वीरगञ्जसहित ४ भन्सार नाकामा अत्याधुनिक चिनियाँ स्क्यानर जोडिँदै

भन्सार विभागले एकैपटक मुख्य भन्सार नाकाहरुमा अत्याधुनिक स्क्यानर मेसिन जडान गर्ने भएको छ । यसका लागि चीन सरकारले सहयोग गर्नेछ । नाकाहरुमा कन्टेनरहरुलाई स्क्यान गर्न सकिने गरी मेसिन जोड्ने तयारी अघि बढेको हो ।

विमानस्थलबाटै भित्र्याएको ३४ किलो सुन काण्डमा भन्सार विभागका कर्मचारी मुछिएपछि स्क्यानर ल्याउने प्रक्रिया अघि बढेको हो । विमानस्थल र भन्सारको कमजोर सेक्युरेटी चेकका कारण अवैध तस्करी बढेको छ । यसैलाई ध्यानमा राखेर मुख्य भन्सार नाकाहरुमा आधुनिक स्क्यानर मेसिन जोड्न लागिएको हो ।
चीनको सहयोगमा रसुवागढी, बीरगञ्ज, बिराटगर र मेची भन्सार नाकामा स्क्यानर मेसिन जोडिनेछ । यी मेसिनले कन्टेनरमा रहेको समानको स्क्यान गर्नेछन् र, कुनै अवैध वस्तु भेटिए तुरुन्त नियनत्रण लिएर कारवाही गर्नेछ ।यसअघि चीनले दिएर पनि अलपत्र परेका २ वटा स्क्यानर मेसिनसमेत तत्काल सञ्चालनमा ल्याइने विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए ।

‘पावरको समस्याका कारण मेसिनहरु चलाइएको थिएन’ ढुंगानाले भने,’अब भने ती मेसिन पनि प्रयोगमा ल्याउँछौं ।’चीनले झण्डै ११ वर्ष अघि नेपाललाई दिएको कन्टेनर स्क्यानर प्रयोगविहीन भएर थन्किएका थिए । ती मेसिन बिग्रिएको अवस्थामा अलपत्र छन् । एउटा मेसिन वीरगञ्जको सुख्खा बन्दरगाहमा थन्किएको छ भने एउटा त्रिभुवन विमानस्थलमै बिग्रिएर बसेको छ ।

त्यतिबेला चीनले त्रिभुवन विमानस्थलका लागि १८ करोड र वीरगञ्जका लागि २२ करोड खर्चिएर मेसिन दिइएको थियो । ४० करोड रुपैयाँमा भित्रिएका ती मेसिन ०६३ सालमै नेपाल ल्याइएको थियो । तर, त्यसलाई प्रयोग गर्न विभागले चासो देखाएको थिएन ।यसैगरी विभागले त्रिभुवन विमानस्थलमा ‘होल बडी चेक अप’का लागि पनि नयाँ मेसिन जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसका लागि टेण्डर आह्वान भइसकेको छ ।

कुल ११ करोड रुपैयाँ खर्चिएर विमानस्थलमा यो मेसिन जोड्न लागिएको हो । अब यसपछि भन्सार नाकाहरुमा स्क्यानिङ टुलहरु अत्याधुनिक हुने दाबी महानिर्देशक ढुंगानाको छ ।अनलाईन खबर


Facebook Comment


No ads found for this position