भारत र चीनको रेलमा यस्तो फरक

भारतीय रेलको भन्ने बित्तिकै मैलो च्यादर, बेस्वादको चिसो खाना, घण्टौँको ढिलाई र दुर्घटनाको याद आउँछ भने चिनियाँ रेलले सफा, तीव्र गति, नियमितता र सुरक्षित यात्राको याद दिलाउँछ।

रेलको सन्दर्भमा चीनलाई शिखरमा पु¥याउने परियोजना हो सन् २००७–८ मा सुरु भएको ‘हाइस्पिड रेल नेटवर्क।’

करिब २० हजार किलोमिटरको यो सञ्जाल विश्वमा रहेका उच्च गतिका रेल सञ्जालमध्ये आधाभन्दा बढी हो।

यो सञ्जालमा चल्ने रेल प्रतिघण्टा ३ सय किलोमिटरको दरले दौडिन्छ। त्यसैले यसको नाम ‘बुलेट ट्रेन’ राखिएको हो।

भारतमा यस्तो कुनै सञ्जाल छैन। जुलाई २०१६ मा सुरु गरिएको आगरा–दिल्ली गतिमान एक्सप्रेसको अधिकतम गति प्रतिघण्टा १६० किलोमिटर मात्रै छ।

तर चीनको यो चम्किलो तस्वीरमा केही कालो धब्बा पनि लुकेको छ। चीनका लागि उच्च गतिको रेल सञ्जालको विकास निकै महंगो साबित भएको छ।

‘चाइना रेल कर्पोरेसन’ का अनुसार उसमाथि ६ सय अर्ब डलरभन्दा बढी ऋण छ। खासमा चीनको रेलमा भएको यो तीव्र विकास गत २५ वर्षमा गरिएको लगानीको प्रतिफल हो। सन् १९९० मा चिनियाँ रेलको गति प्रतिघण्टा ३५–४० किलोमिटर मात्रै थियो।
भारतीय रेलमा विद्यमान कठिनाइजस्तै चीनमा पनि सुरुमा बनेका रेलमार्गमा यात्रुहरुको निकै ठूलो दबाब थियो। जसले गर्दा नयाँ प्रविधियुक्त रेलमार्ग विकसित गर्ने आवश्यकता थियो।

यस्ता आवश्कताहरुलाई मध्यनजर गर्दा उच्च गतिको रेल निर्माण गर्नु त्यति खर्चालु थिएन। एक पार्टी प्रणाली भएको चीनमा जमिन अधिग्रहण गर्न सजिलो थियो र मानिसलाई सस्तो ज्यालामा काम गराउन सकिन्थ्यो। त्यसले झण्डै २० हजार किलोमिटरको उच्च गतिको रेल सञ्जाल हतारमा निर्माण गरियो। यसका थुप्रै परियोजनामा विश्व बैंकले पैसा लगानी गर्यो।

धेरैजसो रेल मध्य र पूर्वी चीनमा बनाइयो। तर बसोबास कम भएको र बस्तीभन्दा १०० किलोमिटर टाढा भएका स्थानमा पनि रेलको लिक बिच्छ्याइयो।

ती मार्गमा टिकटबाट हुने कमाइभन्दा तीन गुणा बढीसम्म घाटा भएको छ। पहिले जहाँ रेल जान्छ, त्यहीँ बस्ती बस्दै जान्छ भन्ने सोचिएको थियो।

ठूलाठूला सहरको आसपास स्याटेलाइट सहरको विकास त भयो तर साना सहरको नजिक अरु सहर स्थापना भएनन्। उच्च गतिको रेलमार्ग सीधा हुनुपर्ने भएकोले पनि सहरभन्दा टाढा स्टेसन बनाइएको थियो। विश्वभरी नै उच्च गतिको रेल सीधा लिकमा नै चलाइन्छ। यसै कारणले गर्दा गतिमान एक्सप्रेसले दिल्ली–आगराको बीचमा चल्ने शताब्दीभन्दा अलिकति मात्रै कम समय लिन्छ। किनभने त्यहाँको रेलमार्ग घुमाउरो छ। उच्च गतिमा चल्ने क्षमता भएपनि रेल केही स्थानमा मात्रै त्यो गतिमा चल्न सक्छ।

सांघाई–बेइजिङजस्ता केही रेलमार्गबाट मात्रै नाफा भइरहेको छ। त्यसैकारण त्यो मार्गको नजिक बस्ती बसेको छ।

