सुत्दा नेपालतिरै थियौं , उठ्दा त भारतमा परिएछ
,
२०३२ सालतिर वीरबहादुर सुब्बाले बसोबास सुरु गर्दा मेचीनगर ११ भान्साखोलामा पथ्र्यो उनको जमिन । उनी बस्न थालेको १० वर्षपछि भारतले सीमास्तम्भ सारिसकेको थियो । अहिले उनको सहित १२ घरधुरी भारतीय भूमिमा पर्छन् । ‘सुत्दा नेपालतिरै थियौं,’ सुब्बाले पीडा सुनाए, ‘उठ्दा त भारततिर पो परिएछ ।’ विगतमा नेपाली भूभाग रहेको झापाको मेचीनगर ११ भान्साखोलाको करिब साठी बिघा जति जमिन आफ्नो दाबी गर्दै भारतीय पक्षले सीमास्तम्भ गाडेको उनले बताए । ‘हामी नेपाली हौं,’ सुब्बाले भने, ‘पिलरलाई आधार मान्दा त हामी भारतीय भएका छौं ।’ जमिन भारतले दाबी गरे पनि विकासका पूर्वाधार नेपालले नै उपलब्ध गराएको छ । पानी, बिजुली र सडक मेची नगरपालिकाले उपलब्ध गराएको हो । २०४२ सालमा भारतले एकपक्षीय रूपमा नेपाली क्षेत्र अतिक्रमण गरी पिलर गाडेको स्थानीयको भनाइ छ । ५० र ५१ नम्बरका पिलर साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडिएको छ । त्यसबेला नेपाली अधिकारीहरू पनि आएका थिए । तर, भारतले पिल्लर गाडेको बेवास्ता गर्दै दार्जिलिङ घुम्न गएको स्थानीय कृष्णप्रसाद उप्रेतीले बताए ।
विगतमा हतियार बोकेरै आउँथे भारतीय सुरक्षाकर्मी । स्थानीयलाई धाकधम्की दिन्थे । ‘अहिलेचाहिँ पहिलेजस्तो गर्दैनन्,’ इन्द्रवतीले भनिन्, ‘आउँछन्, पिलर हेरेर फर्कन्छन् ।’ नेपाल–भारत सीमाबारे जानकार प्राध्यापक चिन्तामणि दाहालका अनुसार भारतले करिब तीन सय मिटर जमिन मिचेर पिलर गाडेको देखिन्छ ।
दुवैतिर बराबर दूरी हुने गरी पिल्लर गाड्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहे पनि भारतले नेपालतिरबाट मात्रै नापेर सीमा पिल्लर गाडेको दाहालले बताए । ‘उताबाट पनि नापेर ल्याउँदा पिल्लर सर्न सक्छ,’ दाहाल भन्छन् । उनका अनुसार झापा–इलामको सीमावर्ती क्षेत्र तिरिङदेखि पाठामारीसम्म करिब ३/४ हजार बिघा जमिन भारतले अतिक्रमण गरेको देखिन आउँछ । यहाँको समस्या बुझ्न राजनीतिक दलका नेता तथा संसदीय टोली पटकपटक आए ।
तर, पीडित परिवारले राहत पाएनन् । ‘विभिन्न पार्टीका नेता र सांसद आए, समस्या सुने, गए,’ स्थानीय अमृत लिम्बूले भने, ‘हाम्रो समस्या ज्युँकात्युँ छ ।’ साभार कान्तिपुर