यस कारण मृत्यृ भयाे चिनियाँ पर्यटक जाइन वेनको

छेटु शेर्पा

काठमाडौः सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनियाँ पर्यटक ५१ वर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाइ गरेका कारण मृत्यु भएको छ ।

सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिलो भएकाले उनको मृत्यु भएको खुलेको छ । शनिबार दिउँसो एक बजे इजी हेली सर्भिसनामक संस्थालाई वेनको उद्धारका लागि हेलिकोप्टर पठाइदिन लुक्लाका थुक्तेन शेर्पामार्फत अनुरोध गरे पनि कम्पनीले साढे तीन घन्टा ढिलो गरी काठमाडौंबाट हेलिकोप्टर पठाएको थियो ।

शनिबार ४ः३० बजेमात्र काठमाडौंबाट हेलिकोप्टर सगरमाथा आधारशिविरतर्फ गएको तामाङले बताए । तत्काल पठाइदिन भने पनि हेलिकोप्टर व्यस्त भएको भन्दै कम्पनीले ढिलाइ गरेको जानकारी उनले दिए । हेली एभरेस्टसँग मात्र कारोबार गर्ने भएका कारण उद्धार कम्पनीले अन्य हेलिकोप्टर नपठाएको स्रोतले उल्लेख गरेको छ ।

साढे चार बजेमात्र काठमाडौंबाट उडेको हेलिकोप्टर समय अभावका कारण गोरक्षेपसम्म जान नसक्दा लुक्लामै बास बसेको थियो । भोलिपल्ट बिहान लुक्लाबाट उक्त हेलिकोप्टर गोरक्षेपतर्फ गएको हेली एभरेस्टका पाइलट निश्चल केसीले बताए । उद्धारमा प्रयोग भएको हेली एभरेस्टका पाइलट केसीले अन्नपूर्णसँग भने, ‘मलाई चार बजे खबर आयो । म उद्धारमा गएँ तर समय अभावले गोरक्षेप पुग्न नसकी लुक्ला बसेर बिहानै उद्धार गरेको थिएँ ।’

उद्धारपछि लुक्ला ल्याएर उपचारका लागि पासाङ ल्हामु अस्पतालमा भर्ना गरे पनि आइतबार बिहान ७ः३० बजे ती पर्यटकको मृत्यु भएको जानकारी लुक्ला प्रहरीले दिएको छ । आधारशिविरतर्फ हिँडेका चार चिनियाँ टोलीका तीनजना सकुशल फर्केका छन् ।

उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाइ गर्दा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनियाँ पर्यटक ५१ वर्षीय जाइन वेनले ज्यान गुमाउनुपरेको छ ।

नेपालको आकाशमा १० वटा कम्पनीका चार दर्जनभन्दा बढी हेलिकोप्टरले सेवा दिँदै आए पनि एउटा कम्पनीको मात्र हेलिकोप्टर प्रयोग गर्न खोज्दा ती चिनियाँ पर्यटकको मृत्यु भएको दाबी तामाङले गरे । पर्यटकको गम्भीर स्वास्थ्य अवस्थालाई नबुझ्दा ती पर्यटकको बाटोमै मृत्यु भएको थियो । आपत्विपत्मा परेकालाई हेलिकोप्टरबाट उद्धार गर्ने कम्पनीले तीन घन्टासम्म हेलिकोप्टर पठाउन ढिलाइ गर्नुको कारणबारे काठमाडौं पर्यटक प्रहरीले पनि अनुसन्धान गर्ने बताएको छ ।

प्रहरीले वेनको शव चिनियाँ दूतावासको जिम्मा लगाएको छ । गाइडको सहयोगबिनै आधारशिविरतर्फ हिँडेको चिनियाँ पर्यटक टोली लुक्लाबाट माघ १० मा अघि बढेको थियो । तर शुक्रबारदेखि वेन बिरामी परेपछि शनिबार उनलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको थियो ।

इजी हेली सर्भिस कम्पनीका लाक्पा शेर्पाले भने वेनको उद्धार ढिलाइमा कुनै नियत नभएको र आफ्नो संस्थाले सबै कम्पनीका हेलिकोप्टर प्रयोग गरी उद्धार प्रयास गर्दै आएको दाबी गरे । सोलुखुम्बु प्रहरी प्रमुख प्रनाउ माधव बुढाथोकीले चिनियाँ पर्यटकको निधनबारे अनुसन्धान सुरु भएको बताए ।
पछिल्लो समय हेलिकोप्टर कम्पनीको बजार फस्टाए पनि सेवाप्रवाह प्रभावकारी हुन नसकेको सरोकारवालाको आरोप छ ।

ज्यान बचाउने, उद्धार गर्नेभन्दा पनि पैसा कमाउने धन्दामा मात्र हेलिकोप्टर कम्पनीको ध्यान जान थालेको र पर्यटन जगत्मै नकारात्मक असर परेको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताए । ट्रेकिङ एजेन्सीहरूले पर्यटकलाई सम्पर्कमा ल्याएर हिमाल आरोहण गर्नेदेखि रेस्क्युका लागि हेलिकोप्टरसमेतको व्यवस्था आफैंले गर्न खोज्नु नै मुख्य समस्या भएको उल्लेख गर्दै अनुगमन र नियमनमा कडाइ गर्न सरोकारवालाले माग गरेका छन् ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position