यी हुन् विश्वका सबैभन्दा धनी ब्यक्तीहरु
विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा धनीहरुलाई फाइदा पुगेको तर त्यसैकारण गरीबमाथि मार परिरहेको सो सँस्थाले जनाएको छ।
सो रिपोर्टअनुसार माइक्रोसफ्ट सँस्थापक विल गेट्ससहित ८ जनाको सम्पत्ति साढे तीन अर्बभन्दा बढी मानिस बराबरी रहेको छ। विश्वका गरिब ५० प्रतिशत मानिससँग मात्र ४ खर्ब नौ अर्ब डलर सम्पति छ भने यी धनी ८ जनासँग ४ खर्ब २६ अर्ब डलर सम्पति छ।
सो रिपोर्टका अनुसार विल गेट्स, जारा फेसनका सँस्थापक अमान्सियो ओर्टेगा, बर्कसायर हाथवेका प्रमुख वारेन बफेट, मेक्सिकन टेलिकम व्यवसायी कार्लोस स्लिम हेलु, अमेजनका सँस्थापक जेफ बेजोस, फेसबुकका सँस्थापक मार्क जुकरवर्ग, ओराकल नामक कम्पनीका सँस्थापक ल्यारी एलिसन र ब्लुमबर्ग न्युजका सँस्थापक माइकल ब्लुमबर्गसमेत ८ जना संसारका सबैभन्दा गरीब ५० प्रतिशत जनसंख्याबराबर सम्पत्तिका मालिक हुन्।
अघिल्लो साल अक्सफामले ६२ धनी व्यक्तिले आधा जनसंख्याबराबर सम्पत्ति ओगटेको बताएको थियो। यो वर्ष चीन र भारतमा पहिलो सोचिएभन्दा बढी गरिबी देखिएको कारण धनी र गरिबबीचको खाडल झनै फराकिलो भएको हो।
सन् २०१५ देखि नै सबैभन्दा धनी १ प्रतिशतसँग बाँकी विश्वका सबै मानिसहरुको भन्दा बढी सम्पत्ति रहेको अक्सफामले जनाएको छ। र आउँदो बीस वर्षमा ५ सय व्यक्तिले आफ्ना सन्तानलाई २.१ ट्रिलियन डलरभन्दा बढी सम्पत्ति छोड्ने र त्यो हाल १ अर्ब ३० करोड जनसंख्या भएको भारतको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुने बताइएको छ।
आर्थिक असमानता धनी र गरीबको बीचमा मात्र होइन महिला र पुरुषको बीचमा पनि उत्तिकै रहेको देखिएको छ। ‘हालको रुझानअनुसार नै चल्ने हो भने महिलाले पुरुषसरह भुक्तानी पाउन अझै १७० वर्ष कुर्नुपर्ने हुन्छ,’ रिपोर्टले भनेको छ।
व्यापक कर छली र ज्याला दिन कञ्जुस्याईं गरेका कारण असमानता बढेको आरोप सो सँस्थाले लगाउँदै व्यापार पूँजीपतिहरुको लगानीमा बढीभन्दा बढी नाफा दिनमा केन्द्रित भएको बताएको छ।
अर्थतन्त्रको ढाँचा र सिद्धान्तका कारण यस्तो भयानक र अन्यायपूर्ण परिस्थितिमा विश्व आइपुगेको जनाउँदै अक्सफामले सबै मानिसका लागि काम लाग्ने गरी अर्थतन्त्रको विकास गर्नुपर्ने जनाएको छ। एजेन्सी