काठमाडौं महानगरपालिकाले यो वर्ष आठवटा पार्क निर्माण गर्ने

काठमाडौं- काठमाडौं उपत्यकामा सुविधासम्पन्न नयाँ पार्क थप गरिने भएको छ। उपत्यकावासीलाई घुमफिर तथा विश्राम स्थल पर्याप्त नभएकाले नयाँ पार्क थप गर्न लागिएको हो। उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क छन्।

काठमाडौं महानगरपालिकाले यो वर्ष उपत्यकामा सानाठूला गरी आठवटा पार्क निर्माणका लागि साढे दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। टेकु, सिंहदरबारअगाडि, कलंकी, चावहिललगायतका स्थानमा नयाँ पार्क निर्माण गरिनेछ। ‘उपत्यकामा बर्सेनि जनसंख्या चाप बढिरहेको छ तर वृद्धवृद्धा, केटाकेटी, अपांगता भएका व्यक्ति, किशोर–किशोरी र बिहानबेलुकी हिँड्न चाहनेका लागि पर्याप्त खुला ठाउँ छैन। यसैलाई ध्यान दिएर नयाँ पार्क थप्न लागिएको हो,’ काठमाडौं महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘यो वर्ष उपत्यकाका आठ स्थानमा सुविधासम्पन्न पार्क थपिनेछ।’

उनका अनुसार वैशाखयता महानगरपालिकाले सानाठूला गरी ६ स्थानमा पार्क निर्माण गरिसकेको छ। ‘चावहिल, डल्लु, तीनकुने, एयरपोर्ट, कुलेश्वर, शोभा भगवतीलगायतका स्थानमा पार्क निर्माण गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘भूकम्पपछि उपत्यकामा खुला ठाउँ हुनुपर्छ भन्ने विषयलाई सबैले उठाए। महानगरले पनि यो विषयलाई प्राथमिकतामा राखेको हो।’

उपत्यकाको बढ्दो जनसंख्याअनुसार खुल्ला ठाउँ र पार्क पर्याप्त नभएको वातावरणविद् बताउँछन्। हरियाली पार्कले उपत्यकाको वायु प्रदूषण कम गर्न ठूलो मद्दत गर्ने वातावरणविद् भुषण तुलाधरले जानकारी दिए। ‘उपत्यकामा अहिले दिनानुदिन वायु प्रदूषण बढ्दै गएको छ’, उनले भने, ‘हरियालीसहितका पार्क र रुखले बढिरहेको वायु प्रदूषणलाई कम गर्नुका साथै मानिसलाई तनावमुक्त, मनोरञ्जनले लिनका लागि पार्क नै चाहिन्छ तर अहिले उपत्यकामा पर्याप्त पार्क छैनन्।’

महानगरपालिकाको हालैको नगर परिषद्ले पनि सरकारी स्वामित्व र नाममा रहेको जग्गालाई पार्क र खुला ठाउँका रुपमा प्रयोग गर्ने अवधारणा ल्याएको महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। ‘सरकारको नाममा रहेको जग्गामा कुनै पनि संंरचना बन्न नदिएर त्यसलाई खुला ठाउँ र पार्कका रुपमा विकास गर्ने निर्णय भएको छ,’ उनले भने, ‘हामीले महानगर क्षेत्रमा एक वडा एक पार्कको अवधारणाअनुसार पार्क निर्माण योजना बनाएका छौंं।’

ललितपुर उपमहानगरपालिकाले पनि यो वर्ष पुरानै पार्कलाई व्यवस्थित गर्ने र पाँच स्थानमा नयाँ पार्क निर्माण गर्ने जनाएको छ। बाग्मती किनारमा पाँच स्थानमा पार्क निर्माण गर्न लागेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए। उनले उपमहानगरपालिकाभित्र सरकारी स्वामित्वका खुला ठाउँलाई व्यवस्थित गर्दै पार्कका रुपमा विकास गर्ने जानकारी दिए।साभार नागरीक


Facebook Comment


No ads found for this position