विश्वप्रख्यात सामसङ कम्पनीका उपाध्यक्षमाथि भ्रष्टाचार आरोप, पक्राउपुर्जी जारी गरिने सम्भावना
काठमाडौं, ३ माघ — दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले सामसङ कम्पनीका उपाध्यक्ष ली जाए–योङलाई पक्राउ गर्नका लागि पुर्जी प्राप्त गर्न प्रयास गरेका छन् । लीका विरुद्ध घूसखोरी, भ्रष्टाचार र झुटो बयान दिएको आरोप लागेको छ ।
राष्ट्रपति पार्क गेउन–ह्येविरुद्ध महाभियोग लाग्नेगरी उठेको विवादसँग यो मुद्दा जोडिएको छ ।
सामसङले सरकारबाट फाइदा लिनका लागि राष्ट्रपति पार्ककी साथी चोइ सून–सिलले सञ्चालन गरेको गैरनाफामुखी संस्थालाई दान दिएको आरोप छ ।
आफ्नाविरुद्ध पक्राउपुर्जी जारी गरिनु बुझ्न नसकिने कुरा भएको सामसङको प्रतिक्रिया छ ।
सिउलको केन्द्रीय जिल्ला अदालतले पक्राउपुर्जी जारी गर्ने कि नगर्ने भनी निर्णय लिन बाँकी छ ।
पक्राउपुर्जी जारी भएमा यस विवादका सम्बन्धमा पक्राउ पर्ने उनी पहिलो कार्यकारी प्रमुख हुनेछन् ।
हुन त ली अहिले सामसङ कम्पनीका उपाध्यक्ष हुन् तर उनका पिता ली कुन–हीलाई सन् २०१४ मा हृदयघात भएपछि उनी नै कम्पनीका वास्तविक प्रमुख हुन् ।
बीबीसी