दुई वाइड बडी बेच्न एएआर टोली नेपालमा

 

काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला वाइड बडी जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनका दुई उच्च अधिकारी नेपाल आएका छन्। एएआरको इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष दीपक शर्मा र एक वकिल निगमलाई जहाज बिक्री गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न बुधबार राति नेपाल आएका हुन्। शर्मा नेपाली मूलका बेलायती हुन् भने अर्का वकिल जर्मनी हुन्।

एएआरबाट दुई अधिकारी आएपछि जहाज खरिद–बिक्रीबारे द्विपक्षीय वार्ता सुरु भएको छ, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, ुवार्तामा जहाजको न्यूनतमदेखि अधिकतम मूल्य श्रेणी तथा जहाज आपूर्ति मितिबारे छलफल भएको छ।यो वार्तामा जहाजको यकिन मूल्य थाहा नभए पनि आपूर्ति मिति भने तोकिने कंसाकारले बताए। निगमले एएआरको टोलीसँग वार्ता गर्न नायबमहाप्रबन्धक आरबी शाहको संयोजकत्वमा १० सदस्यीय टोली गठन गरेको छ। शाहको टोलीले दुईदेखि तीन दिन एएआर टोलीसँग वार्ता गरेपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने कंसाकारले जानकारी दिए।

निगम सञ्चालक समितिको गत शनिबार अबेर रातिसम्म बसेको बैठकले दुईथान वाइड बडी जहाज बिक्री गर्न एएआरले राखेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। त्यसपछि आइतबार निगम व्यवस्थापनले एएआरलाई आशयपत्र ,लेटर अफ इन्टेन्ट, पठाएको थियो। आशयपत्र पठाएको चौथो दिन बुधबार एएआरका अधिकारी काठमाडौं आएका हुन्।

बिहीबार भएको वार्ताअनुसार पहिलो वाइड बडी जहाज विगतमा तोकिएको मितिभन्दा दुई महिनापछि आउने छ, महाप्रबन्धक कंसाकारले भने, तर, दोस्रो जहाज भने पहिलाको मितिभन्दा केही अगाडि आउने छ। पुरानो आपूर्ति मितिअनुसार दुई जहाज आउने समय अन्तर ६ महिना थियो अब त्यो चार महिनामा झरेको छ।उनका अनुसार अब पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ। पुरानो मितिअनुसार भने पहिलो वाइड बडी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी आउने तालिका थियो।

एएआरले १० करोड ४८ लाख अमेरिकी डलर ९११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ० मा एउटा जहाज बिक्री गर्ने प्रस्ताव गर्दै निगमको ग्लोबल टेन्डर जितेको थियो। जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ।निगमलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेको थियो। उसले सन् २०१६ को बजार भाउअनुसार प्रस्ताव गरेको थियो। एएआरले दुइटै जहाज एक मिनेट पनि नउडेकोु ब्रान्ड न्यु० उपलब्ध गराउने प्रस्ताव गरेको छ। अन्तिम वार्ता गरेपछि अझ यकिन मूल्य थाहा हुन्छ, कंसाकारले भने, अहिले प्रस्ताव गरेको मूल्यमा केही थपिन सक्छ वा केही घट्न पनि सक्छ, त्यही बेलामा थाहा हुनेछ। निगमलाई युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ए३३०–२००ु सिरिजका दुईथान वाइड बडी जहाज बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए। असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए।

निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वर्ल्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए।

निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन। बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो।कंसाकारका अनुसार पोर्चुगलको हाइफ्लाई एयरलाइन्सु को अर्डरमा निर्माणाधीन दुईथान ए३३० जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो। दुइटै जहाजमा १२ देखि १८ वटामात्र बिजनेस क्लास सिट राख्छौं, उनले भने, बाँकी सबै इकोनोमी क्लास सिट हुनेछन्।निगमले आह्वान गरेको टेन्डरमा भने सकेसम्म सन् २०१४ यता बनेका ए३३०–२०० सिरिजका जहाज हुनुपर्ने वा १ हजार घन्टाभन्दा कम उडेको हुनुपर्ने सर्त थियो।

सरकारले दुइटा वाइड बडी खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि बसेको निगम सञ्चालक समितिको गत असोज ७ गतेको बैठकले ग्लोबल टेन्डर आह्वान गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो। त्यसपछि १० गते आह्वान गरिएको ग्लोबल टेन्डर भर्ने म्याद ४५ दिनसम्म तोकिएको थियो।निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी लङ हल गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा नन्स्टपु उडान गर्न सक्छ।

दुईथान वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो। अर्थको जमानीपत्र आउनुअघि गत भदौ २९ मै कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुइटा वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो।सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ। यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ। सरकारी संस्थाबाहेक निजी क्षेत्रकाक वर्गका केही वाणिज्य बैंकहरूले पनि जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको बताउँदै आएका छन्।

१६र१६ एयरहोस्टेस र स्टेवार्ड छनोट

नेपाल वायुसेवा निगमले नयाँ १६ एयरहोस्टेस र १६ स्टेवार्ड छनोट गरेको छ। खुला प्रतिस्पर्धाबाट छनोट भएका उनीहरूलाई तीनदेखि चार महिना तालिम दिएर उडानमा पठाइने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।नयाँसहित अब हामीसँग एयरहोस्टेस र स्टेवार्ड गरी करिब १ सयजना भएका छन्, कंसाकारले भनेयसबाट यात्रु सेवा थप सहज र सरल हुने विश्वास छ।

निगमका अनुसार हाल अन्तर्राष्ट्रिय उडानतर्फ रहेका १ सय ५८ सिट क्षमतायुक्तए३२०–२००ु सिरिजका दुईथान र १ सय ९० सिटेबि७५७–२००ु सिरिजको एकथान तथा आन्तरिकतर्फ रहेका ५८ सिटे एकथानएमए–६०ु, एकथान ुवाई१२–ईु र दुईथान ट्विनअटर जहाजमा ती एयरहोस्टेस र स्टेवार्ड खटाइनेछन्।

आन्तरिक उडानमा स्टेवार्ड राखिँदैनन्, कंसाकारले भने,त्यसकारण हाल छनोट भएका अधिकांश एयरहोस्टेस र स्टेवार्डलाई अन्तर्राष्ट्रिय उडानमा खटाइने छ। नयाँ आउने दुईथान वाइड बडी जहाजमा पनि उनीहरूलाई काममा लगाइने छ।


Facebook Comment


No ads found for this position