६ नम्बर प्रदेशको समृद्धि पर्यटन: राजनीतिक दल, सरकारी र निजी क्षेत्र निष्कर्ष

ललितबहादुर बुढा 

सुर्खेतः देशमा पुनः प्रादेशिक सीमाकंनको बहस चलिरहेको बेलामा आन्दोलनकै बलमा स्थापित भएको प्रदेश नम्बर ६ भने समृद्धिको खाका कोर्न थालेको छ । सरकार, संसद र दलका शिर्ष नेताहरु पुनः सीमाकंनको विषयमा केन्द्रित भइरहँदा ६ नम्बर प्रदेश भने आर्थिक रुपमा समृद्ध बन्ने उपायको खोजीमा जुटेको छ । यो प्रदेशको समृद्धिका लागि पर्यटनको विकास नै एकमात्र हतियार भएकोमा यहाँका राजनीतिक दल, सरकारी र निजी क्षेत्रको निष्कर्ष छ ।

नेपालको सबैभन्दा ठुलो रारा ताल

यो प्रदेश अन्तर्गत मुगुको रारा, डोल्पाको फोक्सुण्डो, सुर्खेतको बुलबुले र सल्यानका कुपिण्डे ताल प्रमुख पर्यटकीय आकर्षण हुन् । यी तालहरुको सुन्दरता बेचेर नै प्रदेशको अर्थतन्त्रलाई थेग्न सकिने सम्भावना छ । यस वर्ष यी तालहरुको अवलोनका लागि पुगेका पर्यटकहरुको घुइँचोलाई हेर्दा पनि यो सम्भावनालाई पुष्टी गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तालहरु देखाएर ठूलो मात्रामा पर्यटक भित्राउन सक्ने सम्भावना यो प्रदेशमा रहेको छ । पर्यटनमा लगानी र प्रचार गर्न सकेमा प्राकृतिक सम्पदाहरुबाटै पर्यटकलाई तान्न सकिने सम्भावना यो प्रदेशमा छ । यस्तै सुर्खेतमा रहेको ऐतिहासिक काँक्रेविहार, दैलेखको पञ्चदेवल र ज्वाला क्षेत्र तथा मानसरोवरमा पनि पर्यटनको सम्भावना उल्लेख्य छ ।

नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल (६५०मी)

प्रदेश ६ मा पर्यटक आकर्षण गर्नका लागि धेरै दुख गर्नुपर्ने अवस्था छैन । प्राकृतिक रुपमा रहेका सम्पदाहरुमा लगानी गर्दै प्रचारमा ल्याउन सकेमा मात्र बाहिरबाट लाखौं पर्यटक भित्राउन सकिनेछ । कर्णालीको परम्परागत संस्कृति र जुम्लामा रहेको नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रले पनि पर्यटनको सम्भावना बोकेको छ । यस्तै यहाँ जल पर्यटनको पनि अध्याधिक सम्भावना छ ।

काँक्रेविहार मन्दिर सुर्खेत

दुई ठूला नदी भेरी र कर्णालीमा जलयात्रा संचालन गर्न सकेमा विदेशी पर्यटकहरुलाई पनि ल्योभ्याउन सक्ने अवस्था छ । समग्रमा यो प्रदेशमा धार्मिक तथा जल पर्यटनको खानी नै छ । यसलाई उपभोग गर्न सकेमा प्रदेशको अर्थतन्त्रलाई नै आत्मनिर्भर बनाउन सकिने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । उनले लगानी गर्न सकेमा यो प्रदेशलाई बाहिरी सहयोग आवश्यक नपर्ने बताए । त्यसका लागि यहाँका राजनीतिक दलहरुको पनि प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ । यस्तै लगानीमैत्री वातावरण निर्माणमा जुट्नुपर्ने भन्दै उनले पर्यटन नै यो प्रदेशको कायापलट गर्ने औजार भएको दाबी गरे ।

अर्कोतर्फ यो प्रदेशको समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएको दलहरुको निस्कर्ष छ । आर्थिक मापनमा कमजोर मानिएको यो प्रदेशको आर्थिक भविस्य यहाँको पर्यटनले थेग्ने अपेक्षा गरिएको छ । प्रदेश नम्बर ६ लाई आत्मनिर्भर बनाउनका लागि राजनीतिक दल र निजी क्षेत्रले आ–आफ्नो खाका सार्वजनिक गर्न थालेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले यो प्रदेशको समृद्धिको खाका सार्वजनिक गरिसकेका छन् । यी दुबै दलको प्रादेशिक कमिटिले सार्वजनिक गरेको खाकामा पर्यटनलाई मुख्य प्राथमिकता दिइएको छ ।

यस्तै निजी क्षेत्रले पनि पर्यटन नै यो प्रदेशका आर्थिक भार थेग्ने मुख्य आधार भएको निस्कर्ष निकालेको छ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा भन्छन्,‘रारा ताल र फोक्सुण्डो देखाएरै आम्दानी गर्न सक्छौं, कर्णाली र भेरी नदीमा जलयात्रा गर्न लाखौं पर्यटक आउनेछन् । पर्यटनले नै हाम्रो प्रदेशमा रोजगारी सिर्जना हुनेछ, हामी देशकै सक्षम प्रदेश हुनेछौं ।’ प्रदेश ६ को अर्थतन्त्र थेग्नका लागि यहाँ पर्यटनको सम्भावना रहेको र आवश्यक लगानी जुटाउनेतर्फ ध्यान दिनुपर्ने सर्वसाधारणलेसमेत सुझाव दिने गरेका छन् ।


Facebook Comment


No ads found for this position