कर असुलेर मात्र एनसेललाई फोरजी दिन लेखा समितिको दिर्नेशन

माघ ११, २०७३ दूरसञ्चार सेवाप्रदायक एनसेलबाट पूँजीगत लाभकर असुलउपर नभएसम्म चौथो पुस्ताको मोबाइल सेवा फोरजी लगायत थप सेवाका काम कारबाही अघि नबढाउन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले पूँजीगत लाभकर असुल नगरी थप सेवाका लागि काम कारबाही अघि नबढाउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकमा बोल्ने अघिकांश सांसदले सबै कर असुल नभई एनसेललाई थप सेवा दिएर पुरस्कृत गर्दै लान नहुने बताएपछि यस्तो निर्णय भएको हो ।

सभापति चयन नभएका बेला जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एनसेलबाट कर असुलउपर नभइसकेकाले थप सेवा विस्तार गर्न दिनु नहुने ठहर गरेको हो । लेखा समतिले अघिल्लो आइतबार अर्थ सचिव र राजस्वका अधिकारीहरुलाई बोलाएर छलफल गरेपछि तीन महिनाभित्र लाभकर निर्धारण गरि असुल गर्न निर्देशन दिएको थियो ।

गत मंगलबार फोरजी सेवाकाबारे छलफल गर्न समितिले सञ्चार सचिव र दूरसञ्चार प्राधिकरणका अधिकारीसहितको बैठक राखेको थियो । तर, बैठकमा सांसदहरुले थप छलफल गर्नुपर्ने बताएपछि निर्णय हुन सकेको थिएन ।

यसअघि गत जेठमा पनि समितिले यथाशीघ्र पूँजीगत लाभकर असुल गर्न सरकारलाई निर्देशन दिएको थियो । गत जेठ २१ गते संसदकै अर्थ समितिले पनि एनसेलबाट सम्पूर्ण कर असुल गरेर मात्र पुँजी वृद्धिलगायतका थप सेवा विस्तार नगर्न नदिन उद्योग र सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, अर्थ समितिको निर्देशन हालसम्म प्राप्त नभएको भन्दै सञ्चार मन्त्रालयअन्तर्गतको दूरसञ्चार प्रधिकरणले एनसेलका एक दर्जनभन्दा बढी व्यावसायिक योजनालाई स्वीकृति दिइसकेको छ । प्राधिकरणले यही पुसमा ‘नेटवर्क सर्भिस प्रोभाइडर एनसएसपी को अनुमति पनि दिएको छ ।


Facebook Comment


No ads found for this position