागि कुनै अर्थको छैन ।

यो त कालेको ठाउँमा गोरेले शासन गर्नेजस्तो मात्र हुन्छ ।’उनले जनवादी गणतन्त्र वा वैज्ञानिक समाजवादभित्र उत्पीडित जातिको स्वशासनको सुनिश्चितता आवश्यक रहेको व्याख्या गरेका छन् । ‘स्वशासनसहितको नयाँ जनवाद र वैज्ञानिक समाजवादले मात्र वर्गीय र जातीय मुक्ति सुनिश्चित गर्न सक्छ र नेपाल वास्तविक जनताको नेपालमा रूपान्तरित हुनेछ,’ विप्लवले भनेका छन् ।

नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी

शान्ति प्रक्रियापछि नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी हुदै गएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) को निष्कर्ष छ । पार्टी पंक्तिभित्र आन्तरिक रूपमा अध्ययनका लागि वितरित विप्लवको गोप्य दस्ताबेजमा भारत अहिले सत्ता र विद्रोह दुवैमा अनौठो चालका रूपमा देखा परेको उल्लेख छ ।

सरकार गिराउने/बनाउने कामको नेतृत्वदायी भूमिकादेखि सरकारलाई अप्ठ्यारो पार्ने संघर्षसमेतमा भारतकै मुख्य हात देखिएको विप्लवले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् । नयाँ पत्रिकालाई प्राप्त विप्लवको गोप्य दस्ताबेजमा भनिएको छ, ‘विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि हालै केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ ।

स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कैयौँ क्षेत्रीय पार्टीहरूलाई समेत भारतले नै बोकेर हिँडिरहेको छ । सत्तामा पनि आफँै, विद्रोहमा पनि आफैँको अनौठो चाल भारतले चालिरहेको छ ।’

पार्टी नाम नेकपा मात्र राख्ने प्रस्ताव

विप्लवले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने प्रस्ताव पनि पार्टी महाधिवशेनमा गर्दै छन् । उनले तयार पारेको राजनीतिक प्रस्तावमै त्यस्तो उल्लेख छ । नेपालका कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा नेकपाको पछाडि विभिन्न विशेषण लगाउने गरेकोमा अब त्यसको साटो कम्युनिस्ट पार्टी मात्र राख्नु उपयुक्त हुने प्रस्ताव पनि विप्लवले आफनो दस्ताबेजमार्फत गरेका छन् ।

‘नेपालको सन्दर्भबाट हेर्दा प्रायः सबै कम्युनिस्ट पार्टीहरूका पछाडि कुनै न कुनै उपनामहरू जोडिएको स्थिति छ । कम्युनिस्ट पार्टीको नामले मात्र संगठित र सञ्चालित पार्टी खासै छैन,’ दस्ताबेजमा अगाडि भनिएको छ, ‘यसरी सबै पाटाबाट हेर्दा हामीले पार्टीको नाम कम्युनिस्ट पार्टी मात्र राख्दा वस्तुवादी त हुन्छ नै, सँगै सहज, सरल र सजीव पनि हुनेछ । तसर्थ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्नु उपयुक्त हुनेछ ।’

एकीकृत जनक्रान्तिको कार्यदिशा

८ मंसिर २०७१ मा मोहन वैद्य (किरण)को पार्टीसँग सम्बन्ध विच्छेद गरी आफ्नै नेतृत्वमा पार्टी गठन गरेका विप्लवले एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा क्रान्ति अगाडि बढाउनुपर्ने कार्यदिशा अगाडि सार्दै आएका छन् । नेपालको क्रान्ति सफल हुन नसक्नुमा नेतृत्वको विचलन र वस्तुगत परिस्थितिमा आएको परिवर्तन र विकास मूल कारण रहेको बताउँदै विप्लव माओवादीले विगतको निरन्तरता, क्रान्तिबाट भागेर भौँतारिएकाहरूबाट अबको क्रान्ति सम्भव नहुने उल्लेख गरेका छन् ।

उनले नेपालमा नयाँ ढंगको क्रान्तिका लागि केही मौलिकता, केही नयाँको विकास र केही क्रान्तिकारी साहसबाट मात्र सम्भव हुने र त्यसैको प्रयोग आफ्नो पार्टीले गरिरहेकोमा जोड दिएका छन् । उनले नगर–समाजको विकास, नयाँ श्रमिक वर्गको विकास, विज्ञान र प्रविधिको विकास, मिश्रित बसोबास, देशभक्त शक्तिको उपस्थिति, भूूपरिवेष्टित देश र दलाल पुँजीवादी चरित्रलाई संश्लेषण गरेर कार्यदिशा अगाडि बढ्ने उल्लेख गरेका छन् ।

कांग्रेस भारत र अमेरिकातिर, ओली चीनतिर

विप्लवले माओवादी केन्द्रसँग सत्ता साझेदारी गरिरहेको नेपाली कांग्रेस भारत र अमेरिकातिर ढल्किएको आरोप लगाएका छन् । त्यस्तै, एमाले अध्यक्ष ओलीलाई चीनतिर ढल्किएको आरोप लगाएका छन् । तर, एमालेभित्रकै माधव नेपाल समूहलाई भने उनले भारततिरै ढल्किएको उल्लेख गरेका छन् । ‘कांग्रेस भारत र अमेरिकातिर ढल्किएको छ भने एमालेभित्रको केपी समूह चीनतिर ढल्किएको छ । एमालेकै अर्काे समूह भारततिर टाँसिन खोज्दै छ ।’ विप्लवको दस्ताबेजमा उल्लेख छ । साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position