फोटोबाटै सगरमाथा चढेको अनुभूति

छेटु शेर्पा

काठमाडौं: विश्वकै अग्लो शिखर सगरमाथा (८,८४८ मि) ३६० डिग्रीबाट हेर्न पाइने भएको छ । सगरमाथा नदेखेका र नपुगेकाले फोटोबाटै आधारशिविरदेखि चुचुरोसम्म प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।

पाँचौंपटक सगरमाथा आरोहण गरेका लाक्पा रिन्जी शेर्पाले पाँच हजार पाँच सय मिटरको बेसक्याम्पदेखि प्रत्येक ६ सेकेन्ड फरकमा फोटो कैद गरी चुचुरोसम्मको सगरमाथा हेर्न पाउने व्यवस्था गरेका हुन् । सगरमाथाको मुख्यमुख्य स्थल सात हजार एक सयको क्याम्प एक, खुम्बु आइसफल, क्याम्प दुई, वेस्कम भ्याली, क्याम्प तीन, एल्लो वेल्ड, जेनेभा स्फुर, साउथकोल, बालकोनी, साउथ समिट, हिलारी स्टेप र समिटसम्मको विस्तृत फोटो समावेश गरी ३६० डिग्रीमा फोटो तयार गरी उनले एप्स बनाएका हुन् ।

पर्वतीय प्रशिक्षक एवं अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शकसमेत रहेका शेर्पाले हिमाल आरोहण नगर्नेका लागि प्रत्यक्ष दृश्य हेर्न पाउने र आरोहण गर्नेका लागिसमेत पूर्वतयारी गर्न सहयोग पुगोस् भनेर ‘माम्मुट’ नामको एप्स निर्माण गरी सर्वसाधारणका लागि उपलब्ध गराएको बताए । सगरमाथालाई थप विश्वव्यापी बनाउने र सीमित व्यक्तिका लागिमात्र नभएर सबैको पहुँचमा पुर्‍याउन यो फोटोले सहयोग पुर्‍याउने लक्ष्य शेर्पाको छ । भीआर भर्चुअल रियालिटी ग्लास (लेन्स) बाट प्रस्ट रूपमा सगरमाथा चढेको अनुभूति दिने उनले बताए ।

१९९८ देखि पर्वतमा काम गर्दै आएका शेर्पा २००९ देखि अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक र पर्वतीय प्रशिक्षक बनेका हुन् । आफ्नो अनुभव समेटेर एप्स विश्वमै पहिलोपटक २०१६ मा निर्माण गरेको दाबी उनले गरे । क्यानोनको ६ क्यू गोब्रो मोडलको क्यामराले फोटोलाई ३६० डिग्रीमा कैद गरेको छ ।


Facebook Comment


No ads found for this position