पर्यटनमा लगानी गर्न युएई इच्छुक

अबुधावीः ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । भेटका क्रममा युएईका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युतमा लगानी गर्न आफुहरु इच्छुक रहेको बताएका छन् । जलविद्युतमा लगानी गर्न दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्न सकिने उनको भनाई थियो ।करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले जलविद्युत लगायत नेपालको कृषि र पर्यटनमा लगानी गर्न आफुहरु इच्छुक रहेको जानकारी दिए । उनले दीगो ऊर्जा विकासका लागि जलविद्युत र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए ।

अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए ।

वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा जलविद्युत विकासको राम्रो संभावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरेका थिए ।

अबुधावीमा जारी वल्र्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले भाग लिएका छन् । समिटमा पेट्रोलियम र हाईड्रो ऊर्जालाई सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्‍याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्री भाग लिएका छन् ।


Facebook Comment


No ads found for this position