एसपीले व्यापारीलाई आफ्नै निवासमा दुई दिन थुने

माघ १७,पर्सा प्रहरीले बाराका एक खाद्यान्न व्यापारीलाई २ दिन गैरन्यायिक नियन्त्रणमा लिएर छाडेको छ । संविधानको धारा २० को उपधारा ३ बमोजिम ‘पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्नेछ । त्यस्तो अधिकारीबाट आदेश भएबाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन’ उल्लेख छ ।

भारत विहारबाट ल्याएको खाद्यान्नको पैसा नबुझाएको भन्दै प्रहरीले बारा कलैयाका तौफिक अन्सारीलाई गत सोमबार नियन्त्रणमा लिएको थियो । हाल काठमाडौं बस्दै आएका २३ वर्षीय अन्सारीलाई प्रहरीले उनले प्रयोग गर्ने मोबाइल नम्बर ट्रेस गरी ललितपुरको पाटनबाट पक्राउ गरी वीरगन्ज ल्याएको थियो । ‘राति करिब ८ बजेतिर वीरगन्ज ल्याए,’ तौफिकले भने, ‘केहीबेरको सोधपुछपछि एसपी साहेबको निवासमा लगे ।’ ‘खाद्यान्नको व्यापार केही दिन उधारोमै चल्ने भएकाले मसँग खरिद गरेका व्यापारीले पनि पैसा नदिएकाले भारतीय कारोबारीलाई दिन नसकेको एसपीलाई सुनाए,’ उनले भने, ‘एसपी साहेबले राति नै व्यापारीलाई फोन गरी पैसाको व्यवस्था गर्न आदेश दिए ।’

अन्सारीले भोलिपल्ट १३ लाख रुपैयाँको व्यवस्था गरिदिए । बारा मालपोतमा लेखनदास रहेका उनका बुबा मो. अब्बास अन्सारी छोरा रिहाइका लागि आउँदा पनि तौफिक एसपीको क्वार्टरमै थिए । अरू पैसा व्यवस्था गर्न व्यापारीलाई भेटनैपर्ने भएपछि र केही नेताको सिफारिसमा एसपीले बिहीबार बिहान तौफिकलाई एक सादा पोसाकका हतियारधारी प्रहरी पछि लगाएर छाडेका छन् । ती प्रहरी आइतबारसम्म तौफिकसँगै कलैयामा छन् ।

एसपीले तौफिकलाई थुनुवा कोठामा नराखी आफ्नै निवासमा २ दिन राखेर पैसाको बन्दोबस्त गर्न दबाब दिएका थिए । भारतीय कारोबारीको आग्रहमा वीरगन्जस्थित महावाणिज्य दूतावास कार्यालयबाट लिखित निवेदन आएकाले तौफिकलाई नियन्त्रणमा लिइएको एसपी गोविन्दकुमार साहले बताए । ‘भारतीय व्यापारीको पैसा ठगी गरेको देखिएकाले प्रहरीले समन्वय मात्र गरिदिएको हो,’ उनले भने, ‘तौफिकलाई २ दिन होइन, १ दिन मात्र नियन्त्रणमा लिएका हौं ।’ उनी अझै प्रहरी निगरानीमा रहेकाले हतियारधारी प्रहरी खटाइएको उनले बताए ।

ठगी देखिएपछि तौफकमाथि ठगी मुद्दामा थुनामा राखेर अनुसन्धान किन अगाडि नबढाएको भन्ने प्रश्नमा एसपी साह मौन बसे । उनले भने, ‘पैसा तिर्छु भनेका छन्, उनीहरू मिलून्, प्रहरीलाई के मतलब ।’ ‘यस्ता मुद्दामा आर्थिक अनियमितता उजागर भएपछि सिधै अदालत पठाउने गरेका थियौं,’ एक प्रहरी अधिकृतले भने । तौफिकले विहारको जहानाबाद, माधोपुर र मसौरीबाट करिब ५० लाख रुपैयाँबराबरको खाद्यान्न खरिद गरी ल्याएको जनाए । ‘उधारोमा खाद्यान्न उपलब्ध गराएका व्यापारीले अहिले किन प्रहरी प्रयोग गरेको मलाई थाहा छैन,’ तौफिकले भने ।


Facebook Comment


No ads found for this position