बिपी राजमार्गले फेरियो जीवनशैली

नवीनबाबु अधिकारी

सिन्धुली, १७ माघ । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ ।
बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् ।

तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको बर्दिबासबाट सुरु भएको यस राजमार्गको लम्बाइ १५८ किलोमिटर छ ।

राजमार्गले महोत्तरी, धनुषा, सिन्धुली, काभ्रे जिल्ला भएर राजधानी काठमाडौँसँग जोडेको छ । साँच्चै हेरिरहुँ जस्तो लाग्ने राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । उक्त राजमार्ग जापान सरकारले सन् २०१५ जुलाई ३ मा नेपाललाई हस्तान्तरण गरेको हो ।

राजधानी काठमाडौँलाई पूर्वी तथा मध्य तराईसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माणले महोत्तरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेपनि यसले रामेछाप, दोलखा, उदयपुर, ओखलढुङ्ङा, खोटाङलगायतका जिल्लामा समेत प्रत्यक्ष सेवा पुगेको देखिन्छ ।

बनेपा बर्दिबास सडकले किसानको फेरिँदै जीवनशैली

सिन्धुलीमाढीबाट २४ किलो मिटरमा रहेको खनियाखर्क रतनचुरा गाविसमा पर्दछ । बिपी राजमार्गको निर्माण र सवारीको चाप बढेपछि खनियाखर्क बजारका रुपमा स्थापित भएको छ । अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ ।

यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । जुनार, तरकारी होस् या त होटल व्यवसाय गर्ने व्यवसायी सबै निकै व्यस्त छन् । केही समय अगाडिसम्म मुखमा हात लाएर हाई काड्दै बस्ने यहाँका किसान अहिले बजारका व्यापारी बनेका छन् र व्यवसायमा उनीहरुलाई भ्याइनभ्याई छ ।

रतन्चुरा–१ की नीरमाया तामाङ त्यही व्यस्त बजारकी एक सफल व्यवसायी हुन् । बिहान जुरुक्क उठ्नेबित्तिकै जुनार, सुन्तला र तरकारीले भरिभराउ भएको ठेला लिएर सडकको छेउमा व्यापार गर्दै गरेकी भेटिन्छिन् उनी । बनेपा–बर्दिबास सडक विस्तारपछि व्यवसाय सुरु गरेकी उनले राम्रो कमाइ भइरहेको बताइन् । बाटो नबनेको भए त परिवार पाल्न विदेश नै जानुपथ्र्यो । उनले भनिन् – “सडक विस्तारसँगै आफूले लगाएको तरकारी फलफूललगायतका सामान बिक्री गर्न पाएका छौँ । आर्थिक अवस्था पनि सुध्रिएको छ ।”

उनीजस्तै बिपी राजमार्ग क्षेत्रका दर्जनौँ महिला तथा पुरुषले राजमार्ग आसपासमा बसेर होटल, तरकारी, फलफूललगायतका व्यवसाय गरेर परिवार पालिरहेका छन् । अहिले बनेपा–बर्दिबास सडक निर्माणले यस क्षेत्रका स्थानीयवासीको जीवनशैली फेरिएको छ ।

बिपी राजमार्गको निर्माणपछि राजमार्ग आसपासका सिन्धुलीवासीन्दाको जीवनस्तर नै फेरिएको नाकाजोलीका टलकबहादुर मगरले बताए । मौसमअनुसारका अकबरे खुर्सानी, काउली, आलु, लसुन, प्याजलगायतका तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएका मगरले राजमार्ग बनेपछि उत्पादित तरकारी बिक्री गर्न बजारको कुनै समस्या नभएको जानकारी दिए ।

तरकारी उत्पादनले सिन्धुलीका धेरै कृषक आत्मनिर्भर बन्दै गएका छन् । केही वर्षअघिसम्म घरमा उपभोग्य तरकारीका लागि बजार खोज्दै हिँड्ने कृषक अहिले आफैँ तरकारी बिक्री गर्न थालेका हुन् । जलकन्या, भद्रकाली, भीमेश्वर, भुवनेश्वरीलगायत अन्य गाविसका कृषकले बर्सेनि तरकारी र फलफूलबाट लाखौँ रुपैयाँ आम्दानी लिने गरेका छन् ।

केही वर्षअघिसम्म सवारी साधन चढ्न घन्टौँ हिँडेर सिन्धुली सदरमुकाम आइपुग्नुपर्ने बाध्यतामा रहेका बिपी राजमार्ग आसपासका स्थानीयवासी अहिले आफ्नै आँगनबाट सवारी साधन चढ्न पाउँदा खुसी मात्र छैनन्, त्यो अवसरलाई प्रयोग गरेर मनग्य आम्दानीसमेत गरिरहेका छन् ।

