तीन देशमा गैंडाको संख्या ४ हजार पुर्‍याइने

अब्दुल्लाह मियाँ

नेपाल, भारत र भुटानले अबको तीन वर्षभित्र विश्वमै दुर्लभ एकसिँगे गैंडाको संख्या ३५ सयबाट ४ हजार पुर्‍याउने गरी संरक्षण र व्यवस्थापनको काम अघि बढाउन सहयोग गर्ने संकल्प गरेका छन् । एकसिँगे गैंडाको संरक्षणका लागि सरकारलाई प्राविधिक र आर्थिक रूपमा सघाउँदै आएका तीनवटै देशका विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले तीन वर्षभित्र ५ सय गैंडा बढाउँदै सन् २०२० सम्म ४ हजार पुर्‍याउने संयुक्त घोषणा गरेका हुन् ।

‘विगत, वर्तमान र भविष्यमा एकसिँगे गैंडा’ नामको संयुक्त प्रतिवेदन घोषणा गर्दै तीनवटै देशका राष्ट्रिय प्रतिनिधिले वासस्थान विस्तार र व्यवस्थापन, मिचाहा प्रजातिको विस्थापन, चोरीसिकार नियन्त्रण र वातावरणमैत्री भौतिक संरचना निर्माणमा बढावा दिन सके संख्या बढ्ने अपेक्षा गरेका छन् ।

‘विगतमा म्यानमारदेखि पाकिस्तानको इन्दुससम्म एकसिँगे गैंडाको वासस्थान भए पनि अहिले निकै खुम्चिएको छ,’ डब्लूडब्लूएफ नेपालका वन्यजन्तुविज्ञ डा.कञ्चन थापाले सोमबार कान्तिपुरसित भने, ‘अहिले भुटानदेखि भारतसम्म मात्रै गैंडा छन्, यहीँभित्रै यिनको संख्या बढाउन सकिन्छ र केही कामको सुरुवात पनि भएको छ ।’

प्रतिवेदनअनुसार भुटान र भारतको मानस नेसनल पार्क, काजिरंगा निकुञ्ज, कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी, जल्दापारा नेसनल पार्क, गोरुमारा नेसनल पार्क, पोबितोरा वाइल्डलाइफ सेन्चुरी, ओराङ नेसनल पार्क, दुधवा नेसनल पार्क तथा नेपालमा चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष एकसिँगे गैंडाका मुख्य वासस्थान हुन् ।

‘यीमध्ये पनि आसामको काजिरंगा र चितवन निकुञ्ज एकसिँगे गैंडाका मुख्य हब हुन्,’ विज्ञ थापाले भने, ‘समस्या पनि दुवैतिर समान किसिमका छन् ।’ प्रतिवेदनअनुसार अहिले भारतमा २ हजार ९ सयको हाराहारी र नेपालमा ६ सय ४५ एकसिँगे गैंडा छन् ।

सबैभन्दा बढी भारतको काजिरंगामा २ हजार ४ सय १ र चितवन निकुञ्जमा ६ सय ५ एकसिँगे गैंडा छन् । भुटानमा सीमित मात्र गैंडा छन् । तर भारततिरको मानस नेसनल पार्कका गैंडा भुटानको रोयल मानस नेसनल पार्कतिर आउजाउ गर्छन् । तिनलाई जोगाउन संयुक्त कार्यक्रम आवश्यक परेको प्रतिवदेनमा छ ।

समान कार्यक्रममा जोड
गैंडाको संख्या बढाउन नेपाल र भारततिर समान किसिमका कार्यक्रममा जोड दिइएको छ । गैंडा बाँच्न सक्ने ठाउँमा स्थानान्तरणमा जोड दिइएको छ भने उच्च प्रविधियुक्त गस्ती र चोरी सिकार नियन्त्रणमा सरकारी निकाय र सहयोगी संस्थाहरू चनाखो भएका छन् । नेपालले गैंडाको वासस्थान तराई भू(परिधिअन्तर्गत संरक्षित क्षेत्रमा ८ सय पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाएको छ ।

