राप्रपाको अध्यक्षमा थापा, राणा र लोहनी भिड्ने तयारी

बालकुमार नेपाल 

काठमाडौं : संसद्‍मा चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि तीन नेताले आन्तरिक तयारी तीव्र बनाएका छन् । औपचारिक घोषणा नगरे पनि उनीहरूले आआफ्ना पक्षमा नेता तथा कार्यकर्ताको समर्थन जुटाउन थालेका छन् । यसरी आगामी महाधिवेशनका लागि अध्यक्षको आन्तरिक तयारी गर्नेमा वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता डा. प्रकाशचन्द्र लोहनी छन् ।

उक्त पार्टीका एक नेताका अनुसार यी तीनजना नेता अध्यक्षको उम्मेदवार बने थापा र राणाबीच कडा प्रतिस्पर्धा हुनेछ । तर लोहनीले निर्वाचन नलडेको खण्डमा उनले जसलाई समर्थन गर्यो त्यसको पल्ला भारी हुने स्रोतले बतायो। पार्टीका अर्का नेता लोकेन्द्रबहादुर चन्दको समर्थनले पनि महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनेलाई ठूलै भर गर्ने सम्भावना छ । तर उनले अहिलेसम्म कसैलाई पनि हरियो बत्ती देखाएका छैनन् । उक्त पार्टीको एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म हुँदैछ ।

सहमहमन्त्री राजेश गिरीका अनुसार अहिले साधारण सदस्यता वितरण अन्तिम चरणमा पुगेको छ । उनका अनुसार अहिले देशभर दस लाखभन्दा माथिको संख्यामा सदस्यता वितरण भएको छ ।

महाधिवेशनलाई केन्द्रित गरी उक्त पार्टीले ७ माघदेखि १५ सम्म गाउँ तथा नगर अधिवेशन गर्ने भएको छ । त्यसैगरी माघ २१ गते एकैचोटि क्षेत्रीय अधिवेशन हुनेछ । त्यसैगरी २१ गते एकै दिन सबै जिल्ला अधिवेशन हुने पनि गिरीले बताए । महाधिवेशनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट समावेशीका आधारमा ९ महाधिवेशन प्रतिनिधि चय गरिनेछ । त्यसैगरी प्रत्येक जिल्ला कार्यसमितिबाट पनि यही संख्यामा प्रतिनिधित्व गराइनेछ । क्षेत्रीय र जिल्ला कार्यसमितिको निर्णयले महाधिवेशन प्रतिनिधि छान्नेछ ।

आगामी महाधिवेशन तयारीको सिलसिलामा मंगलबार उक्त पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी एकता महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

५०१ सदस्यीय समितिमा राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी सदस्य छन् । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सांसद, जनवर्गीय संगठनका केन्द्रीय सभापति, बागमती अञ्चलका पार्टीका जिल्ला अध्यक्ष सदस्य छन् । समितिको सदस्यसचिवमा पार्टीका महामन्त्रीहरू टंक ढकाल र विक्रम पाण्डे रहेको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले बताए ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position