अध्ययन नै नगरी सिंहदरबार भत्काउनुपर्ने सुझाव

देवेन्द्र भट्टराई

३ माघ, काठमाडौं । ऐतिहासक महत्वको सम्पदा सिंहदरबार सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै सरकारलाई सुझाव प्रतिवेदन बुझाउने परामर्शदाता कम्पनीले अध्ययनको क्रममा सिंहदरबार परिसरको माटो–इँटाको समेत परीक्षण नगरी निचोड तयार पारेको पाइएको छ ।

शहरी विकास मन्त्रालयको ‘बिडिङ’मा परेर सिंहदरबार पुनर्निर्माण वा सबलीकरणबारेको अध्ययन गर्न अघि सरेको कुपण्डोलस्थित डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेडले गरेको अध्ययन–प्रतिवेदनमाथि सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बहस चलाएको थियो ।

यो अध्ययनका समूह नेता स्ट्रक्चरल–इन्जिनियर अरुणकुमार पण्डितले सिंहदरबार भवन ‘रेट्रोफिट’ गर्ने अवस्थामा नरहेको र यसका पर्खाल तथा इँट–संरचनामध्ये अधिकांस ध्वस्त (चिरा) भैसकेको विवरण विज्ञ सामु सुनाएका थिए । तर, उनको समूहले झण्डै ३ महिना लगाएर गरेको अध्ययनमा सिंहदरबार भवन रहेको माटाको परीक्षण (स्वाइल–टेस्टिङ) नगरीक नै तथा बाहिरबाट देखिएका चर्किएका इँटको सतह हेरेरै भित्री स्थितीबारे ‘पुर्वानुमान’ निचोड प्रस्तुत गरेको पण्डित स्वयमले स्वीकारेका थिए ।

प्राधिकरणले आफ्नो कार्यकक्षमा आयोजना गरेको सिंहदरबार भवनको संरचना पुनर्निर्माण वा सबलिकरणबारेको बहसमा संस्कृति मन्त्रालयका सहसचिव डन्डुराज घिमिरे एकजनाले मात्रै ‘सिंहदरबार भत्काउनुपर्ने’ धारणा राखेका थिए ।

‘यसको संरचना हेर्दा र भूकम्पपछिको क्षतिग्रस्त अवस्थामा रेट्रोफिटिङ असम्भव देखिएको छ, यसलाई भत्काएर उस्तै संरचना बनाउनुपर्ने देखिएको छ,’ मन्त्रालयमा बजेट महाशाखामा प्रमुख रहेका घिमिरेले भने ।

सिंहदरबारको वस्तुस्थिती अध्ययन गर्दा सतही र ‘भत्काउनै पर्ने मनस्थिती’मा समय खर्चिएको भन्दै यसबारेको बहसमा उपस्थित सहभागीहरुले प्राचिन स्मारक संरक्षण ऐनको प्रावधानमा पनि सम्पदा बनिसकेको सिंहदरबारलाई भत्काउन नमिल्ने बताएका थिए । ‘सिंहदरबारसहितका ऐतिहासिक सम्पदा भत्काउन खोज्नुमा ठूलो आर्थिक चलखेलको सम्भावना देखिएको छ,’ सम्पदाविद रविन्द्र पुरीले भने, ‘यहाँ भत्काउने र बनाउने हरेक चलखेलमा दौडधुप देखिएको छ, जोगाउने र संरक्षण गर्नेमा धेरैको ध्यान गएको देखिन्न ।’

दुई दशकयता जिर्णकार्य घर, मठ–मन्दिर र सम्पदा जिर्णोद्वार गर्दै तथा संरक्षणमा नमूना काम देखाउँदै आएका पुरीका अनुसार लोड–बेयरिङ संरचनालाई सम्वर्धन गर्न र ‘रेट्रोफिटिङ’ गर्न सम्भव छ ।

पुरातत्वविद भिम नेपालले सम्पदाबारेको सामान्य जानकारी समेत नभएका व्यक्तिको समूहबाट सिंहदरबार भवनको वस्तुस्थिती अध्ययन गराइएको स्थिती आफैंमा ‘अनौठो’ रहेको टिप्पणी गरेका थिए । पत्रकार कनक दीक्षितले नेपाली राज्यको प्रतिकका रुपमा रहीआएको सिंहदरबारको अग्रभाग भत्काउने कि जगेर्ना गर्ने भनेर अमेरिकी पुनर्निर्माणको ‘गाइडलाइन’मा आधारित रहेर गरिएको अध्ययन अर्थहीन रहेको बताएका थिए ।

‘सिंहदरबार जोगाएर, संरक्षण र सम्वर्धन गरेर अरु यस्तै ऐतिहासिक महत्वका सम्पदा जोगाउने दिशामा उदाहरणीय काम थाल्नु जरुरी छ,’ उनले भने ।

संस्कृतिविद साफल्य अमात्यले पछिल्लो पुस्तामा पढेर आएका इन्जिनियरले बनाउनेभन्दा भत्काउने क्षमता लिएर आएको भन्दै सिंहदरबार भत्काएर नयाँ बनाउँदैमा न त्यसमा इतिहास हुन्छ, न संस्कृति बँच्न सक्छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अहिले आएको सिंहदरबार अध्ययन प्रतिवेदनका आधारमा यो ऐतिहासिक संरचनालाई भत्काउन अनुमति दिन नसकिने भन्दै यस्ता सम्पदालाई कसरी जोगाउने भनेर विज्ञ र जानकारको एउटा समूहले तत्काल अध्ययन गर्न जरुरी रहेको बताए ।

‘सिंहदरबारलाई कसरी हुन्छ, ऐतिहासिक र सम्पदागत महत्वमा जोगाएर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने । यो सम्पदा भत्काउन २०६८ सालदेखि विभिन्न तहबाट प्रभाव–पहुँच पु¥याउने काम भैरहेको भएपनि यसमा पुरातत्वले ‘असहयोग’ गर्दै आएको उनले स्पष्ट पारे ।

प्राधिकरणका आयुक्त हरेराम पराजुलीले भने, ‘सिंहदरबारको मुख्य भवनमा बरु प्रशासनिक कार्यालय नराखेर भएपनि ऐतिहासिक महत्व र गरिमाका आधारमा यसलाई जोगाएर राख्नुपर्छ ।’

प्राचिन सम्पदाका जानकार अम्बिका श्रेष्ठ, सागर शमशेर, सुर्यभक्त साँगाछेलगायतले सिंहदरबार भवन जोगाउनेबारेमा मन्तव्य दिएपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भवन विभागले सिंहदरबारबारे पुरातात्विक हिसावले नसोचेका कारण निचोड प्रतिवेदन आएको बताए । ‘हामी नियत, संस्कार र क्षमतामा चुक्न मिल्दैन,’ पोखरेलले भने, ‘सिंहदरबारसहितका ऐतिहासिक सम्पदालाई पुरातात्विक हिसाबले पनि बचाउनैपर्छ । यसका लागि विज्ञहरुको एउटा समूह बनाएर के–कसरी बचाउने र सम्वर्धनका दिशामा जाने भन्ने निक्र्याैल गरिनेछ ।’साभार कान्तिपुर


Facebook Comment


No ads found for this position