तीव्र गतिसँग सम्बन्धित अन्य समस्या पनि छन्। सन् २०११ मा चीनका दुई उच्च गतिका रेल ठोक्किदाँ ४० को मृत्यु भयो र रेल मन्त्रीले राजीनामा दिनुप¥यो।

कतिसम्म गरियो भने रेल मन्त्रालयलाई नै बन्द गरियो रेललाई परिवहन मन्त्रालयमा मिसाइयो। साथै रेलको गतिलाई ३५० किलोमिटर प्रतिघण्टाबाट घटाएर ३०० किलोमिटर बनाइयो।

भारतको रेलको लिकहरुको खराब अवस्थाका कारण तीव्र गतिको रेल चलाउँदा हुने दुर्घटनाको खतरा ठूलो चुनौती हो। भारतले स्पेनबाट ल्याएको टेल्गो रेलको गति १८० किलोमिटर प्रतिघण्टा छ तर उसलाई अहिलेसम्म प्रयोगमा ल्याउन सकिएको छैन। किनभने सुरक्षा र गतिसँग सम्बन्धित परीक्षणमा त्यो रेल सन्तोषजनक रुपमा पूरा हुन सकेको छैन।

भारतमा हरेक वर्ष ४५०० किलोमिटर रेलको लिक नवीकरण गरिनुपर्ने आवश्कता छ तर बजेट अभावका कारण गत ६ वर्षमा यो निरन्तर कम हुँदै गइरहेको छ।

सरकारी रिपोर्टअनुसार अप्रिल २०१४ सम्ममा ५३०० किलोमिटर लिक नवीकरण हुनुपर्ने थियो तर त्यसबेला मात्र २१०० किलोमिटर काम सम्पन्न भएको थियो।

आधाभन्दा बढी रेल दुर्घटना बार नलगाइएको रेलमार्ग पार गरिरहेका मानिस र तिनीहरुको वाहन रेलसँग जुध्दा हुने गरेको छ। राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार २०१४ मा रेल दुर्घटनामा मारिएका करिब २८ हजार मानिसमध्ये करिब १८ हजार रेलबाट झरेर वा ठोक्किएर मारिएका थिए।

अप्रिल २०१४ मा भारतमा ११ हजार भन्दा बढी रेल पार गर्ने आकासे पुल, सबवे वा क्रसिङ बनाउनुपर्ने थियो तर त्यो पनि पैसाको कमीका कारण रोकिएको छ।

आम्दानीको तुलनामा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने लागत दुई गुणाभन्दा बढी रहेको भारतीय रेलको भनाइ छ।

दोस्रो श्रेणीको टिकटको मूल्य कम राख्नुपर्ने सामाजिक दायित्वका कारण हरेक वर्ष ठूलो घाटा हुने गरेको छ। यात्रु कम भएको थुप्रै मार्गमा पनि रेल चलाइराखिएको छ।

यी सबै कुरालाई ध्यानमा राख्दै भारतको केन्द्र सरकारले रेलको विकासका लागि २०१५ मा १३७ करोड डलर लगानी गर्ने घोषणा ग¥यो। यसलाई पाँच वर्षमा खर्च गरिसक्नु पर्नेछ।

अगस्ट २०१४ मा भारत सरकारले भारतीय रेल निर्माण, रेखदेख र सञ्चालनका लागि प्रत्यक्ष विदेशी लगानीलाई पनि अनुमति दिएको थियो।

डिसेम्बर २०१५ मा जापानले भारतसँग पहिलो उच्च गतिको रेलमार्ग बनाउने सम्झौता गर्यो, जसले मुम्बई र अहमदाबादलाई जोड्नेछ।

चीनमा अहिले पश्चिमी र दक्षिणी भागमा उच्च गतिको रेल सञ्जाल निर्माण गरिँदै छ। यो अझै बढी खर्चिलो छ किनभने सो क्षेत्रमा जनसंख्या कम हुनुका साथै सहरहरुबीचको दूरी पनि बढी छ।

विकसित र धनी देशहरुको समूह ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) का अनुसार २५० किलोमिटर प्रतिघण्टा गति भएको रेलको तुलनामा ३५० किलोमिटर गति भएको रेल र लिक निर्माणका लागि ९० प्रतिशत बढी खर्च लाग्छ।

यस्तो अवस्थामा यो लगानीबाट प्राप्त हुने नाफा र नोक्सानको आँकलन गर्न आवश्यक छ।

उच्च गतिको रेल वा राम्रो रेलको सपना सही तरिकाले तय भए मात्रै यसले सबैको भलाई गर्नेछ।


Facebook Comment


No ads found for this position