प्रहरीले पक्राउ गरेको सुन कहाँ जान्छ ? विस्तृतमा

नेपालमा चीन, दुबईलगायत अन्य देशबाट अवैध सुन भित्रने गरेको छ । त्यस्तै गाडीमा लुकाएर ल्याउन सहज भएकाले रसुवाको केरुङ नाका हुँदै ठूलो मात्रामा सुन नेपालमा तस्करी हुने गरेको छ भने केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ । भूकम्पअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ठूलो मात्रामा सुन तस्करी हुने गरेकोमा नाका बन्द भएपछि रसुवा नाकाबाट अवैध सुन भित्रन थालेको हो । यसरी नेपाल भित्रिएका सुनको गन्तव्य छिमेकी देश भारत रहेको प्रहरीले जनाएको छ । भारतीय हजार र पाँच सयका नोटको प्रतिबन्ध र निश्चित कोटाका कारण चीन, दुवईलगायतका ठाउँबाट अवैध रुपमा नेपाल भित्रिएका सुन भारत जाने गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताउनुभयो । यसरी नेपाल भित्रने सुनको गन्तव्य भारत भएपनि कतिपय सुन भारत जान नपाउँदै प्रहरीले बरामद गर्ने गरेको छ । प्रहरीले पछिल्लो डेढ महिनायता मात्रै ७७ किलो सुन बरामद गरेको तथ्याङ्क छ । प्रहरीले यतिका धेरै सुन बरामद गरेपनि त्यो कहाँ जान्छ धेरैलाई थाहा नहुन पनि सक्छ । तर त्यो सुनको अन्तिम गन्तव्य व्यवसायी नै रहेका छन् । प्रहरीले पक्राउ गरेको सुन राजश्व अनुसन्धान विभाग पठाउँछ भने दोषीलाई अदालतमा उभ्याइन्छ । यसबारे अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल भन्नुहुन्छ ‘हामीले बरामद गरेका अवैध सुन तथा हुण्डी लगायतका सबै रकम राजश्व अनुसन्धान विभाग पठाउँछौं ।’


प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको सुन कहाँ जान्छ त रु यसबारे राजश्व अनुसन्धान विभागका सूचना अधिकारी देवीप्रसाद थपलिया भन्नुहुन्छ ‘प्रहरीले हामीकहाँ पठाएको सुन लगायतका अन्य वस्तुहरु अदालतको दसी प्रमाणका लागि मागेको बेला अदालतमा उपलब्ध गराउँछौं ।’कुनैपनि व्यक्तिलाई कुनै आरोपमा पक्राउ गरेपछि त्यसको दसी प्रमाणका लागि बरामद भएका सामान अदालतले माग्ने भएकाले राजश्व अनुसन्धान विभागले त्यस्ता सामान अदालतमा चाहिएको बेला उपलब्ध गराउने गर्छ ।
आरोपी तथा अभियुक्तलाई लागेको आरोप पुष्टि नहुन्जेलसम्म ती सामानहरु राजश्व अनुसन्धान विभागमै रहने सूचना अधिकारी थपलियाले जानकारी दिनुभयो । यसरी सुन तस्करीमा संलग्न भएको व्यक्तिको आरोप अदालतबाट पुष्टि भएपछि राजश्व अनुसन्धान विभागले सुन नेपाल राष्ट्र बैंकमा पठाउने गर्छ ।प्रहरीले राजश्व अनुसन्धान विभाग पठाउने भनेपनि यसपटक सुन राजश्व अनुसन्धान विभाग पठाएको छैन । ठूलो मात्रामा सुन बरामद भएकाले त्यसको सुरक्षाको लागि पनि विभाग नपठाएको हुनसक्ने विभागका सूचना अधिकारी थपलियाले बताउनुभयो । तर प्रहरीले तस्करीका मुख्य नाइके समात्न आफैंले अनुसन्धान गर्ने भन्दै सुन विभाग नपठाई अनुसन्धान थालेको केन्द्रिय अनुसन्धान व्यूरोको डिआइजी नवराज सिलवाल बताउनुहुन्छ ।
यसरी तस्रकबाट प्रहरी र राजश्व अनुसन्धान विभाग आइपुगेको सुन नेपाल राष्ट्र बैंकमा आइपुग्छ । नेपाल राष्ट्र बैंकमा आएपछि त्यसबेलाको सुनको बजार मूल्य अनुसारको रकम नेपाल सरकारलाई नेपाल राष्ट्र बैंकले तिर्नुपर्ने प्रावधान रहेको नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताउनुभयो ।प्रहरीले बरामद गरेको अवैध सुन राष्ट्र बैंकले किन्ने गर्छ । राष्ट्र बैंकले किनेपछि त्यो सुन कहाँ जान्छ रु यस प्रश्नबारे ढुङ्गाना भन्नुहुन्छ ‘राष्ट्र बैंकले बेला बेलामा निकाल्ने सिक्का तथा मेडलहरुमा यो सुनको प्रयोग गरिन्छ । यसरी बढी भएको सुन व्यापारीलाई उपलब्ध गराउँछौं ।’राष्ट्र बैंकले दैनिक १५ किलो सुन व्यापारीलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ । सोही अनुसार सिक्का तथा मेडल बनाएर धेर भएको सुन बैंकले व्यापारीलाई उपलब्ध गराउने गरेको हो । यसरी तस्करले ल्याएरको सुन प्रहरीले बरामद गरेपछि राजश्व अनुसन्धान विभाग, बेला बेलामा अदालत र राष्ट्र बैंक हुँदै अन्तिममा व्यापारीसम्म पुग्ने गरेको छ ।


Facebook Comment


No ads found for this position