उत्कृष्ट गन्तव्यमा पुनहिल छनोट भएपछि ….

2017-01-19 14:24

म्याग्दी, ६ माघ । घार गाविस–१ घोरेपानीमा रहेको पुनहिल छुटाउन नहुने उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा छनोट भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

लोन्ली प्लानेटले हरेक अङ्ग्रेजी वर्षको सुरुवातसँगै सार्वजनिक गर्ने उत्कष्ट गन्तव्यको सूचीमा नेपालका १० गन्तव्यमा पुनहिल क्षेत्रलाई समेत समावेश गरेको छ ।

चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको पुनहिल क्षेत्रमा भ्रमणमा जाने पर्यटकका लागि अहिले पोखरेबगर–घार–घोरेपानी, घान्द्रुक–घोरेपानी, नांगी–घोरेपानीलगायतका पदमार्ग सञ्चालनमा आइसकेका छन् ।

धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनका लागि बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन् । घोरेपानीको पुनहिल क्षेत्रलाई लोन्ली प्लानेटले नेपालका उत्कृष्ट गन्तव्यमा समावेश गरेपछि थप पर्यटन विकास हुने अपेक्षा गरिएको घोरेपानी होटल व्यवसायी सङ्घका पूर्व उपाध्यक्ष टेकसर बुद्धुजा बताउनुहुन्छ ।

“यो हाम्रो लागि खुसीको कुरा हो, पछिल्लो समय घोरेपानी क्षेत्रमा बढेको पर्यटन आगमनलाई निरन्तरता दिन यसले सघाउ पु¥याउनेछ,” उहाँले भन्नुभयो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट दर्जनाँै हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएकाले उक्त क्षेत्रको भम्रणमा जान लोन्लीले सुझावसमेत दिएको छ ।

पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी घोरेपानीमा अहिले करिब तीन दर्जन साना ठूला होटल सञ्चालनमा छन् । लोन्ली प्लानेटले म्याग्दीको घोरेपानीसँगै धौलागिरि अञ्चलकै हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम र मुक्तिनाथलाई समेत उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा समेटेको छ ।

सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौँ उत्कृष्ट गन्तव्यमा समेटेको नेपालका १० उत्कृष्ट गन्तव्यमा मुगुको रारा, सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्ष, इलाम, बर्दिया राष्ट्रिय निकुञ्ज, लाङ्टाङ, नवलपरासी र विनाशकारी भूकम्पको केन्द्र बारपाकलाई समावेश गरिएको छ ।


Facebook Comment


No ads found for this position