‘चितवनपछि बर्दिया र शुक्लाफाँटालाई दोस्रो वासस्थानका रूपमा स्थापित गर्न सकिन्छ,’ थापाले भने । त्यसका लागि सरकारले गत वर्षदेखि बर्दिया निकुञ्जको बबई उपत्यकामा गैंडा स्थानान्तरणमा जोड दिएको छ । गत वर्ष ५ गैंडा लगिएको थियो । थप पनि स्थानान्तरण गरी बबईमा गैंडा स्थापित गर्ने लक्ष्य लिइएको छ । यस्तै, शुक्लाफाँटा निकुञ्जमा पनि यो वर्ष चितवनबाट गंैडा स्थानान्तरण गरिँदै छ ।

‘बाँच्न सक्ने ठाउँहरूमा ठूला जीवहरू छर्न सके भविष्यमा सम्भावित विपतबाट तिनलाई जोगाउन सकिन्छ,’ वन्यजन्तुविज्ञ डा.शान्तराज ज्ञवालीले भने, ‘हामीले वन्यजन्तु स्थानान्तरणमा कन्जुस्याइँ गर्नु हुन्न ।’ कोसीका अर्ना चितवन ल्याइएजस्तै चितवनका गैंडा र बाघ कोसीटप्पु लान सकिए संख्या वृद्धिसँगै प्रजातिको वैज्ञानिक संरक्षण पनि हुने ज्ञवालीको तर्क छ ।

के छन् समस्या ?
एकसिँगे गैंडाकै वासस्थान क्षेत्रभित्रबाट ठूला खालका विकास आयोजना सञ्चालन भएको र संरचना निर्माण भइरहेकाले गैंडाको वासस्थान खुम्चिँदो अवस्थामा रहेको थापाले उल्लेख गरे । विज्ञहरूले भौतिक संरचना वातावरणमैत्री बनाउन सके ठूलाखाले वन्यजन्तुको संरक्षण प्रभावकारी हुनसक्नेमा जोड दिएका छन् ।

‘वासस्थान क्षयीकरणका साथै माइकेनियालगायतका मिचाहा प्रजातिका झारले आहार सीमित हुँदै जानु मुख्य चुनौतीका रूपमा देखिएको छ,’ विज्ञ ज्ञवालीले थपे, ‘जलवायु परिवर्तनका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैखाले समस्या निम्तिएका छन् । पोखरी र तालतलैया सुक्दा उनीहरूको जीवनयापन कष्टकर बन्दै गएको छ ।’

अध्ययनअनुसार चितवनमा २० प्रतिशत रहेको घाँसे मैदान अहिले ४.७ मा सीमित भएको छ भने भारतको पोबितोरा वाइल्डलाइफ सेन्चुरीमा मिचाहा प्रजातिका रूखबिरुवाले वासस्थान खलबल्याएको छ ।

भारतसँग करिडोर जोडिएका र वन्यजन्तु ओहोरदोहोर गर्ने नाका भएर रेल, हुलाकी मार्ग, ठूला सडक र विद्युतीय प्रसारण लाइनका कारण वासस्थान खलबलिएको प्रतिवेदनमा छ । त्यस्ता संरचना बनाउँदा वन्यजन्तु ओहोरदोहोर गर्न समस्या नहुने किसिमले बनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

चोरी सिकार
चोरी सिकार र खाग (नाक) को अवैध व्यापार नियन्त्रण पनि साझा चुनौती हो । नेपालमा चितवनमा केही वर्षदेखि गैंडाको चोरी सिकार रोकिए पनि मानव(वन्यजन्तु द्वन्द्व ठूलो चुनौतीका रूपमा देखा परेको विज्ञहरू औंल्याउँछन् । गैंडा पर्यटकका मुख्य आकर्षण हुन् ।

त्यसैले स्थानीय जनतालाई लाभ पुग्ने किसिमले कार्यक्रममा जोड दिन सके गैंडा संरक्षणमा उनीहरूको मन जित्न सकिने सरोकारवालाहरू बताउँछन् । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position