राजमार्ग निर्माणअघि यहाँका बासिन्दालाई भात खान चाडपर्व कुर्नुपर्ने, हरियो तरकारीका लागि जङ्गलमा सिस्नो टिप्न जानुपर्ने तथा गाडी चढ्न काभ्रे सदरमुकाम धुलिखेल धाउनुपथ्र्यो । अहिले राजमार्ग वरपरका बासिन्दालाई गरिखानका लागि मार्ग प्रशस्त बनेको सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनेशकुमार श्रेष्ठ बताउँछन् । उनले भने – “बिपी राजमार्ग बनेपछि आसपासमा बसोबास गर्ने नागरिकको जीवनस्तर जुनार र तरकारी खेतीले सुधार भएकाले भौतिक विकासको मेरुदण्ड राजमार्ग भएको कुरा प्रमाणित गरेको छ ।”

राजमार्ग निर्माणपछि जुनारखेती जीवन निर्वाहको मुख्य आधार

राजमार्ग सञ्चालनसँगै सिन्धुलीवासीले जुनारखेतीलाई जीवन निर्वाहको प्रमुख आधार बनाएका छन् । सडक नहुँदा बोटमै कुहिएर जाने जुनार बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी भएकामा कृषक दङ्ग छन् ।

जुनार विकास सङ्घ, सिन्धुलीका अनुसार सडक सञ्जालको पहुँच पुगेसँगै जिल्लामा जुनार खेती गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । ग्रामीण क्षेत्रका कृषकसँग आय आर्जनका स्रोत थुप्रै भए पनि त्यसको उचित सदुपयोग गर्न नसकी आम्दानी लिन नपाउँदा उनीहरु गरिबीमै रुमल्लिएका थिए यातायातको पहुँचसँगै कृषककोे जीवनस्तरमा समेत परिवर्तन आएको जुनार विकास सङ्घ, सिन्धुलीका उपाध्यक्ष कृष्ण गौतमले बताए ।

जिल्लामा आधा गाविसमा जुनार खेती हुँदै आएको छ । ती गाविसमा हरेक वर्ष रु २२ करोडभन्दा बढीको जुनार उत्पादन हुन्छ । त्यसैले सरकारले सिन्धुलीलाई जुनार पकेट क्षेत्रका रुपमा विकास गरेको छ । जिल्लामा रु तीन करोड ६५ लाख ४४ हजार लगानीमा जुनारको जुस कारखानासमेत स्थापना गरिएको छ ।

उक्त भेगका नागरिकले २० वर्ष पहिले स्याल लुक्ने भिर, वनमारा, तीतेपाती, कालीमुन्टे र सिस्नो उम्रने क्षेत्र राजमार्गमा परिणत होला भन्ने सोचेकै थिएनन् । तर विश्वेश्वरप्रसाद कोइरालाले कल्पना गरेको सो मार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएपश्चात् यस भेगका हजारौँ नागरिकको आर्थिक, सामाजिक र राजनीतिक जीवनमा समेत धेरै परिवर्तन आएको छ ।

यस्तै बिपी राजमार्गका कारण रामेछाप, सिन्धुली, जोडिएको छ भने दुवै जिल्लाका ग्रामीण बस्तीमा समेत सडक सञ्जाल जोडिएको छ । राजमार्गका कारण सिन्धुलीका पूर्वी गाविसहरु, अरुण ठाकुर, ककुरठाकुर, दुधौली, लदाभिर, आम्बोटे, भीमस्थान, बेलाघारी, जारायोटार, हर्षाही, टाँडी, हत्पते, रतन्चुरा, भीमेश्वर, झागाझोली रातमाटा, पुरानो झागाझोली, जलकन्या, मझुवालगायतका गाविस सडक सञ्जालसँग जोडिएका छन् । बिपी राजमार्गले पूर्णता पाएसँगै रामेछाप जिल्लासमेत सडक सञ्जालमा जोडिएको छ ।

सडक सञ्जालसँग जोडिएसँगै यस क्षेत्रका मानिसको सामाजिक र आर्थिक अवस्थामा समेत निकै परिवर्तन आएको छ । गाउँ गाउँमा अहिले व्यावसायिक कृषि खेती र पशुपालन व्यवसाय सञ्चालन हुन थालेका छन् । पशुपालन र व्यावसायिक खेती प्रणालीले यहाँका मानिसको आर्थिक अवस्थामा निकै सुधार आएको छ । पहिलाका ऋणिहरु अहिले साहु महाजन बन्न थालेका छन् ।

जुनारको राजधानी भनेर चिनिने जिल्लाका रतनचुरा, बासेश्वर, नाकाझोलीलगायतका जुनार उत्पादन हुने गाविसमा अहिले जुनारको बगैँचासम्म यातायातका साधान पुग्न थालेका छन् । सडक बन्नुभन्दा पहिला एक रुपैयाँ प्रतिवटा जुनार बेच्ने त्यस क्षेत्रका मानिस अहिले बोटबाटै पाँच रुपैयाँसम्ममा बेच्न थालेका छन् ।


Facebook Comment