विरामीको मृत्युपछि आफन्तले फुटाए न्यूरो अस्पताल, २२ जना पक्राउ
काठमाडौं । उपचारको क्रममा विरामीको ज्यान गएपछि मृतकका आफन्तले आईतबार काठमाडौको न्यूरो अस्पताल महाराजगञ्जमा तोडफोड गरेका छन् । गत २० पुषमा कमलादीमा मोटरसाईकल दूर्घटनामा परेका नागार्जुन नगरपालिकाका युनिस नगरकोटीको ज्यान गएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन् ।
आक्रोशित भीडले विहान साढे नौ बजेतिर न्यूरो अस्पतालमा आक्रमण गरेका थिए । अहिले प्रहरीले तोडफोडको आरोपमा २२ जनालाई पक्राउ गरेको घटनास्थलमा खटिएका प्रहरी दिनेश कट्टेलले जानकारी दिए । तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेको छ । यद्यपि क्षतिको विवरण अहिलेसम्म यकीन नभइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
आक्रोशित आफन्तले अस्पताल र डाक्टरको लापरबाहीको कारणले युनिसको ज्यान गएको आरोप लगाएका छन् । ब्लू क्रस अस्पतालमा उपचाररत युनिसलाई ३ दिन अघि मात्रै न्यूरो अस्पतालमा ल्याईएको थियो ।