पदमार्ग अवरुद्ध हुने गरी सडक निर्माण, पदयात्रा गर्ने पर्यटक कम हुने चिन्ता

विनोद त्रिपाठी

माघ, पोखरा । सडक निर्माणले पदमार्ग मेटिन थालेको छ । पदमार्ग अवरुद्ध हुनेगरी सडक निर्माण भएपछि पर्यटक घट्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरे । कच्ची सडकमा चलेका सवारीले धूलो धुँवा उडाउँदा पदयात्रीले हैरानी खेप्नुपरेको छ ।

मोटर गुड्ने र ट्रेकिङ जाने एउटै बाटो परेपछि घुमफिरका लागि आउने पर्यटक मारमा छन् । केही सडक खण्डमा मोटर गुड्ने र पर्यटक हिँड्ने रुट एउटै परेको हो । जोमसोमदेखि कागबेनी जाने सडकमा दिनहुँ सवारी गुड्छन् । यही सडक भएर उपल्लो मुस्ताङ जाने पर्यटक धूलोबाट जोगिन मुख छोप्दै हिँडेका देखिन्छन् । केही स्थानमा मात्र अलग पदमार्ग छन् । सडक निर्माण गर्दा पुरानो पदमार्गलाई फराकिलो बनाइएको छ । सडक बनाउँदा नयाँ ठाउँ प्रयोग गरेर पुरानो पदमार्ग कायम राख्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।

‘यहाँ आउने पर्यटक ट्रेकिङ रुटबाट आउन रुचाउँछन्,’ घाँसाका होटल व्यवसायी विशाल शेरचन भन्छन्, ‘ट्रेकिङ आउने पर्यटकका लागि मोटर गुड्ने सडकले असर पार्‍यो ।’ सडक निर्माण गरे पनि ट्रेकिङ रुट छुन नहुने उनले बताए । हिमाली क्षेत्रतिर घुम्न आउने पर्यटकलाई मोटर चढ्न रहर लाग्दैन, हिँडेरै घुम्ने भएकाले मोटर चल्ने सडक र ट्रेकिङ रुट अलग हुनुपर्ने उनको माग छ ।

कास्कीको नयाँपुल, घोरेपानी, म्याग्दीको तातोपानीदेखि जोमसोम हुँदै उपल्लो मुस्ताङसम्म पर्यटक घुमेर मनोरञ्जन लिने गरेका छन् । लमजुङको बेंसीसहर, खुदी, मनाङको चामेदेखि तिलिचो बेसक्याम्प हुँदै थोरङ्लापासबाट सोझै मुक्तिनाथ निस्कने बाटोबाट पर्यटकले ट्रेकिङ गर्दै आएका छन् ।

यिनै रुटका अधिकांश स्थानमा मोटर पनि चल्छन् । ठूला भीर र पहराका कारण अर्को वैकल्पिक रुट छैन । ट्ेरकिङ रुट जोगाउन व्यवसायीले पदयात्रा संरक्षण क्षेत्र घोषणाको माग राख्दै आएका छन् ।

‘हामीले हाम्रा प्राकृतिक रुट जोगाउन अभियान नै सुरुवात गरेका छौं,’ ट्रेकिङ व्यवसायीको संस्था टान पोखराका अध्यक्ष दीपकराज अधिकारीले भने, ‘ट्रेकिङ आउने पर्यटकलाई मोटरबाटोले ठूलो असर पुर्‍याएको छ ।’ विकास निर्माण पनि होस्, पुरानो रुट पनि नबिग्रियोस् भनेर अभियान सुरु गरिएको उनले बताए ।

पर्यटन मन्त्रालयलाई पदयात्रा संरक्षणका लागि ज्ञापनपत्र बुझाइएको छ । सरकार ट्रेकिङ रुट जोगाउन गम्भीर बनोस् भन्दै ज्ञापन दिइएको हो ।

पदमार्गको पहिचान मेटिन नदिन जोमसोममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले केही स्थानमा सांकेतिक बोर्ड राख्ने काम सुरु गरेको छ । पर्यटकले ट्रेकिङ रुट मेटिएको भन्दै गुनासो गर्न थालेपछि जोमसोम वरपरका पदमार्गमा यस्ता बोर्ड राखिएका हुन् ।

‘हामीले ठिनी गाउँदेखि याकखर्क लेक, ढुम्बाताल, छैरोगाउँ, मार्फालगायतका रुटमा सांकेतिक बोर्ड राखिसकेका छौं,’ एक्याप जोमसोमकी रेन्जर धनु गुरुङले भनिन्, ‘पर्यटकलाई ट्रेकिङ रुट पहिचान गर्न सजिलो होस् भनेर बोर्ड राखिएको हो ।’ अझै केही स्थानमा बोर्ड राख्ने तयारी छ ।

पर्यटन व्यवसायीले मोटरबाटोका कारण ट्रेकिङ रुटमा पर्ने होटल व्यवसायी मर्कामा परेको गुनासो गर्दैआएका छन् । मोटर गुड्न थालेपछि बेनीदेखि जोमसोमका बीचमा पर्ने होटल व्यवसायी विस्थापित हुने क्रम बढेको छ । घुम्न आउने पर्यटक बेनीबाट सोझै मोटर चढेर जोमसोम पुग्ने भएकाले यो रुटका होटलमा व्यापार हुन नसकेको व्यवसायी शेरचनले बताए । ट्रेकिङ व्यवसायलाई प्रवद्र्धन गर्न सके वर्षौंदेखि चलेका होटलले निरन्तरता पाउने उनको भनाइ छ ।


Facebook Comment


No ads found for this position