घुम्न चाहनेहरुकालागी खुसीको खबर,जोमसोम–काठमाडौं सिधा बस सञ्चालन

सिन्डिकेट हटेको ९ महिनापछि व्यवसायीले जोमसोम–काठमाडौं रात्रिबस सञ्चालन गरेका छन् । धवलागिरि अञ्चल यातायात व्यवसायी समितिले बिहीबारदेखि पहिलोपटक काठमाडौंसम्मका लागि बस सेवा दिन थालेको हो ।सार्वजनिक सवारीले जोमसोमदेखि राजधानी सोझै जोडेको यो पहिलो हो । यसअघि मुस्ताङ घुम्न आउनेले सवारी परिवर्तन गर्नुपर्ने झन्झट थियो । यात्रुलाई सुविधा दिन जोमसोम एयरपोर्ट अगाडि बस काउन्टर राखेर बस सेवा सञ्चालन गरिएको समितिका महासचिव उमेश केसीले जानकारी दिए ।
जोमसोमदेखि काठमाडौंसम्म १ हजार ६ सय, पोखराका लागि १ हजार, बाग्लुङ ८ सय ५० र जोमसोमदेखि बेनीका लागि ८ सय रुपैयाँ भाडादर तोकेको छ । जोमसोमबाट दिनको १२ बजे र काठमाडौंमा जोमसोमका लागि दिनको ३ बजे बस छुट्ने समितिले जनाएको छ ।योबाहेक जोमसोमका लागि पोखराको लेकसाइड र जिरोकिमिबाट साधारण मिनी बस र जिप यथावत् सञ्चालनमा छन् । मुस्ताङ जिप व्यवसायीको १० वर्षदेखिको सिन्डिकेट जिल्ला प्रशासन, प्रहरी, सेना र सशस्त्रको पहलमा गत वैशाखमा अन्त्य भएको थियो । अब मुस्ताङबासी स्तरीय डिलक्स बसबाट सोझै काठमाडौं पुग्ने भएका छन् ।
काठमाडौंसम्मको सीधा बस सञ्चालनले बेनी र पोखरामा बस परिवर्तन गर्नुपर्ने झन्झट हटेको छ । अब मुस्ताङ घुम्न आउने यात्रुलाई सवारीको समस्या हटेको छ । यो सेवाले साधारण बस, डिलक्स र जिपबाट पोखरादेखि जोमसोम आउजाउ गर्न सहज बनाइदिएको छ ।