ब्याजदर वृद्धिमा प्रतिस्पर्धा

मेनुका कार्की

काठमाडौंः वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा विकास बैंक र वित्त कम्पनीलाई चुनौती थपिएको छ । वाणिज्य बैंकले नै विकास बैंक र वित्त कम्पनीको जति ब्याजदर दिन थालेपछि उनीहरूलाई चुनौती थपिएको हो । पछिल्लो समय वाणिज्यले नै उच्च ब्याजमा निक्षेप संकलन गरेर चर्को ब्याजदरमा कर्जा प्रवाह गर्न थालेका छन् ।

वाणिज्य बैंकहरूको ब्याजदर वृद्धिले ‘ख’ वर्गको विकास बैंक र ‘ग’ वर्गको वित्त कम्पनीलाई प्रतिस्पर्धा गर्न सजिलो भएको विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । बजारमा ‘क्रेडिट क्रन्च’ बढ्दै जाँदा विकास बैंक तथा वित्त कम्पनीलाई वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सहज भएको हो ।

‘अहिले विकास बैंकले बचत खातामा ६ देखि ७ प्रतिशत र मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । ‘बजारमा लगानीयोग्य पुँजी अभाव हुँदै जाँदा हामीले मंसिरबाटै मुद्दती र बचत दुवै निक्षेपमा ब्याज बढाएका हौं’, उनले भने, ‘हामी वाणिज्य बैंकलाई चुनौती दिन्छौं, उनीहरूकै जति ब्याजमा कर्जा प्रवाह गरेर ।

हुनत विकास बैंकसँग पनि लगानीयोग्य पुँजी छैन । तर, पनि हामी आम बचतकर्तालाई वाणिज्य बैंकको निक्षेपभन्दा बढी ब्याज दिएर सस्तोमा कर्जा प्रवाह गछौं ।’ वाणिज्य बैंकले भने अहिले मुद्दती निक्षेपमा ब्याजदर बढाए पनि केही बैंक बाहेक अन्यले बचतको ब्याजदर कुनै परिवर्तन नगरी प्रतिफल आफैंले मात्र लिइरहेका छन् ।

अहिले वाणिज्य बैंक सरह विकास बैंकले पनि छोटो अवधिको मुद्दती खातामै निक्षेपकर्तालाई १२ प्रतिशत ब्याज दिइरहेका छन् भने कर्जा प्रवाह प्रडक्टअनुसार १३ देखि १४ प्रतिशतसम्म उपलब्ध गराइ रहेका छन् । पुराना ऋणीलाई पनि दुई प्रतिशसम्ममात्र ब्याजदर बढाएको लामिछानेले बताए ।

विकास बैंकले कात्तिकसम्म मुद्दती खातामा सवा ६ र बचतमा पाँच प्रतिशत ब्याजदर दिएका थिए भने वाणिज्य बैंकले मुद्दतीमा चारदेखि पाँच र बचतमा दुई प्रतिशतको हाराहारीमा निक्षेप संकलन गरेका थिए । सर्वसाधारणलाई उच्च प्रतिफल दिएका कारण वाणिज्य बैंकमा क्रेडिट क्रन्च भएको करिब दुई महिना पछिमात्र त्यसको असर विकास बैंकमा परेको हो ।

माघ पहिलो साताबाट विकास बैंकमा समेत लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । ५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ । ‘दैनिक कारोबार गर्ने रकमको अभाव नभए पनि लगानी गर्ने पुँजी हामीसँग छैन’, उनले भने । तरलता अभाव भएको हालको अवस्थालाई सम्बोधन गर्न तथा वाणिज्य बैंकसँग निक्षेप र कर्जा दुवैमा प्रतिस्पर्धी गर्न ब्याजदर बढाएको लामिछानेले बताए ।

विकास बैंकहरूले क्रेडिट क्रन्च हुन नदिन चार महिना अघिदेखि नै मुद्दती र बचत दुवै खातामा ब्याजदर बढाउन थालेका थिए । तर, धेरै वाणिज्य बैंकले भने अहिलेसम्म पनि बचत निक्षेपका ब्याजदर बढाएका छैनन् । तर, कतिपय ऋणीलाई भने एसएमएस गरेर ब्याजदर बढेको सूचना दिइरहेका छन् भने कतिपयलाई बैंकमै बोलाएर जानकारी गराएका छन् ।

माघ पहिलो साताबाट विकास बैंकमा समेत लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । ५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ ।

वित्त कम्पनी पनि अहिले लगानी गर्न सक्ने अवस्थामा छैनन् । उनीहरू अहिले पर्ख र हेरको अवस्थामा छन् । सामान्य अवस्थामा वाणिज्य र विकास बैंकसँग प्रतिस्पर्धा गर्दै आएका वित्त कम्पनीले अहिले पनि निक्षेपमा ब्याजदर नबढाइ सुख छैन ।

‘कर्जामा पनि ब्याजदर बढाउनुपर्ने अवस्था आइसकेको छ’, नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने, ‘भरसक हामी कर्जाको ब्याज अहिले नै बढाउने पक्षमा छैनौं । वित्त कम्पनीले निक्षेपमा त बाध्य भएर बढाउनु परेको हो ।’ वाणिज्य बैंकले वित्त कम्पनीको जति ब्याजदर दिन थालेपछि आफ्ना निक्षेपकर्तालाई फर्काउन र नयाँलाई आकर्षण गर्न पनि ब्याजदर बढाउनैपर्ने अवस्था आएको उनले बताए । वित्त कम्पनीलाई पनि कर्जाको ब्याजदर बढाउने दबाब छ ।

तर, अहिले ‘कष्ट अफ फन्ड’ बढिनसकेकाले ऋणको ब्याजदर बढाउनु उचित नहुने उनले बताए । वाणिज्य बैंकले सर्वसाधारणको पहुँच नहुने मुद्दती निक्षेप र हरेक प्रकारका कर्जामा ब्याजदर बढाइरहेका छन् । उनका अनुसार अहिले नै कर्जामा दुई÷चार प्रतिशतले ब्याज बढाउनुपर्ने अवस्था छैन । लागत बढेमात्र कर्जाको ब्याजदर वृद्धि गर्ने हो नत्र, आवश्यकता नभएको उनको भनाइ छ ।

‘हामीले आम ऋणीलाई ११ प्रतिशतको हाराहारीमा कर्जा लगानी गरेका थियौं, अहिलेसम्म पनि त्यो जस्ताको त्यस्तै छ’, उनी भन्छन् । वित्त कम्पनीले अहिले मुद्दती खातामा साढे १२ प्रतिशत र बचतमा ८.५ देखि १० प्रतिशतसम्म ब्याज दिइरहेका छन् । पहिला मुद्दतीमा ८ र बचतमा ४.५ देखि साढे पाँच प्रतिशतसम्म ब्याज दिएका थिए ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position